काठमाडौं । पछिल्लो पाँच वर्षको अवधिमा फेसबुकले आफ्नो उत्पादन तथा सेवामा हुन सक्ने कमजोरी परीक्षण तथा त्यसको सुरक्षाका लागि १३ अर्ब अमेरिकी डलर अर्थात १५ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । त्यतिमात्र नभएर कम्पनीले सन् २०१६ देखि कम्पनीमा सेक्युरिटी सम्बन्धी ४० हजारभन्दा बढी मानिस जोडिएको उल्लेख गरेको छ ।
एक हप्ता अघिमात्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यम वाल स्ट्रिट जर्नलले फेसबुकको डेटा लिकको विषयमा जानकारी सार्वजनिक गरेको थियो । त्यससँगै फेसबुकले कम्पनीको सिस्टम सुरक्षाका लागि हालसम्म खर्च भएको मूल्यको जानकारी दिएको हो ।
‘हामीले सन् २०१६ भन्दा अघि सुरक्षाको विषयलाई लिएर त्यति ध्यान दिएका थिएनौँ,’ फेसबुकले भनेको छ, ‘तर, अहिले हामीले त्यो धारणलाई पूर्ण रुपमा परिवर्तन गरेका छौँ । आज हाम्रो प्रोडक्ट डेभलपमेन्ट टिममा प्रोडक्टको सुरक्षा हेर्नका लागि छुट्टै टिम राखिएको हुन्छ ।
‘जसले हाम्रो प्रोडक्ट निर्माण गर्ने क्रममा देखिएका कमजोरीलाई केलाएर त्यसलाई समाधान गर्न सहयोग पुर्याउँछ ।’ फेसबुकले पछिल्लो पाँच वर्षमा भएको खर्चको जानकारी दिएको भएता पनि कसरी र कुन विषयमा खर्च भयो भन्ने विषयमा भने स्पष्ट जानकारी दिएको छैन ।