close

क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स वितरण सुरू

टेकपाना टेकपाना

भदौ २०, २०७८ ७:४१

क्यूआर कोडसहितको ड्राइभिङ लाइसेन्स वितरण सुरू

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स वितरण गर्न थालेको छ ।

यो सेवा हाल काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको र क्रमशः मुलुकका सबै यातायात कार्यालयहरुमार्फत वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएकालाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरणगर्न लागिएको बताए ।

‘ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएकाहरूलाई क्यूआर’ कोडसहितको एउटै किसिमको पीभीसी कार्ड वितरण सुरु गरिएको छ,’ उनले भने । उनका अनुसार यस्तो कार्डको समयावधि एक वर्षको हुनेछ ।

ट्राफिकले क्युआर कोडका आधारमा चालककाे लाइसेन्स जाँच गर्ने विभागले जनाएकाे छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन् ।

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याइएको छ ।

याेसँगै विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरू गरेकाे छ; ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र ।

अहिले ७ लाख सेवाग्राही स्मार्ट लाइसेन्स लिने पर्खाइमा छन् । विभागले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम पनि सुरु हुने जानकारी दिएकाे छ ।

‘आगामी केही महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आएलगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने छ,’ विभागका प्रवक्ता लाेकनाथ भुषालले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३