close

ब्याचलर्स र मास्टर्समा एआई पढ्न चाहनुहुन्छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

असोज ६, २०७८ ११:३८

ब्याचलर्स र मास्टर्समा एआई पढ्न चाहनुहुन्छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पढाइ सुरु गर्दैछ । आवासीय प्रणालीमा सञ्चालन हुने यी शैक्षिक कार्यक्रमका लागि विश्नविद्यालयले स्नातक र स्नातकोत्तर तहमा भर्ना प्रक्रिया अगाडि बढाएकाे छ ।

केयूको स्कुल अफ इन्जिनियरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आउँदो आइतबार ‘मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एम.टेक इन एआई) का लागि लिखित प्रवेश परीक्षा लिने भएकाे छ । यसका लागि शुक्रबार (असोज ८) सम्म विद्यार्थीले अनलाइन आवेदन बुझाउन सक्नेछन् ।

विभाग प्रमुख बालकृष्ण बालले अनलाइन आवेदनमा विद्यार्थीको राम्रै सहभागिता भएको जानकारी दिए । विश्वविद्यालयले १० जनाको सिटमात्रै व्यवस्था गरेकाले लिखित प्रवेश परीक्षाका आधारमा विद्यार्थी छनौट गरिने उनको भनाइ छ ।

त्यस्तै स्नातक तहमा भर्ना हुन इच्छुक विद्यार्थीका लागि आउँदो आइतबार (असोज १०)  देखि अनलाइन आवेदन खुला हुने भएको छ ।

विश्वविद्यालयका अनुसार याे लिंकमा अनलाइन एप्लिकेसन फर्म उपलब्ध हुनेछ । यसबारे थप विवरण बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

कक्षा १२ को परीक्षा ढिला हुँदा अनलाइन आवेदन पनि ढिला गरी खुला गरिएको विभाग प्रमुख बालले बताए । उनका अनुसार स्नातक तहका लागि प्रवेश परीक्षा दशैं-तिहारको बीचतिर हुनेछ । यो तहमा पढ्न हाल ३० जनाको सिट छुट्याइएको छ ।

विश्वव्यापी रुपमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र माग बढिरहँदा नेपाल पनि अछुतो रहन नसक्ने बताउँदै विभाग प्रमुख बालले नेपालमै यस किसिमका जनशक्ति विकास गर्न लागेकाे बताए ।

‘हामी नेपालमै एआई ट्यालेन्ट विकास गर्न सक्छौं भन्ने आत्मबल र विश्वासका साथ अघि बढिरहेका छौं । विद्यार्थीहरु ढुक्क भएर यो नयाँ शैक्षिक कार्यक्रममा जोडिन आग्रह गर्दछु,’ उनले भने ।

कस्ता छन् शैक्षिक कार्यक्रम ?

ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक इन एआई)

यो कार्यक्रमले पर्याप्त व्यवहारिक प्रशिक्षण दिएर स्नातक विद्यार्थीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्नेछ । यस कार्यक्रममा इन्टर्नशिपको माध्यमबाट परियोजनामा आधारित सिकाइको माध्यमबाट विद्यार्थीहरुले ज्ञानको अनुभव लिन पाउने उल्लेख गरिएको छ ।

यस कार्यक्रम पढेपछि एआई प्रविधि र विधिहरु प्रयोग गरी यस कार्यक्रमसँग सम्बन्धित कम्पनी तथा संस्थाहरुमा डेटामा आधारित निर्णय कार्यान्वयन गर्न सकिने जनाइएको छ ।

त्यसैले यो कोर्षमा सम्बन्धित विद्यार्थीहरुले विभिन्न डेटा विश्लेषण गर्न सक्नुका साथै स्वचालित मसिन प्रविधि निर्माण गर्न सक्नेछन् । यो कार्यक्रम प्राविधिक आधारभूत प्रोग्रामिङ्ग, कम्प्युटर विज्ञान, गणित र सांख्यिकीको परिचयात्मक पाठ्यक्रमबाट सुरु हुने जनाइएको छ ।

विस्तारै पछि यो कोर्षमा विद्यार्थीहरुले मुख्य एआई अवधारणाका साथै पछि कुनै परिप्रेक्ष्यको खोज, गेम डेभलपमेन्ट, मसिन लर्निङ, न्यूरल नेटवर्क, कम्प्युटर भिजन, भाषा सम्वन्धी र अधिक जटिल विषयहरु सहितका प्रविधिहरु सिक्नेछन् ।

तसर्थ, यो कार्यक्रमलाई विज्ञान र इन्जिनियरिङभन्दा फरक र सही अर्थमा भन्दा दुवैको मिश्रण मान्न सकिन्छ । यो कार्यक्रम नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता गरिएको छैन, जसका कारण विश्वव्यापी प्रतिष्ठित विश्वविद्यालयहरुमा अभ्यास गरिएको विशेषज्ञता सम्बन्धी कोर्षहरु आवश्यकतानुसार प्रथम वर्षदेखि नै पाठ्यक्रमहरुमा राख्न सक्ने लचकता छ ।

काठमाडौ विश्वविद्यालयको पुरै चार वर्षको यो शैक्षिक कार्यक्रको लागि कुल शुल्क ८ लाख निर्धारण गरिएको छ ।

मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एम.टेक इन एआई)

यो कार्यक्रम कौशल, ज्ञान, उन्नत गणना, डेटा विज्ञान र एआई अध्ययनसँग सम्बन्धित अभ्यासहरुका लागि लक्षित छ, जसले स्थानीयका साथसाथै विश्वव्यापी रुपमा नयाँ अवसरहरु सिर्जना गर्न मद्दत गर्नेछ ।

विशेषतः तीन मुख्य विषयवस्तुहरु यसमार्फत् कभर गरिनेछ, Neural Networks, Fuzzy system, Evolutionary Computation, जुन इन्टिलिजेन्ट प्रणालीको मेरुदण्ड हुन् ।

यस कार्यक्रमको पाठ्यक्रमभित्र मुख्यतया Machine Learning, Neural Networks, Big Data Analytics, Information Retrieval, Fuzzy Systems र Evolutionary Computation समावेश गरिएको छ ।

यस कार्यक्रमले विभिन्न क्षेत्रहरु जस्तै व्यापार, आर्थिक, सुरक्षा, उद्योग नियन्त्रण र इन्जिनियरिङसँग सम्बन्धित व्यवहारिक जीवनका समस्यासँग लड्नका लागि आफूले सिकेको कुराको प्रयोगात्मक परीक्षण गर्ने अवसरहरु प्रदान गर्नेछ ।

यस दुई वर्षे शैक्षिक कार्यक्रको लागि कुल शुल्क रु तीन लाख ९५ हजार निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१