काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै नयाँ फिचर उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले अब ह्वाट्सएप म्यासेजमा ‘थर्ड चेक’ अर्थात् ‘थर्ड ब्लु चेक मार्क’ समेत उपलब्ध गराउने भएको छ ।
हालसम्म हामीले ह्वाट्सएपमा दुई ओटामात्रै ब्लु चेक मार्क देख्दै आएका थियौ । त्यसमा जब तपाईंले ह्वाट्सएपमा कसैलाई म्यासेज पठाउनु हुनेछ । पहिलो चेक मार्कले तपाईंको म्यासेज जाँदैछ भनेर जनाउने छ ।
जब दुई ओटा चेक मार्क लाग्नेछ, उक्त म्यासेज पठाएको व्यक्तिले पायो भन्ने हो । जब त्यहाँ दुई ओटा ब्लु चेक मार्क देखिने छ, तब उक्त व्यक्तिले तपाईंले पठाएको म्यासेज पढ्यो भन्ने हो ।
यदि तपाईं ह्वाट्सएपमा आएको म्यासेज आफूले कति बेला पढें भनेर अरुलाई जानकारी दिन चाहनुहुन्न भने ब्लु चेक मार्कलाई बन्द गर्न सकिने फिचरसमेत उपलब्ध हुनेछ ।
तर, यदि तपाईंले ब्लु चेक मार्कलाई बन्द गर्नुभएको खण्डमा ह्वाट्सएपको नयाँ फिचरबाट वञ्चित हुनुहुनेछ । किनभने ह्वाट्सएपले प्रयोगकर्ताको सुरक्षाका लागि भन्दै दुई ओटाको स्थानमा तीनओटा ब्लु चेक मार्क उपलब्ध गराउने छ ।
जसको उद्देश्य प्रयोगकर्तालाई तपाईंले पठाएको म्यासेजको कतै दुरुपयोग त भइरहेको छैन ? भनेर जानकारी दिनु हो ।
कम्पनीले तपाईंले ह्वाट्सएपमा कसैलाई पठाएको म्यासेज प्राप्त गर्ने व्यक्तिले ‘स्क्रिनशट’ लिएर अन्य व्यक्तिलाई अन्य प्लेटफर्ममा शेयर गरेको खण्डमा तेस्रो ब्लु चेक मार्कले जनाउ दिने बताइएको छ ।
यसको अर्थ यदि तपाईंले पठाएको म्यासेजको स्क्रिनशट लिइएको खण्डमा तेस्रो ब्लु चेक मार्क देखिनेछ ।
यो हुँदा थप म्यासेज पठाउन र उक्त व्यक्तिलाई सचेत गराउनसमेत मद्दत पुग्ने विश्वास पुग्ने अपेक्षा गरिएको छ ।