close

रगत अभाव कम गर्न बीसीएका विद्यार्थीले बनाएको उपयोगी एप

टेकपाना टेकपाना

माघ २२, २०७८ १५:२३

रगत अभाव कम गर्न बीसीएका विद्यार्थीले बनाएको उपयोगी एप

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष ८० करोड १० लाख युनिट भन्दा बढी रगत संकलन गरिन्छ । तर पनि रगतको अभावले अस्पतालको बेडमा कयौं बिरामी छटपटाइरहेका हुन्छन् ।

जुन समस्या नेपालमा समेत विद्यमान छ । यस्तोमा कोही पनि व्यक्तिले रगत अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने ध्येयका साथ एक युवाले रक्तदानलाई सरलीकरण गर्ने एप बनाएका छन् । जसको नाम हो ‘नेपाली ब्लड डोनर’ ।

एप डेभलपर गिरिजाप्रसाद भट्टराईले उक्त एप सन् २०२० मा गुगल प्लेस्टोरमा सार्वजनिक गरेका थिए । एप निर्माण गर्न छ महिनाको समय लागेको उनले बताए ।

नेपालमा पनि कोरोनाको संक्रमण उच्च भइरहेका बेला तत्कालीन अवस्थामा रक्तदानमा हुने समस्या समाधान गर्न सकिन्छ कि भनेर उनले यो एप निर्माण गरिएको टेकपानासँग बताए । भट्टराई हाल झापाको मेची बहुमुखी क्याम्पसमा बीसीए अन्तर्गत आठौं सेमेस्टरमा अध्ययनरत छन् ।

अध्ययनको क्रममा भट्टराईले मोबाइल प्रोग्रामिङका लागि एप बनाउने योजना बनाएका थिए । तर तत्कालीन अवस्था र कोभिडको महामारीलाई मध्यनजर गर्दै उनले ‘नेपाली ब्लड डोनर’ प्ले स्टोरमा राख्ने गरी सर्भर किनेर काम गर्न थाले ।

झापाको रेडक्रसले रक्तदाताको सूची उपलब्ध गराएको थियो । उनले पहिलो भर्सनमा त्यही डेटा अपलोड गरे । उनी अध्ययन सँगै फ्रिल्यान्सिङ काम पनि गरिरहेका हुन्छन् ।

पुरानो भर्सनमा प्रयोगकर्ता बढ्न थालेसँगै एपमा अन्य फिचरको माग पनि बढ्न थाल्यो । फलस्वरूप उनले जनवरी ३१ मा परिमार्जित भर्सन सार्वजनिक गरे ।

पुरानो भर्सनमा समस्याहरू देखिएपछि ब्लड डोनरको नयाँ भर्सन ल्याइएको डेभलपर भट्टराईले बताए । उनी भन्छन्, ‘अझैपनि सुधार गर्नुपर्ने केही कामहरू छन्, जसलाई बिस्तारै अपडेट गर्दै लैजानेछु ।’

अहिले ब्लड डोनरको पोष्ट अन्य सामाजिक सञ्जाल एपमा पनि शेयर गर्न सकिन्छ । एपबाट सोझै अन्य प्ले र्टफर्ममा पोष्ट गर्न सकिने फिचर समेत ल्याउने योजना रहेको उनले सुनाए ।

यो एप उनले व्यक्तिगत लाभका लागि नभई समाज सेवाका लागि निर्माण गरेका हुन् । कोरोनाको पहिलो चरणमा यो एप निर्माण गरेर उनले प्ले स्टोर कन्सोलमा राखेका थिए ।

झापामा राम्रो चलेपछि उनले नेपालभरकै लागि प्रयोगमा ल्याउन एपमा भएका कमजोरीहरू सुधार्न थाले । अहिलेसम्म एपका एक हजार सक्रिय प्रयोगकर्ता रहेको उनले बताए ।

अपडेटेड भर्सनमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल बनाएर सेवा लिन सक्छन् । अब एपमा लोकेसन राख्न मिल्ने सुविधा समेत थपिँदैछ ।

पहिलो भर्सनमा डोनर रजिष्ट्रर गर्ने व्यवस्था मात्र रहेको एपमा प्रयोगकर्ताको आग्रह अनुसार अन्य फिचर थपिएका छन् । अहिले डोनर आईडीमा अन्तिम डोनेट पनि समावेश गर्न थालिएको छ ।

उक्त प्लेर्टफर्मको सेवा लिनका लागि भने कुनै प्रोफाइल लगइन आवश्यक पर्दैन । बिरामी तथा आफन्तले सोझै ब्लड बैंक र डोनरलाई सम्पर्क गर्न सकिने उनले बताए ।

अहिले रजिस्ट्रर गर्दा डोनरले आफ्नो रजिष्ट्रर भएको ईमेलमा डोनर आइडी प्राप्त गर्न सक्छन् । उक्त आईडी लगइन गरेर अन्तिम पटक रक्तदान गरेको समय सेट गर्न सकिन्छ ।

युजरले डोनर आईडी बिर्सिएको खण्डमा फर्गेट आईडी गरेर नयाँ आ‍ईडीको लागि रिक्वेस्ट गर्न सकिन्छ । झापा जिल्ला भित्रका प्रयोगकर्तामा राम्रो प्रभाव पारेको यो एपको नयाँ भर्सन आएसँगै अन्य जिल्लाबाट पनि प्रयोगकर्ता जोडिन थालेका छन् ।

पहिलेको सिस्टममा रगत दाताको सम्पूर्ण विवरण उल्लेख नभएको हुँदा दातालाई दोहोरिएर कल जाने गरेको थियो । अबको भर्सनमा भने रगत दान गरेको तीन महिना पूरा नभएका दातालाई सम्पर्क गर्दा सिस्टमले रातो बत्ति बाल्ने र रिक्वेस्ट पठाउन नमिल्ने हुन्छ ।

दान गर्नका लागि उपलब्ध भए/नभएको समेत हेर्न मिल्छ । लोकेसनमा आधारित फिचर बनाउँदा प्रयोगकर्तालाई झनै सहजता हुने भट्टराईको अपेक्षा छ । जसका लागि उनी लागिपरेका छन् ।

कहिँकतै रगत नपाएर कसैले समस्यामा पर्नु नपरोस् भन्ने उद्देश्यले विकास गरिएको यो एपलाई सकेसम्म प्रयोगकर्तामैत्री बनाउने उनको सोच छ । व्यक्ति व्यक्तिमार्फत रक्तदाता खोज्दा धेरै दिन बित्छ ।

चाहिएको बेलामा रगत भेटिँदैन । प्रयोगकर्ताको अनुभव बटुलेर एउटै प्लेटफर्ममार्फत धेरै दातासँग जोडिनका लागि यो प्लेर्टफर्म उपयोगी हुने निष्कर्षमा उनी पुगेका हुन् ।

आगामी दिनमा नेपाली ब्लड डोनरको एप्लिकेसनको नाम परिवर्तन गरेर अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न मिल्ने गरी डेभलप गर्ने उनको सपना छ । जसमा अन्य सामाजिक सञ्जालमा जस्तै दातासँग सोझै च्याट गर्न मिल्ने फिचर ल्याउने योजनामा समेत उनी छन् ।

यसो हुँदा डोनरलाई कल गरिराख्नु पर्ने छैन । एपका लागि प्रयोगकर्ताले दिएको प्रतिक्रियाबाट उनी निकै उत्साहित छन् । जसका कारण यो एपलाई दिगो रुपमा लैजान हौसला गिरिजाले पाएका छन् ।

एपबाट आम्दानीको आश नराखेको बताउने भट्टराईले यसलाई समाज सेवाको रुपमा लिएका छन् । वर्ष दिनमा सर्भर चार्ज गर्नका लागि लाग्ने रकम आफैँले व्यहोर्ने गरेको उनको भनाई छ ।

अहिले एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध यो एप चाँडै आईओएसका लागि पनि उपलब्ध गराउने तयारी भइरहेको छ । अहिले भने आईओएस प्रयोगकर्ताले वेब प्लेर्टफर्म प्रयोग गर्न सक्छन् ।

त्यसो त ‘नेपाली ब्लड डोनर’ सँग मिल्दाजुल्दा एपहरू प्ले स्टोरमा थुप्रै पाइन्छन् । यो एप अन्य त्यस्तै एपभन्दा कसरी भिन्न छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले यो एपको अनुसन्धान गर्नु अघि अन्य एपहरू आफैँले पनि प्रयोग गरेर हेरेको थिएँ ।’

‘उनीहरूको युजर इन्टरफेस प्रयोगकर्तामैत्री पाइनँ । अपडेट पनि भएका छैनन् र फिचरहरू पनि उपयोगी छैनन् । मैले चाहिँ त्यसै कुरालाई विचार गरेर प्रयोगकर्तालाई आवश्यक फिचरहरू उपलब्ध गराएको छु ।’

‘अन्य एपमा दाताको नामको सूची सहित केही सीमित सुविधा मात्र छन् । उनीहरूसँग ई-मेल, मेसेज र सूचना सम्बन्धी सेवा छैन । कतिपय त सामान्य काम गर्दागर्दै क्र्यास हुने गर्छन् । साथै उनीहरूसँग नेपालभर ब्लड बैंक बोलाउने क्षमता पनि छैन ।’

यो सबै वस्तुस्थिति बुझेका उनले आफ्नो एपमा भएका कमीकमजोरीको बारेमा प्रयोगकर्ता लगायत सम्बन्धित सरोकारवालाबाट सुझावको अपेक्षा राखेका छन् ।

नेपाली ब्लड डोनर एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १६:७