close

काउलीको पात स्क्यान गरेर रोग पत्ता लगाइदिने नेपाली एप ‍

टेकपाना टेकपाना

जेठ २०, २०८२ १८:२३

काउलीको पात स्क्यान गरेर रोग पत्ता लगाइदिने नेपाली एप ‍

काठमाडौँ । पोखरास्थित पश्चिमाञ्चल क्याम्पसका कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूले काउलीको पात स्क्यान गरेर रोग पहिचान गर्न सकिने ‘प्लान्ट केयर’ एप तयार पारेका छन् ।

बीई छैटौँ सेमेस्टरको परियोजनाको रूपमा आशिष सिग्देल, इन्द्रप्रसाद सापकोटा, सिजन पौडेल र स्नेहा क्षेत्रीले विकास गरेको यो एप क्याम्पसको कम्प्युटर तथा इलेक्ट्रोनिक्स विभागका उपप्रमुख नवीन लामिछानेको सुपरिवेक्षणमा तयार पारिएको हो ।

परियोजनाका सदस्य इन्द्रप्रसाद सापकोटाका अनुसार यो एपबाट काउलीमा देखिने किरा, रोग तथा पोषण तत्वको कमी सम्बन्धी समस्या पत्ता लगाउन सकिन्छ । पातमा देखिने ‘ब्ल्याक रोट’ र   ‘डाउन मिल्ड्यू’ जस्ता समस्या (रोग) एपमार्फत स्क्यान गरी पहिचान गर्न सकिने उनी बताउँछन् ।

सुरुमा विभिन्न अनुसन्धानपत्रको अध्ययन गरेर उपलब्ध डेटाको प्रयोगमा आधारित ‘मसिन लर्निङ मोडेल’ तयार पार्ने प्रयास गरिएकोमा पुरानो डेटाले पर्याप्त नतिजा नदिएपछि विद्यार्थीहरूले माघ/फागुन २०८१ तिर पुरानचौर क्याम्पस र मालेपाटन कृषि सहकारीको सहयोगमा विभिन्न प्रजातिका काउलीका पातहरूका ८०० भन्दा बढी फोटो संकलन गरी मोडेललाई तालिम दिएका थिए ।

त्यसक्रममा कृषि विज्ञहरूसँग परामर्श लिएर रोगहरूको वर्गीकरणसमेत गरिएको थियो । मोडेल तयार भएपछि एप्लिकेसन निर्माण गरी प्रयोगयोग्य बनाइएको सापकोटाले सुनाए । 

हाल यो एप सार्वजनिक रूपमा गुगल प्लेस्टोरमा उपलब्ध छैन । “प्लेस्टोरमा राख्न केही खर्च लाग्ने भएकाले हाल गिटहबमा ‘Plant Care’ नाममा एप उपलब्ध छ,” उनले बताए ।

एप प्रयोग गर्न ईमेल वा फोन नम्बरमार्फत दर्ता गरेर स्क्यानको विकल्पमा गएर काउलीको पातको फोटो खिच्न सकिन्छ । फोटो खिचेपछि एपले रोगको पहिचानसँगै त्यसको समाधान र रोकथामका उपायहरू नेपाली तथा अंग्रेजी दुवै भाषामा पढ्न र सुन्न मिल्ने सुविधा पनि दिन्छ ।

भविष्यमा एपलाई अझ प्रयोगकर्तामैत्री बनाउँदै बजारमा ल्याउने लक्ष्य आफूहरूले राखेको उनले सुनाए । “हामीले यो एप किसानलाई लक्षित गरेर बनाएका हौँ । यदि क्याम्पस वा विश्वविद्यालयबाट आर्थिक सहयोग प्राप्त भयो भने किसान आफैँ सहजै चलाउन सक्ने गरी एप थप परिष्कृत बनाउन सकिन्छ,” उनले टेकपानासँग भने ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १८:५०