close

बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक, अब कहाँ सम्पर्क गर्ने ?

टेकपाना टेकपाना

फागुन ११, २०७८ १३:४३

बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक, अब कहाँ सम्पर्क गर्ने ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) को प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।  गत फागुन ७ गते सञ्चालन भएको प्रवेश परीक्षाको नतिजा मङ्गलबार प्रकाशित भएको हो ।

यहाँ क्लिक गरी उक्त प्रवेश परीक्षाको नतिजा हेर्न तथा स्कोर कार्ड डाउनलोड गर्न सकिनेछ । चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) पढ्न इच्छुक उत्तीर्ण परीक्षार्थीले यही फागुन १३ गते बिहान दश बजेदेखि १९ गतेसम्म प्रायोरिटी फारम (Priority Form) भर्न सक्नेछन् ।

त्यसका लागि त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि सङ्कायको वेबसाइटमा रहेको लिङ्कमा गएर फाराम भर्नुपर्ने छ । प्रायोरिटी फारम भर्दा परीक्षार्थीले आआफ्नो स्कोर शिट डाउनलोड गर्नुपर्नेछ ।

आफूले पढ्न खोजेको क्याम्पस तथा कलेजको नाम (दश ओटासम्म) छनौट गर्न पाउने छन् । त्यसका लागि दुई सय रुपैयाँ कम्प्युटर विज्ञान तथा सूचना प्रविधि संकायको ग्लोबल आईएमई बैंकको कीर्तिपुर शाखामा जम्मा हुने गरी बुझाउनु पर्नेछ ।

परीक्षार्थीले परीक्षा फारम भर्दा शुल्क बुझाएको प्रक्रिया जस्तै गरी यसमा पनि  वेब पेजमा उपलब्ध लिङ्क प्रयोग गरी शुल्क बुझाउन सकिनेछ । साथै कनेक्ट आईपीएस तथा ई-सेवामार्फत पनि शुल्क जम्मा गर्न सकिनेछ ।

प्रायोरिटी फाराम भर्दा बैंकको भौचर नम्बर अथवा ट्रान्जेक्सन आईडी नम्बर अनिवार्य रुपमा भर्नुपर्ने हुन्छ । भर्नाको लागि प्रथम सूची यही फागुन २२ गते बिहान १० बजे प्रकाशित हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३