काठमाडौं । नेपालमा हुन्डाईको नयाँ विद्युतीय कार आयोनिक फाइभको बिक्री सुरु भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबारदेखि यसको बिक्री थालेको हो ।
यो कार हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ बनेको छ । रियर ह्विल ड्राइभ अर्थात पछाडिको पाङ्ग्रामा मोटर जोडिएको यो गाडीमा सोलार रुफ र भिजन रुफ गरी दुई ओटा विकल्प छन् ।
त्यस्तै, भेहिकल टु लोड (भीटुएल) फिचर (गाडीको ब्याट्रीमा भएको अधिकतम क्षमता बाह्य प्रयोजनका लागि उपयोग गर्न सकिने विधि), एम्बिएन्ट मोड (वरिपरीको प्रकाशको आधारमा गाडी भित्रको उज्यालो स्वचलित रुपमा व्यवस्थापन गर्ने प्रणाली) र पावर टेलगेट (बटन थिचेकै भरमा गाडीको पछाडिको ढोका खुल्ने) फिचर रहेकाे छ ।
साथै सेन्सिङ वाइपर (सिसामा पानी पर्दा स्वचालित रुपमा आफैँ सफा हुने), ब्लाइन्ड स्पट भ्यु मनिटर (ड्राइभिङ सिटबाट नदेखिने भागमा गाडी जाँदा अलर्ट गर्ने) र भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल (आवाजबाटै गाडीको फिचर प्रयोग गर्न सकिने) जस्ता फिचर पनि समावेश छन् ।
विभिन्न नौ वटा आकर्षक रंगमा उपलब्ध हुण्डाई ‘आयोनिक फाइभ’ विद्युतीय सवारीमैत्री आकारमा बनाइएको छ । हुन्डाई आयोनिक फाइभ ५८ र ७२.६ किलोवाट आवरका दुई ओटा ब्याट्री प्याक अप्सनमा आएको छ ।
जसमध्ये ७२.६ किलोवाट आवर ब्याट्री रहेको कारले एक पटकको चार्जमा ४८१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
भिजन रुफ भएको हुन्डाई आयोनिक फाइभको मूल्य ८० लाख ९६ हजार रुपैयाँ रहेको छ भने सोलार रुफ भएको कारको मूल्य ८१ लाख ९६ हजार रहेको छ ।
तर दुवै भेरियन्टमा यदि तपाईँ मेट कलर अप्सन चाहनुहुन्छ भने थप ६० हजार रुपैयाँ तिर्नुपर्नेछ । स्पेसलाइज्ड ईजीएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्ममा निर्माण भएको हुन्डाईको यो गाडी पहिलो गाडी हाे, जसले सन् २०२१ को टप गियर इलेक्ट्रिक अवार्ड समेत पाएको थियो ।
हुन्डाई कोना इलेक्ट्रिक कारले राम्रो लोकप्रियता पाएसँगै कम्पनीले यो नयाँ कार नेपाल भित्र्याएको हो । कम्पनीको यो कार बोल्ड, युनिक र डाइनामिक डिजाइनमा रहेको छ ।
आयोनिक फाइभ सार्वजनिक गरेसँगै कम्पनीले इलेक्ट्रिक कारका लागि स्टेट अफ दि आर्ट नामक छुट्टै शोरुम समेत सञ्चालनमा ल्याएको छ । जसमा हाल बिक्री भइरहेका कोना, आयोनिक र आयोनिक फाइभ गरी तीन मोडलका कार राखिएका छन् ।
इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम अनुभव प्रदान गर्न सफल हुने कम्पनीको विश्वास छ । कम्पनीले विद्युतीय कार बिक्रीसँगै नेपालमा यसको प्रयोग बढाउन देशभर चार्जिङ स्टेसन विस्तार गर्ने तयारी समेत गरिरहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरूमा १३ ओटा डिलर र १९ ओटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।