close

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत लगानी

टेकपाना टेकपाना

मंसिर २६, २०७८ १६:२५

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत लगानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानीपश्चात खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ ।

नेपालका ७७ वटै जिल्लामा इन्टरनेट सेवामार्फत सुविधा पुर्‍याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो ।

खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ । वर्ल्डलिंक र खल्तीको यो साझेदारीले सहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएकाे छ ।

२५ वर्षअघि स्थापना भएको वर्ल्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि इन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ ।

‘वर्ल्डलिंकले नेपालको सहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिरहेको छ,’ वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले भने, ‘यो सहकार्य नेपालको सूचना प्रविधि सुदृढीकरणको लागि कोशेढुङ्गा सावित हुनेछ ।’

खल्तीसँगको सहकार्यले नेपालका दूरदराजका क्षेत्रमा इन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पुर्‍याउन र डिजिटल नेपालको लक्ष्य हासिल गर्न यसले मद्दत पुर्‍याउने अध्यक्ष अग्रवालको विश्वास छ ।

स्वदेशी लगानीकर्ताले स्वदेशी स्टार्टअपमा लगानी गरेको यो उदाहरण आगामी दिनमा अन्य लगानीकर्ता र उदाउँदा स्टार्टअपको लागि आशाको संकेत भएको उनको टिप्पणी छ ।

‘यसले नवीन सोचसहित काम गरिरहेका स्टार्टअपका लागि स्वदेशमै लगानी जुटाउन सकिने विश्वास बढाउनेछ,’ अग्रवालले भने, ‘डिजिटल नेपालको लक्ष्य साकार पार्न सहयोग पुर्‍याउने नवीन सोचहरुलाई सघाउन वर्ल्डलिंक सधैं तत्पर रहनेछ ।’

पाँच वर्षअघि स्थापना भएको डिजिटल वालेट खल्तीले प्रयोगकर्तामाझ् छुट्टै पहिचान बनाएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायक र स्वदेशी रेमिटेन्स सेवा सञ्चालनका लागि अनुमतिप्राप्त खल्तीले सन् २०१७ देखि सेवा प्रदान गर्दै आइरहेको छ ।

लाखौं प्रयोगकर्ताले फोन रिचार्ज गर्न, इन्टरनेट, टिभीको बिल तिर्न, इन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन शपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाको लागि खल्तीको उपयोग गरिरहेका छन् ।

वर्ल्डलिंकको लगानीले सबैका लागि वित्तीय पहुँच पुर्‍याउने खल्तीको योजना साकार पार्न सहयोग पुग्ने खल्तीका सह-संस्थापक अमित अग्रवालले बताए ।

वर्ल्डलिंकबाट लगानी भित्रिएसँगै वित्तीय पहुँचमा सबैको सुनिश्चितताको लागि खल्तीले काम गर्ने उनले बताए ।

खल्तीमा हाल दुई सय बढी कर्मचारी आवद्ध छन् । देशभर खल्तीका २० लाख बढी नियमित प्रयोगकर्ता छन् । हाल नेपालका ९० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्था खल्तीमा आबद्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२