close

राष्ट्रिय परिचयपत्र वितरणको तयारी

टेकपाना टेकपाना

भदौ २७, २०७८ ८:२५

राष्ट्रिय परिचयपत्र वितरणको तयारी

काठमाडाैं । व्यक्तिगत परिचय प्रमाणीकरणको डिजिटल समाधानसहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अभियान रुपन्देहीमा सञ्चालन हुने भएको छ ।

जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने अभियानको सुरुवात सैनामैना नगरपालिकाबाट हुने भएको छ । प्रत्येक पालिकाका प्रत्येक वडामा टोली खटाएर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिनेछ ।

यसै विषयमा जानकारी दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विभागका तर्फबाट सुभाष ढकालले राष्ट्रिय परिचयपत्रको महत्वका बारेमा प्रकाश पार्दै अभियानलाई सफल बनाउन आह्वान गरे ।

ढकालले डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको बताए ।

बिनाभेदभाव सबै नागरिकले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्याउनु रहेको ढकालको भनाइ छ ।

नेपाल सरकारले २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रमर बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरेको उनले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र भनेको नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

१० अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटाभन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटा र आँखाको नानीको तस्बिरसहितको सूचना संकलन गर्ने गरिन्छ ।

राष्ट्रिय परिचयपत्रलाई मतदाता परिचयपत्रका रूपमा प्रयोग गर्नुका साथै व्यक्तिको राष्ट्रिय पहिचानपत्रका रूपमा सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारका रूपमा लिइएको छ । यस्तै सामाजिक सुरक्षा कार्ड र सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा नागरिकलाई यसको फाइदा हुनेछ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण गरी १६ खाले सूचना हुने बताइएको छ । ढकालले रुपन्देहीमा अभियान सञ्चालन गर्दा त्यहाँका पालिकाले रुजु गर्ने अधिकारीका साथै निवेदन फाराम भर्ने स्वयंसेवकको व्यवस्थापन गर्न आग्रह गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले परिचयपत्र वितरणका लागि आवश्यक पर्ने जनशक्ति र पूर्वाधार व्यवस्थापनमा कुनै कमी हुन नदिई जिल्लामा अभियान सफल बनाउन आग्रह गरे । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५