काठमाडौं । पछिल्लो समय अनलाइनमा चिनजान गरी सम्बन्ध अघि बढाउने क्रम बढ्दो छ । जसका लागि विभिन्न सामाजिक सञ्जालका साथै डेटिङ एपहरू प्रचलित छन् । किशोर र युवा पुस्ताका लागि पछिल्लो समय दिन बिताउने, जोडी बनाउने र भावना साट्ने माध्यम यस्ता डेटिङ एप बनेका छन् ।
यस्ता एपले जाेडी बन्ने पुरानाे शैली परिवर्तन गर्दै एक ठाउँबाट संसारका कुनै कुनामा रहेका व्यक्तिसँग सम्बन्ध जाेड्न सघाएकाे छ । प्रेमीप्रेमिका खोज्ने धुनमा डेटिङ एपबाट एक वर्षमै ५ खर्ब भएकाे तथ्यांक सार्वजनिक भएकाे छ ।
सन् २०२१ मा ४.२ अर्ब अमेरिकी डलर अर्थात् करिब पाँच खर्ब १० अर्ब रूपैयाँको हाराहारीमा खर्च गरेको पाइएको हाे । एपहरुको एनालिटिक जानकारी दिने ‘एप एन्नी’ ले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै यो विषयमा जानकारी दिएको छ ।
उक्त प्रतिवेदन अनुसार डेटिङ एपमा प्रयोगकर्ताले खर्च गरेको यो रकम अघिल्लो सालको तुलनामा ३० प्रतिशत बढी हो । खर्च गरिएकोमध्ये सबैभन्दा बढी ‘म्याच ग्रुप’ अन्तर्गतको ‘टिन्डर’ मा भएको छ ।
टिन्डर अहिले विश्वमा सबैभन्दा बढी डाउनलोड हुने डेटिङ एपमा पर्छ । टिन्डरमा मात्रै प्रयोगकर्ताले १.३ अर्ब डलर खर्च गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो ।
एप एन्नीको प्रतिवेदन अनुसार कोरोना महामारीका कारण अनलाइन डेटिङ गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको हाे । महामारीको समयमा होटल, रेस्टुरेन्टहरू बन्द भई प्राइभेट डेटिङका लागि विकल्प नहुँदा धेरै समय अनलाइन मै बितेको साे प्रतिवेदनमा उल्लेख छ ।
यसका साथै डेटिङ एपहरुले पनि यस्तो समयमा स्वाइप नाइट, भर्चुअल इभेन्ट जस्ता विभिन्न फिचर पेड भर्सनमा उपलब्ध गराएका छन् । जसको प्रतिफल डेटिङ एपमा खर्च गर्ने क्रम बढेको हो ।