काठमाडौँ । अमेरिकी सञ्चारमाध्यम द वाशिङ्टन पोस्टले आफ्ना केही पत्रकारको ईमेल अकाउन्टमा साइबर आक्रमण भएको पुष्टि गरेको छ । बिहीबार राति ह्याकरले पत्रकारको ईमेलमा अनधिकृत पहुँच बनाएको थाहा भएपछि यो घटना सार्वजनिक भएको हो ।
यसपछि अनलाइन सुरक्षालाई थप कडा बनाइएको र सबै कर्मचारीको लगइन विवरण ‘रिसेट’ गरिएको वाशिङ्टन पोस्टले जनाएको छ ।
द वाशिङ्टन पोस्टका कार्यकारी सम्पादक म्याट मोरेले आइतबार प्रभावित कर्मचारीलाई पठाएको मेमोमा केही सीमित पत्रकारको मात्र ईमेल अकाउन्ट प्रभावित भएको र घटनाको अनुसन्धानका लागि फरेन्सिक टोली खटाइएको जानकारी दिएका छन् ।
यो घटनाबारे पहिलो खबर द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको थियो । जर्नलले अज्ञात स्रोतलाई उद्धृत गर्दै आक्रमणमा कुनै विदेशी सरकारको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेको छ । रिपोर्ट अनुसार राष्ट्रिय सुरक्षा, आर्थिक नीति र चीनसम्बन्धी विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई लक्षित गरिएको थियो ।
ह्याकरले माइक्रोसफ्ट अकाउन्टमार्फत ईमेलमा पहुँच बनाएको बताइएको छ । वाशिङ्टन पोस्ट विगतमा पनि साइबर आक्रमणको निशानामा परेको थियो । सन् २०११ यता पटक-पटक हुने यस्ता हमलामा कतिपयमा चिनियाँ समूहको संलग्नतामाथि आरोप लाग्दै आएको छ ।
संवेदनशील सूचना र बृहत् सम्पर्क सञ्जालका कारण पत्रकारहरू साइबर आक्रमणको सम्भावित निशाना बन्ने गर्छन् । वाल स्ट्रिट जर्नलका अनुसार हालसम्मको हमला ईमेलमा मात्र सीमित देखिएको छ । साथै वाशिङ्टन पोस्टका पत्रकारहरूले संवेदनशील संवादका लागि इन्क्रिप्टेड प्लाटफर्म प्रयोग गर्ने गरेको बताइएको छ ।