close

यस्ता छन् एप्पलले सार्वजनिक गरेका नयाँ उत्पादन, कुनको मूल्य कति ?

टेकपाना टेकपाना

भदौ ३०, २०७८ १८:९

यस्ता छन् एप्पलले सार्वजनिक गरेका नयाँ उत्पादन, कुनको मूल्य कति ?

काठमाडौं । अन्तत: एप्पलले आफ्ना बहुप्रतिक्षित डिभाइसहरू सार्वजनिक गरेको छ । मंगलबार आयोजित एप्पल इभेन्टमा सात वटा नयाँ उत्पादन सार्वजनिक भएको छ ।

जसमा आईप्याड, आईप्याड मिनी, एप्पल वाच सिरिज ७, आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स छन् ।

कम्पनीका अनुसार नयाँ आईप्याड अर्को हप्तादेखि बजारमा उपलब्ध हुनेछ भने आईफोन शुक्रबारदेखि बजारमा उपलब्ध हुनेछ । एप्पल वाच भने केही समयपछि मात्र बजारमा आउने बताइएको छ । 

आईप्याड र आईप्याड मिनी 

अहिलेसम्मकै सस्तो आईप्याडको रुपमा बजारमा आएको एप्पलको नयाँ आईप्याडमा ए१३ प्रोसेसर प्रयोग भएको छ, जसमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

साथै यसमा वाइडर लेन्स र एलटीई वायरलेस कनेक्सन पनि उपलब्ध छ । ६४ जीबी स्टोरेज रहेको यो आईप्याडको मूल्य ३२९ अमेरिकी डलर (३८ हजार ७२८ रुपैयाँ) तोकिएको छ ।

त्यसैगरी एप्पलले ८.३ इन्चको स्क्रिन रहेको आईप्याड मिनी पनि सार्वजनिक गरेको छ । कम बेजलस सहितको यो आईप्याडमा फिगंरप्रिन्ट सेन्सर, स्टेरियो स्पिकरसहित १२ मेगापिक्सेलको रियर क्यामेरा उपलब्ध छ ।

त्यस्तै यसमा टच आईडी सेन्सर, यूएसबी कनेक्टर पनि रहेको छ । आईप्याड मिनीले फाइभजी वायेरलेस कनेक्सन पनि सपोर्ट गर्छ । बजारमा यसको मूल्य ४९९ अमेरिकी डलर (५८ हजार ७४० रुपैयाँ) तोकिएको छ । 

एप्पल वाच सिरिज ७ 

एप्पल वाच सिरिज ६ भन्दा हिजो सार्वजनिक भएको सिरिज ७ को स्क्रिन एरिया २० प्रतिशतले फराकिलो छ । फास्ट चार्जिङ सपोर्टसहितको यो वाच क्रयाक रेसिस्टेन्ट रहेको कम्पनीले बताएको छ ।

यो सिरिजमा विश्वका विभिन्न देशको टाइम जोन सहितको वाच फेसहरू उपलब्ध छन् । निलो र रातो सहित यो पाँचवटा रँगमा उपलब्ध छ । त्यस्तै यो अल्मुनियम, स्टिल र टाइटानियमबाट बनेको तीनवटा फरक केसमा उपलब्ध छ । बजारमा यसको मूल्य ३९९ अमेरिकी डलर (४६,९६९ रुपैयाँ) रहेको छ । 

आईफोन १३ र आईफोन १३ मिनी 

सानो नचसहित सार्वजनिक भएको आईफोन १३ मा ५.४ इन्च र ६.१ इन्च डिस्प्ले भएको दुईवटा भेरियन्टको पाँच वटा रङमा उपलब्ध हुनेछ ।

कम्पनी आफैंले डिजाइन गरेको ए१५ बायोनिक चिप प्रयोग भएको यो फोन फाइभजी सपोर्ट गर्ने फोन हो, जुन ६० वटा देशमा चल्ने बताइएको छ ।

बजारमा आईफोन १३ को मूल्य ७९९ अमेरिकी डलर (९४ हजार रूपैयाँ) रहेको छ भने आईफोन १ ३ मिनीको मूल्य ६९९ अमेरिकी डलर (८२ हजार २८४ रुपैयाँ) तोकिएको छ । 

आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स 

आफ्नै डिजाइनको ए१५ बायोनिक चिप, सानो नच र १२० हर्जको रिफ्रेस रेट रहेको डिस्प्लेसहितको आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा १२८ जीबीको स्टोरेज उपलब्ध छ, जसमा १ टीबीसम्मको स्टोरेज थप गर्न सकिन्छ ।

त्यस्तै यो पटक कम्पनीले यी फोनहरूमा क्यामेरा पनि थप सुधार गरेर उपलब्ध गराएको छ । आईफोन १३ प्रो को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन प्रो म्याक्सको ६.५ इन्च रहेको छ ।

बजारमा आईफोन १३ प्रो को मूल्य ९९९ अमेरिकी डलर (एक लाख १७ हजार ५९९ रुपैयाँ) छ भने आईफोन १३ प्रो म्याक्सको मूल्य १,०९९ अमेरिकी डलर (एक लाख २९ हजार ३७० रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१