close

डीआरएस टिमबाट पब्जी खेलाडी ‘रिलिज’

टेकपाना टेकपाना

माघ १५, २०७८ २२:४

डीआरएस टिमबाट पब्जी खेलाडी ‘रिलिज’

काठमाडौं । नेपालको व्यवसायिक पब्जी मोबाइल टिम डीआरएस गेमिङ (द रियल सोल्जर्स) बाट पाँच खेलाडी रिलिज भएका छन् । यसअन्तर्गत माफिया निञ्जा (युगेन लामा), एजे (अजय श्रेष्ठ), निमा (निमा तामाङ), ग्याल्जेन (पेम्बा ग्याल्जेन लामा), एमआरबोरो र (अञ्जन राई) लाई कम्पनीले रिलिज गरेकाे डीआरएसका सीईओ भिक्टर पौडेलले बताए ।

यीनै खेलाडीको सहयोगमा डीआरएसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलता हात पार्दै आएको थियो । खेलाडीसँगको सम्झौता कायमै रहेको र बाहिर राम्रो अफर आएकाले खेलाडी रिलिज गरिएको पौडेलले जनाए ।

पब्जी खेलाडीसँगको सहकार्यमा पछिल्लो एक वर्ष उत्कृष्ट भएको भन्दै डीआरएसले आगामी यात्राका लागि शुभकामना दिएको छ ।

‘तपाईंहरूसँग काम गर्नु हामी सबैका लागि ठूलो खुशीकाे कुरा थियो । हामीले धेरै सपना सँगै देख्यौं । केही सफल भए, कोहीले पाठ सिकाए । हाम्रो यात्रा महान थियो, तर हरेक यात्राको अन्त्य हुन्छ,’ डीआरएसले फेसबुक पोस्टमा भनेको छ, ‘यो फेयरवेल मात्र हो, गुड बाई होइन । एक पटकको सोल्जर, सधैंको सोल्जर । भविष्यका लागि सबैलाई धेरै धेरै शुभकामना ।’

डीआरएस अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिम हो । गत वर्ष रूटिन अफ नेपाल बन्द (रूटिने) का भिक्टर पौडेल समेत डीआरएसको स्वामित्वकर्तामा जोडिए ।

लगत्तै डीआरएस कानूनी रुपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम बनेको थियो । डीआरएस कम्पनी रजिस्टारमा आधिकारिक रुपमा दर्ता भएसँगै यी पाँच जना खेलाडीलाई आधिकारिक रूपमा अनुबन्ध गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५