close

ह्याकरले चोरी गर्‍यो करिब साढे ३८ अर्बको क्रिप्टोकरेन्सी, फिर्ता गर्न सवा अर्बको अफर

टेकपाना टेकपाना

माघ २८, २०७८ १२:७

ह्याकरले चोरी गर्‍यो करिब साढे ३८ अर्बको क्रिप्टोकरेन्सी, फिर्ता गर्न सवा अर्बको अफर

काठमाडौं । क्रिप्टोकरेन्सीको बजार विस्तार हुँदै गएसँगै पछिल्लो समय ह्याकरको निसानामा पर्न थालेको छ । साइबर आक्रमण बढ्दै  गएपछि विश्वभर कानूनसँग जोडिएका अधिकारीहरूले लगानीकर्ताहरूका लागि चेतावनी समेत जारी गरेका छन् ।

यसैबीच एउटा क्रिप्टो प्लेटफर्म वर्महोलमाथि साइबर आक्रमण भएको छ । फर्मले ३२२ मिलियन अमेरिकी डलर अर्थात करिब ३८ अर्ब ३२ करोड रुपैयाँ मूल्यको इथर गुमाएको छ ।

साइबर आक्रमणमा परेसँगै कम्पनीले आफ्नो आधिकारिक वेबसाइटलाई ‘मेन्टिनेन्स मोड’ मा राखेको छ । वर्महोलले ट्वीटरमार्फत कम्पनीमाथि साइबर आक्रमण भएको जानकारी दिएको छ ।

वर्महोलको पोर्टलमार्फत इथेरियममा आधारित स्मार्ट कन्ट्याक्टमार्फत एउटा क्रिप्टोकरेन्सीबाट अर्कोमा स्विच हुने सुविधा दिँदै आएको छ । प्लेटफर्मले इनपुट क्रिप्टोकरेन्सीलाई एउटा अस्थायी आन्तरिक टोकनमा रूपान्तरण गर्दछ र त्यसपछि प्रयोगकर्ताले रोजेको अन्य क्रिप्टोकरेन्सीमा परिवर्तन गर्दछ ।

यस्ता माध्यमलाई ‘ब्लकचेन ब्रिज’ भन्ने गरिन्छ । द रेकर्डको एउटा रिपोर्ट अनुसार अज्ञात ह्याकरले एउटा सानो इनपुटको साटो ठूलो मात्रामा इथर तथा सोलाना क्वाइन जारी गर्नका लागि वर्महोल नेटवर्कलाई छलेको छ ।

यो ह्याकिङ अट्याक कसरी भयो भन्ने विषयमा समेत कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरेको छ । वर्महोलको पछिल्लो ट्वीटर अपडेट अनुसार साइटमा रहेको समस्या समाधान भइसकेको छ ।

यसैबीच कम्पनीले चोरी गरेको क्रिप्टोकरेन्सी फिर्ता दिन ह्याकरलाई मनाउने प्रयास जारी राखेको छ । वर्महोलले त्यसको साटो १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब १९ करोड रुपैयाँको अफर दिएको छ ।

पछिल्लो दुई हप्ताको अवधिमा ब्लकचेन ब्रिजमाथि भएको यो दोस्रो हमला हो । अघिल्लो हप्ता ह्याकरले क्युबिट फाइनान्स नेटवर्क ह्याक गरेर ह्याकरले ८० मिलियन अमेरिकी डलर चोरी गरेको थियो ।

उक्त घटनाको प्रतिवेदनमा क्युबिट फाइनान्सले ह्याकरले कम्पनीको इथेरियम ब्लकचेन कन्ट्याक्टमा रहेको कमजोरी उपयोग गरी २० लाख ६ हजार ८०९ बिनान्स क्वाइन चोरी गरेको जनाएको थियो । क्युबिटले पनि अज्ञात ह्याकरलाई ट्वीटमार्फत उक्त रकम फिर्ता गर्न अनुरोध गर्दै रिवार्डको अफर गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२