close

विश्व बजारमा भित्रियो ह्वावेको बहुप्रतिक्षित ‘पी५०’ सिरिज, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

माघ १५, २०७८ २०:२२

विश्व बजारमा भित्रियो ह्वावेको बहुप्रतिक्षित ‘पी५०’ सिरिज, यस्ता छन् मुख्य फिचर

काठमाडौं । ह्वावेले ‘पी’ सिरिजको पछिल्लो स्मार्टफोन लाइनअप ‘पी५० प्रो’ र ‘पी५० पकेट’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा गत वर्षको जुलाईमा नै यो सिरिज सार्वजनिक भएको थियो ।

६ महिनापछि ह्वावेले यी फोन परिमार्जित फिचरसहित अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको हो । यसअघि सन् २०२० मा बजारमा आएको ‘पी४०’ सिरिजको तुलनामा आकर्षक डिजाइन, सुधारिएको पर्फर्मेन्स र अपग्रेड गरिएको क्यामेरा हार्डवेयर सहित यो फोन उपलब्ध भएको कम्पनीले जनाएको छ ।

पी५० प्रो

ह्वावे ‘पी५० प्रो’ मा १२० हर्ज रिफ्रेस रेट र ३०० हर्ज टच स्याम्पलिङ रेट सहितको ६.६ इन्चको कर्भ्ड ओएलईडी डिस्प्ले छ । यसमा क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ भने ४ जीबी र्‍याम तथा २५६ जीबी फ्ल्याश स्टोरेज रहेको छ ।

लेइका ब्राण्डिङसहित फोनको पछाडि क्वाड क्यामेरा सेटअप छ । क्यामेराका लागि ह्वावेकै डुअल म्याट्रिक्स क्यामेरा सिस्टम प्रयोग भएको छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ ।

ओआईएस सहित फोनको प्राइमरी शुटर ५० मेगापिक्सेल सेन्सरको छ, जसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा छ, जसले ३.५एक्स अप्टिकल जुम र १००एक्स डिजिटल जुममा फोटो खिच्न सक्छ ।

त्यस्तै यसमा १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ४० मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

यो फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्ट सहित ४३६० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार फोनले ५० वाटको वायरलेस चार्जिङ सपोर्ट पनि गर्छ ।

अन्य विशेषताको कुरा गर्दा यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.२, आईपी ६८ डस्ट एन्ड वाटर प्रोटेक्सन, यूएसबी टाइप-सी पोर्ट, स्टेरियो स्पिकर लगायत छन् ।

गुगल प्ले सर्भिस बिना उपलब्ध यो फोन ईएमयूआई १२ मा रन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा ‘ह्वावे पी५० प्रो’ गोल्डेन ब्ल्याक र कोकोआ गोल्ड कलरमा उपलब्ध हुनेछ ।

पी५० पकेट

त्यस्तै ह्वावेले गत डिसेम्बरमा चीनमा ह्वावे ‘पी५० पकेट’ स्मार्टफोन ल्याएको घोषणा गरेको थियो । जुन कम्पनीको पहिलो क्लामशेल फोल्डेबल स्मार्टफोन हो । यसको मुख्य डिस्प्लेमा ६.९ इन्च २७००x१२२८ ओएलईडी प्यानल रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट र ३०० हर्जसम्मको टच स्याम्पलिङ रेट प्रदान गर्छ ।

‘पी५० प्रो’ मा जस्तै यसमा पनि कम्पनीकै नयाँ डुअल म्याट्रिक्स क्यामेरा सिस्टम छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ ।

फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसमा ४० मेगापिक्सेलको प्राइमरी शुटर, १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ३२ मेगापिक्सेलको सुपर स्पेक्ट्रम सेन्सर अर्थात् मोनोक्रोम सेन्सर छ ।

यो फोनमा पनि क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ । ८ जीबी/१२ जीबी र्‍याम तथा २५६ जीबी/५१२ स्टोरेज सहित याे फाेन दुई भेरियन्टमा उपलब्ध छ ।

यसमा ४० वाटको फास्ट चार्जिङ सपोर्टसहित ४००० एमएएच ब्याट्री छ । साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेको फोनमा मेन क्यामेरा र सैलफी क्यामेराबाटै फेस अनलक गर्न सकिन्छ ।

यो फोन पनि गुगल प्ले सर्भिस बिना नै उपलब्ध भएको छ । अर्थात् यो फोन ईएमयूआई १२ बाट रन हुन्छ । यो फोन सुरूवाती चरणमा सीमित बजारमा उपलब्ध हुनेछ ।

सुरुवाती चरणमा एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका केही बजारमा यी फोन उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५