काठमाडौं । विश्वचर्चित प्रविधि कम्पनी सामसङले आफ्नो मोबाइल डिभिजन र इलेक्ट्रोनिक्स व्यापार विभागलाई एकै बनाएको छ । यसअघि दुवै विभागमा फरक-फरक नेतृत्व थिए ।
अब दुवै विभाग एकै नेतृत्वमार्फत सञ्चालन हुने कम्पनीले जनाएको छ । सामसङको इलेक्ट्रोनिक्स डिभिजनमार्फत टिभीका साथै विभिन्न विद्युतीय उपकरण उत्पादन हुँदै आएको छ ।
मोबाइल र इलेक्ट्रोनिक्स विभागलाई एकै ठाउँमा ल्याएर कम्पनीले एसईटी विभाग बनाएको छ । कम्पनीले आफ्नो सेमिकन्डक्टरको उत्पादन भने डिभाइस सोलुसन विभागमार्फत गर्ने जनाएको छ ।
सामसङले आफ्नो भिज्युअल डिस्प्ले बिजनेसका प्रमुख जोङ ही हानलाई मोबाइल र इक्ट्रोनिक्स विभागको सह-प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । उनी विगत १५ वर्षदेखि सामसङको टिभी उत्पादन र व्यापारमा संलग्न छन् ।
सामसङले आफ्नो इलेक्ट्रो–मेकानिक विभागका सीईओ केयुङ केयुङलाई पनि डिभाइस सोलुसन विभागको सीईओमा नियुक्त गरेको छ । सेमिकन्डक्डर उत्पादन गर्ने यो विभाग कम्पनीको सबैभन्दा बढी नाफा गर्ने विभागमा पर्छ ।
सामसङले विज्ञप्ति जारी गर्दै अन्य विभिन्न विभागको नेतृत्व हेरफेर गरेको जानकारी गराएको छ ।