close

आईफोनको लोभमा साथीको हत्या गरेको आरोपमा बागलुङमा ४ जना पक्राउ

टेकपाना टेकपाना

साउन १०, २०८३ १६:१९

आईफोनको लोभमा साथीको हत्या गरेको आरोपमा बागलुङमा ४ जना पक्राउ

काठमाडौं । आफ्नै साथीको हत्या गरेको आरोपमा बागलुङमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नं. १ बस्ने १९ वर्षीय सुदिप बिक, २० वर्षीय रेम बहादुर बिक र अन्य दुई नाबालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, बडिगाड गाउँपालिका वडा नं. १ बस्ने १७ वर्षीय लजिन थापा २ साउन रातिदेखि हराइरहेका थिए । उनको खोजी गर्ने क्रममा ९ साउन बिहान ९:१५ बजे बडिगाड गाउँपालिका वडा नं. १ स्थित मनखोलामा शव फेला परेको थियो । उक्त घटना कर्तव्य ज्यान सम्बन्धी कसुर देखिएकाले प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको छ ।

मृतक लजिन थापा काठमाडौंमा आफ्ना ठुलोबुबाको सहयोगमा बसेर पढ्दै आएका थिए र उनी घटना हुनुभन्दा करिब एक महिना अघि मात्र गाउँ फर्किएका थिए । “हाम्रो प्रारम्भिक अनुसन्धानमा कारण चाहिँ आईफोन नै देखियो,” जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले भने, “मृतक काठमाडौंमा बस्ने, खासै गाउँमा नआउने र भर्खरै एक महिना अगाडि मात्र आएका थिए । अरू सबैसँग सामान्य फोन थियो तर उ (मृतक) सँग आईफोन थियो । उनीहरूले त्यही फोन देखेपछि लिन खोजेका थिए र विवाद हुँदा यो घटना हुन पुग्यो ।”

डीएसपी त्वातीका अनुसार आरोपीको आर्थिक अवस्था कमजोर भएको र उनीहरूमा आईफोन चलाउने तीव्र उत्सुकता जागेका कारण घटना भएको देखिएको छ । डीएसपी त्वातीले अगाडि भने, “अपराधमा संलग्न मान्छेहरू त्यो आईफोन बोक्न सक्ने हैसियतका थिएनन् । मृतकले यहाँ आएर फोन देखाउँदै ‘तिमीहरूसँग छैन, मसँग छ’ भनेपछि उनीहरूमा उत्सुकता र क्युरियोसिटी जाग्यो । त्यो फोन कसरी चलाउने भन्ने चासो र लोभका कारण फोन खोस्न खोज्दा विवाद बढेको हाम्रो प्रारम्भिक अनुसन्धानको सोधपुछमा देखिएको छ ।”

क्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले हाल यस घटनाको थप पक्षहरूमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८३ १६:२०