close

नेपालका टप ५ अनलाइन गेमर, जसले युट्युबबाटै मासिक लाखौँ कमाउँछन्

टेकपाना टेकपाना

फागुन १९, २०७८ १२:२५

नेपालका टप ५ अनलाइन गेमर, जसले युट्युबबाटै मासिक लाखौँ कमाउँछन्

काठमाडौं । अनलाइनका माध्यमहरू सूचना सञ्चारको माध्यम मात्र होइनन्, आम्दानीका स्रोत पनि हुन् । यो कुरा तपाईँले अहिलेको युवा पिँढीबाट देख्न सक्नुहुन्छ । 

पछिल्लो समय नेपालमा अनलाइन गेमको क्रेज निकै बढेको छ । कतिपय अभिभावकलाई आफ्ना बालबालिका अनलाइन गेम खेल्दा बिग्रिएको चिन्ता पनि हुने गर्छ ।

तर यसको आर्थिक तथा बजारको पाटो हेर्ने हो भने यो एउटा नयाँ किसिमको करियर तथा व्यवसायको रुपमा उदाइरहेको देख्न सकिन्छ । आज हामी यस्ता तपाईँलाई यस्ता केही नेपाली गेमरको बारेमा बताउँदै छौँ, जसले गेम खेलेकै भिडिओ बनाएर महिनामै लाखौँको आम्दानी गरिरहेका छन् ।

गेमरहरूको आम्दानीको विश्लेषणका लागि हामीले उनीहरूको च्यानलमा भएका सब्सक्राइबर, हरेक भिडिओमा आउने भ्युज र कमेन्ट आदिलाई आधार बनाएका छौँ । 

१. फोर के गेमिङ नेपाल (4K Gaming Nepal)

फोर के गेमिङ नेपाल नामक युट्युब च्यानल दश लाख सब्सक्राइबर  पुराउने नेपाली भाषाको पहिलो गेमिङ च्यानल हो । यसले ८ सेप्टेम्बर २०२१ मा १० लाख सब्सक्राइबर  पुरा गरेको थियो ।

फोर के गेमिङ नेपाल च्यानलका सञ्चालक पवन जङ्ग शाही हुन् । अहिले उनको च्यानलमा १० लाख ३० हजार सब्सक्राइबर रहेका छन् ।  

उनले आफ्नो च्यानलमा पब्जी लाइभ स्ट्रिमङका साथै गेम प्ले भिडिओ पनि राख्ने गर्छन् ।  उनी विशेष गरी आफ्नो रमाइलो तथा प्रो पब्जी गेम प्लेको लागि परिचित छन् । गेमसँगसँगै ठट्टा गर्ने बानीले  उनलाई छुट्टै परिचय दिएको छ।

उनको आम्दानीको कुरा गर्नुपर्दा उनले महिनामा युटुबबाट अनुमानित २० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म कमाउँछन् । जुन भ्युज अनुसार तल माथि हुनसक्छ ।

२. विश्व मगर(Bshow Mgr)

विश्व मगरले विश्व एमजीआर नामबाट आफ्नो युट्युब च्यानल बनाएका छन् । लाइभ स्ट्रिम र गेम प्ले भिडिओ राखेर उनले पाँच लाख सब्सक्राइबर पूरा गरेका छन् ।

नेपालमा फ्री फायर गेमिङबाट पाँच लाख सब्सक्राइबर पूरा गर्ने यो नै पहिलो च्यानल हो । अहिले उनको च्यानलमा ६ लाख ३३ हजार सब्सक्राइबर रहेका छन् ।

उनी पनि आफ्नो विशेष प्रकारको रोच तथा प्रो गेम प्लेका लागि परिचित छन् । आम्दानीको कुरा गर्नुपर्दा उनले युटुबबाट महिनामा अनुमानित १४ हजारदेखि दुई लाख रुपैयाँसम्म कमाउँछन् ।

३. मिस्टर जुनियर (Mr Junior)

आफ्नो रमाइलो गेम प्लेबाट फ्री फायर प्लेयर माझ परिचित मिस्टर जुनियर अर्थात सन्देशजङ्ग राणाको च्यानलमा अहिले  पाँच लाख ६२ हजार सब्सक्राइबर पुगेका छन् ।

उनले आफ्नो च्यानलमा फ्री फायरसँगसँगै पब्जी, जीटीए र अन्य गेमहरूको भिडिओ राख्ने गर्छन् । आम्दानीको कुरा गर्नुपर्दा उनले युटुवबाट मासिक अनुमानित २० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म कमाउँछन् ।

४. नेफोली (Nefoli)

नेफोली फ्री फायरका उत्कृष्ट एडिटरमध्येका एक हुन् । उनको वास्तविक नाम प्रवेश भण्डारी हो । उनको च्यानलमा अहिले चार लाख ८३ हजार सब्सक्राइबर रहेका छन् । 

उनको विशेषता भनेकै गीतको तालसँगै आफ्नो भिडियोलाई ढाल्नु हो । आम्दानीको कुरा गर्नुपर्दा उनले युटुबबाट मासिक अनुमानित ७५ हजारदेखि १२ लाख रुपैयाँसम्म कमाउँछन् । तुलनात्मक रुपमा सब्सक्राइबर सङ्ख्या कम रहे पनि उनको भिडिओले दशौँ लाख भ्युज पाउने गरेका छन् ।

५. एसियन गेमिङ एण्ड टेक (Asian Gaming & Tech)

नेपालको फ्री फायर गेमिङ कम्युनिटीलाई बलियो तथा एकजुट बनाउन प्रयासरत एसियन गेमिङ एन्ड टेकका सञ्चालकले आफूलाई एसियन बाबाको नामले चिनाउँछन् । 

उनले आफ्नो  च्यानलमा फ्री फायर र पब्जीका प्रतियोगिताको लाइभ गरिरहेका हुन्छन् । उनको च्यानलमा अहिले दुई लाख ५० हजार सब्सक्राइबर रहेका छन् । आम्दानीको कुरा गर्नुपर्दा उनले युट्युबबाट महिनामा अनुमानित १४ हजारदेखि दुई लाख २० हजार रुपैयाँसम्म कमाउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२