close

कम्प्युटर गेमभन्दा मोबाइल गेमको बजार ठूलो भएको प्रमाणित गर्दै पब्जी

टेकपाना टेकपाना

माघ २८, २०७८ १८:४०

कम्प्युटर गेमभन्दा मोबाइल गेमको बजार ठूलो भएको प्रमाणित गर्दै पब्जी

काठमाडौं । पब्जीको मुख्य कम्पनी क्राफ्टनले भर्खरैमात्र सन् २०२१ को आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार पब्जीले सन् २०२० को तुलनमा ठूलो आम्दानी गर्न सफल भएको छ ।

त्यसभन्दा पनि पब्जीले कम्प्युटर तथा कन्सोलमा आधारित गेमभन्दा मोबाइलमा आधारित गेमको बजार ठूलो रहेको दृष्टान्त प्रस्तुत गर्न सफल भएको छ । प्रतिवेदन अनुसार सन् २०२१ कम्पनीका लागि अहिलेसम्मकै सबैभन्दा फलदायी वर्ष सावित भएको छ ।

कम्पनीले पब्जीमार्फत मात्रै १.५७ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनमा १३ प्रतिशत बढी हो । त्यसमध्ये ४३ करोड ४८ लाख डलर नाफा भएको जनाइएको छ ।

दक्षिण कोरियाली कम्पनी क्राफ्टनका अनुसार यसरी भएको आम्दानीमध्ये ९४ प्रतिशत विदेशबाट भएको हो । कम्पनीले सन् २०२१ मा पब्जीमा पैसा तिरेर प्रयोग गर्नुपर्ने केही फिचरहरू थप गरेको थियो ।

जसको प्रतिफल कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो । कम्पनीका अनुसार सन् २०२० को तुलनमा सन् २०२१ मा प्रति प्रयोगकर्ता आम्दानी ३०० प्रतिशतले बढेको छ ।

त्यसमध्ये सबैभन्दा बढी पब्जी मोबाइलबाट आम्दानी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कुल आम्दानी मध्ये १.१८ अर्ब अमेरिकी डलर मोबाइलबाटै आएको हो ।

चौथो त्रैमासिकमा मात्रै कम्पनीले पब्जी मोबाइलबाट २५ करोड ३७ अमेरिकी डलर आम्दानी गरेको छ । भारतमा जारी पब्जीको छुट्टै भर्सन र पब्जी न्यु स्टेटले पनि कम्पनीको आम्दानी बढाउन मद्दत पुर्‍याएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२