close

बीवाईडीको नयाँ ईभी, सिङ्गल चार्जमा ७०० किलोमिटर गुड्ने !

टेकपाना टेकपाना

कात्तिक २९, २०७८ १८:४३

बीवाईडीको नयाँ ईभी, सिङ्गल चार्जमा ७०० किलोमिटर गुड्ने !

काठमाडौं । चिनियाँ अटो मोबाइल निर्माता कम्पनी बीवाईडीले आफ्नो ट्याङ्ग ईभी (विद्युतीय सवारी) को नयाँ मोडेल तयार पारेको छ । चीनको उद्योग तथा सूचना मन्त्रालयको प्रविधि क्याटलगमा यो ईभी अपडेटेड डिजाइनका साथ देखा परेको हो ।

कम्पनीले यस अघि बीवाईडी ट्याङ्ग ईभीलाई अन्तर्राष्ट्रिय रुपमा नर्वे लगायतका मुलुकमा सार्वजनिक गरेको थियो । अहिले आएको नयाँ मोडेल त्यसैको सक्सेसर जस्तो देखिन्छ ।

गिजमोचाइनाको एक रिपोर्ट अनुसार सवारीको डिजाइनमा सबैभन्दा परिवर्तन अगाडि भागमा देख्न सकिन्छ । जुन निकै आधुनिक लुक्सका साथ आएको छ र ग्रिल निकै सानो जस्तो देखिन्छ । नयाँ डिजाइन क्रोम ट्रिमका साथै सानो ग्रिलमा आउने गर्दछ ।

जसमा ‘ट्याङ्ग’ कारको लोगो समेत देख्न सकिन्छ । यस बाहेक बडीको बाँकी भागमा त्यति धेरै परिवर्तन गरिएको छैन । सवारीको पछिल्लो हिस्सा तथा किनारा पुरानै मोडेलकै जस्तो छ । यद्यपि बडीको लम्बाइ केही बढाइएको छ ।

नयाँ बीवाईडी ट्याङ्ग ईभीको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४९०० एमएम, १९५० एमएम र १७२५ एमएम रहेको छ । जब कि ह्विलबेस २८२० एमएम छ । एसयूभीको इन्जिनको कुरा गर्ने हो भने यसमा १६८ किलोवाट अर्थात करिब २२९ हर्सपावरको इलेक्ट्रिक मोटर छ ।

ट्याङ्ग ईभीको हालको सिङ्गल मोटर भर्सनको तुलनामा नयाँ मोडेलको पावर वास्तवमा कम भएको छ । यद्यपि यसको भरपाईका लागि चाँडै एउटा डुअल मोटर फोर ह्विल ड्राइभ भर्सन सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

नयाँ बीवाईडी ट्याङ्ग ईभीको लिथियम आयन फस्फेट ब्लेड ब्याट्रीलाई बढेको इन्टेन्सिटीका साथ अपग्रेड गरिएको छ । जुन १४० किलोवाट प्रति घण्टाबाट बढेर १५० किलोवाट प्रतिघण्टा पुगेको छ । जुन राम्रो अपग्रेड हो ।

यसले गर्दा सवारीको ब्याट्री लाइफ रेञ्ज ७०० किलोमिटरसम्म पुग्नेछ । नयाँ मोडेलले मौजुदा सिंगल मोटर भेरियन्टको स्थान लिनेछ र १९ नोभेम्बरमा ग्वान्झाउ अटो शोमा यसलाई पेश गरिनेछ ।

यस अघि सार्वजनिक भएको बीवाईडी ट्याङ्ग ईभीमा ५१० हर्सपावर सहितको डुअल-मोटर अल-ह्विल ड्राइभ सेटअप दिइएको थियो । यसबाट ४.६ सेकेन्डमा सवारीले शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति पकड्न सक्छ । अब नयाँ आउने बीवाईडी ईभीको पर्फर्मेन्स कस्तो रहनेछ, त्यो चाहिँ आगामी दिनमा देख्न सकिने नै छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३