close

के हो नेटवर्क मार्केटिङ, अनि नेपालमा किन प्रतिबन्धित छ ?

टेकपाना टेकपाना

माघ २६, २०७८ १८:४

के हो नेटवर्क मार्केटिङ, अनि नेपालमा किन प्रतिबन्धित छ ?

काठमाडौं । नेटवर्क मार्केटिङ व्यक्तिदेखि व्यक्ति (पर्सन-टु-पर्सन) व्यवसायिक मोडेल हो, जसमा व्यवसायको एक प्रतिनिधिले विभिन्न तहमा सदस्य थप गर्दै वस्तु तथा सेवा बिक्री गर्ने गरिन्छ । यसमा नयाँ ग्राहकलाई सदस्य बनाइन्छ र तिनलाई थप नयाँ ग्राहक बनाई सामान वा सेवा बिक्री गर्न प्रोत्साहित गरिन्छ ।

ती ग्राहक अन्तर्गतका ग्राहकले सामान वा सेवा खरिद गरे बमोजिमको कमिसन पनि दिने व्यवस्था गरेको पाइन्छ । यस्ता व्यवसायलाई मल्टी लेभल मार्केटिङ (एमएलएम) भनेर पनि बुझ्ने गरिन्छ ।

पिरामिड स्किमको रुपमा बुझिने यो व्यवसायमा आफ्नो ग्राहक सदस्यलाई सामान वा सेवाको बिक्रीको प्राप्त नाफाबाट भन्दा पनि नयाँ ग्राहकको सदस्यता शुल्कबाट प्राप्त रकम बाँड्ने गरिन्छ ।

पिरामिड स्किममा ‘हाइरारकियल सेटअप’ (माथिल्लो तहबाट तल्लो तहमा गरिने व्यावसाय) हुन्छ, जसमा जो व्यक्तिले धेरै सञ्जाल बनाउन सक्यो, उसले नै धेरै कमाउने व्यवस्था हुन्छ ।

सूचना प्रविधिको विकास र इन्टरनेट पहुँचमा वृद्धि भएसँगै नेटवर्क मार्केटिङ व्यवसायले झन् धेरै विस्तारित रूप लिएको तथा क्रस-बोर्डर रूपमा समेत गतिविधि बढाउने मौका पाएको राष्ट्र बैंकले जनाएको छ ।

अधिकांश रूपमा यस्ता व्यवसायले एउटा देशबाट कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरू ठग्ने गरेको पनि पाइएको राष्ट्र बैंकको भनाइ छ ।

नेपालमा पनि जोसियल, क्राउड १, सोलम्याक्स ग्लोबल जस्ता संस्थाले आफूलाई मार्केटिङ कम्पनी दावी गर्दै पिरामिड स्किम सञ्चालन गरिरहेको पाइएको छ ।

यस्ता व्यवसायले छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहित गर्ने, आफ्ना सदस्य ग्राहकमार्फत अर्को नयाँ व्यक्तिलाई ग्राहक बन्न प्रोत्साहन गर्ने र आफ्नो सञ्जालअन्तर्गत बिक्री गरेवापत कमिसन दिने गरिन्छ ।

नेपाल राष्ट्र बैंकले नेटवर्क मार्केटिङ अथवा पिरामिड स्किमको नाममा भइरहेको ठगीको विषयलाई लिएर यस्ता गतिविधिमा संलग्न नहुन बारम्बार ताकेता गरिरहेको छ ।

मार्केटिङ कम्पनीको रुपमा आफूलाई दावी गर्ने, तर पिरामिड स्किमको मोडेलमा सञ्चालन गरेर व्यवसायमा आबद्ध हुने ग्राहकहरू ठगीमा पर्न सक्ने राष्ट्र बैंकले बताएको छ ।

यसैले नेपालको कानूनले नेटवर्क मार्केटिङलाई अनधिकृत ठहराएको छ । नेपालको वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ ले नेटवर्क मार्केटिङ पिरामिडमा आधारित व्यवसायलाई बन्देज गरेको छ ।

यस्ताे व्यवस्थामा संलग्न भए सोही ऐन बमोजिम दण्डित गरिने व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ प्रविधिको सहयोगमा विदेशबाट सञ्चालित रहेको नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध भई भुक्तानी पठाउँदा अवैधानिक तरिकाले/हुण्डीमार्फत पैसा पठाउने कार्यलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले प्रतिबन्ध लगाएको छ ।

हाईपर फन्ड जस्ता क्रिप्टोकरेन्सीसँग सम्बन्धित कोष पनि नेटवर्क मार्केटिङ मोडेलमा सञ्चालित रहेको हुदाँ सँगै राष्ट्र बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ तथा वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ अनुसार यो कामलाई गैरकानूनी ठहर गरेको छ ।

यस्तो लगानीले विदेशी मुद्रा अपचलन हुने जोखिम रहेको राष्ट्र बैंककाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२