close

अनलाइन जुवा खेल्ने र खेलाउने ७४ जना बौद्धबाट पक्राउ 

टेकपाना टेकपाना

माघ १७, २०७८ १४:४७

अनलाइन जुवा खेल्ने र खेलाउने ७४ जना बौद्धबाट पक्राउ 

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ ७ बजे बौद्धस्थित रेष्टुरेन्टबाट अनलाइन माध्यमबाट जुवा खेल्ने तथा खेलाउने गरी कूल ७४ जना पक्राउ परेका हुन् ।

दोलखा घर भई हाल बानेश्‍वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेष्‍टुरेन्टमा कोभिड-१९ को महामारी विद्यमान रहेको हालको विषम परिस्थितिमा समेत ठूलो संख्यामा मानिस जम्मा भएर अनलाइन बिङ्गो खेलमा संलग्न रहेको सूचना परिसरलाई आएको थियो ।

सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीबाट छापा मारी संलग्न व्यक्तिलाई उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद सहित पक्राउ गरिएको हाे ।

पक्राउ पर्नेमा ६६ जना पुरुष र आठ जना महिला छन् । साथै उक्त स्थलबाट कूल ६ लाख १९ हजार २५० रुपैयाँ नगद पनि बरामद गरिएको परिसरले जनाएको छ ।

पक्राउ परेका व्यक्तिविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको परिसरले बताएको छ ।

पछिल्लो समयमा अनलाइन जुवा खेल्ने र खेलाउने कार्य नेपालमा पनि बढेको छ । यसैलाई मध्यनजर गर्दै प्रहरीले आफ्नो कारबाही पनि अगाडि बढाइरहेको छ ।

अनलाइन जुवा खेलेको कसूरमा हालसम्म पक्राउ परेकामध्ये एकै ठाउँबाट सबैभन्दा ठूलो संख्यामा पक्राउ भएकाे याे पहिलाे घटना हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५