close

ह्याप्पी बर्थडे गुगल !

टेकपाना टेकपाना

असोज ११, २०७८ १२:५६

ह्याप्पी बर्थडे गुगल !

काठमाडौं । कुनै समाचार हेर्नुपर्‍यो, गीत खोज्नुपर्‍यो, वेदर फोरकास्ट हेर्नुपर्‍यो, कुनै सामान खरिद गर्नुपर्‍यो लगायत अन्य सामान्य कुराको खोजीका लागि पनि हामीले सबैभन्दा सुरुमा प्रयोग गर्ने सर्च इन्जिन हो ‘गुगल’ ।

हाम्रो व्यावसायिक जिन्दगीदेखि लिएर, शैक्षिक, समाजिक, आर्थिक हरेक क्षेत्रमा गुगलको सहयोग लिइरहेको हुन्छौं । यसरी गुगलले हाम्रो दैनिकी सहज बनाउन थालेको आज २३ वर्ष पुगेको छ । अर्थात आज गुगलको २३औं जन्मदिन ।

जीवनमा कहिले काहिँ एउटा सानो मौकाले नै ठूलो परिवर्तन ल्याउन सक्छ । गुगलको विषयमा भने त्यो मौका दुईजना कम्प्युटर वैज्ञानिकले पाए, जसले इन्टरनेटको प्रयोगमा नै ठूलो परिवर्तन ल्याइदियो ।

यसले अर्बौं मानिसको जीवनमा पनि परिवर्तन ल्याएको छ । विश्वभरका सूचनामा सबैको पहुँच पुर्‍याउने हाम्रो यात्रा जारी रहनेछ,’ गुगलले आफ्नो २३औं जन्मोत्सवको अवसरमा जारी गरेको नोटमा उल्लेख गरिएको छ ।

सन् १९९७ मा स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातक गरेका सर्गे ब्रिन र स्नातक गर्न लागेका ल्यारी पेजबीच भेट भएको थियो । त्यसैको एक वर्षमा अर्थात् सन् १९९८ मा यी दुई मिलेर गुगल सर्च इन्जिनको सुरुवात गरेका हुन् ।

Google's 23rd Birthday

आज हरेक दिन १५० भन्दा बढी भाषामा अर्बौं प्रयोगकर्ताहरू गुगलमा विभिन्न कुराको बारेमा सर्च गर्ने गर्छन् । एउटा सानो कोठाबाट सुरु भएको गुगलका आज विश्वभर २० वटा डेटा सेन्टर छन् ।

हुन त गुगलको सुरुवात १९९८ को सेप्टेम्बर ४ मा भएको थियो । यद्यपि कम्पनीले भने सेप्टेम्बर २७ लाई नै आफ्नो जन्मदिनको रुपमा मनाउँदै आएको छ ।

यसै अवसरमा आज आफ्नो २३औं जन्मदिनको अवसर पारेर गुगलले आज आफ्नो डुडल परिवर्तन गरेको छ, जसमा गुगलको लोगोमा चकलेट केक, स्प्रिङकल्स र मैनबत्ती राखेर रंगीचंगी बनाइएको छ ।

गुगलका अन्य शब्दहरूमा स्प्रिङ्कलसको माथि चकलेटले सजाइएको छ भने ‘एल’ लाई मैनबत्तीको रुपमा देखाइएको छ । सो मैनबत्तीको तल चकलेट केक रहेको छ । हरेक वर्षझैँ यो वर्ष पनि एउटा फरक डुडल राखेर गुगलले आफ्नो २३औं जन्मदिन मनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१