close

मोबाइलमा किन क्र्याश भइरहेको छ टेलिकमको ‘नमस्ते पे’ ?

टेकपाना टेकपाना

भदौ ३१, २०७८ १२:१६

मोबाइलमा किन क्र्याश भइरहेको छ टेलिकमको ‘नमस्ते पे’ ?

काठमाडौं । धेरैजसो प्रयोगकर्ताले नेपाल टेलिकमको सहायक कम्पनीको डिजिटल वालेट नमस्ते पेको मोबाइल एप नचलेको गुनासो गर्दै आएका छन् । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले मंगलबार देखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको वालेट मोबाइलमा डाउनलोड नै नहुने र भइहाले पनि क्र्याश हुने समस्या देखिन थालेको हो ।

पहिलो दिन गुगल प्ले स्टोरमा सर्च गर्दा समेत भेटाउन मुस्किल देखिएको यो एप अहिले भने फेला पर्न थालेको छ । एन्ड्रोइड स्मार्टफोनका लागि प्ले स्टोरमा मात्र उपलब्ध नमस्ते पेको एप दुई दिनमै करिब १० हजारले डाउनलोड गरेका छन् ।

यो समाचार तयार पार्दासम्म ४९८ रिभ्यू पाएको एपको रेटिङ केवल १.९ मात्र छ । यसको अर्थ अधिकांश प्रयोगकर्ता एपको पर्फर्मेन्स (प्रदर्शन) सँग सन्तुष्ट छैनन् । त्यसो त कम्पनीले बेटा भर्सनको रुपमा प्ले स्टोरमा राखेको एपबाट प्रयोगकर्ताको प्रतिक्रिया लिइरहेको छ ।

त्यही उद्देश्यका साथ एपको नाम समेत ‘नमस्ते पे (बेटा) कस्टमर फिडब्याक’ राखिएको छ । प्रयोगकर्ताको प्रतिक्रिया हेर्दा अधिकांशले एप डाउनलोड भए पनि क्र्याश भइरहेका कारण प्रयोग नै गर्न नपाएको गुनासो गरिरहेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद भण्डारीले प्रयोगकर्ताले भोगिरहेको यस किसिमको समस्या समाधान गर्न एपको स्टेबल भर्सन (स्थिर संस्करण) अपडेट गर्ने काम भइरहेको जानकारी दिए ।

‘आज वा भोलिसम्म एपको अपडेट प्राप्त हुन्छ,’ टेकपानासँग कुरा गर्दै उनले भने । कम्पनीले पर्याप्त प्राविधिक तयारी पुरा नहुँदै एप सार्वजनिक गर्नुपर्ने बाध्यताका कारण प्रयोगकर्ताले यस्तो समस्या भोग्नुपरेको बताएको छ ।

‘नेपाल राष्ट्र बैंकको शर्तअनुसार लाइसेन्स प्राप्त गरेको छ महिनाभित्र आफ्नो सेवा व्यवसायिक रुपमा सञ्चालनमा ल्याउनुपर्ने बाध्यता थियो,’ कम्पनीका सीईओ भण्डारीले भने, ‘तर कोभिडले परियोजनामा दर्दनाक किसिमको प्रभाव पारेका कारण पर्याप्त किसिमले काम गर्न पाएनौँ । जसले गर्दा पूर्ण तयारी नहुँदै हतार हतारमा सेवा सञ्चालनमा ल्याउनु पर्‍यो ।’

ग्राहकको सल्लाह सुझाव र प्रतिक्रियाका आधारमा कम्पनीको सेवा तथा एपमा क्रमशः सुधार गर्दै लैजाने भण्डारीले बताए । मोबाइल एपमा केही समस्या देखिए पनि यूएसएसडी (मोबाइलको डायल प्याडमा *500# डायल गर्दा) मा भने खासै समस्या नरहेको कम्पनीले जनाएको छ । आईओएस प्रयोगकर्ताले भने एपमा नमस्ते पेको सेवा प्रयोग गर्न अझै केही साता कुर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१