काठमाडौं । गुगलले एन्ड्रोइड फोन प्रयोगकर्ताले भोग्दै आएको इन्टर्नल स्टोरेज फुल हुने समस्याको समाधान उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले नयाँ एप निर्माण गरी प्रयोगकर्तालाई त्यसैमार्फत इन्टरनेट स्टोरेज खाली गर्ने विकल्प दिने तयारी गरेको छ ।
यसरी स्टोरेज खाली गर्दा मोबाइलमा उपलब्ध एप र त्यससँग सम्बन्धित डेटामा कुनै असर नपर्ने जनाइएको छ । हामी सबैलाई यो थाहा छ कि, एन्ड्रोइड फोनमा प्रिलोडेड एप नै धेरै हुने गर्छ ।
त्यो हुँदा मोबाइलमा गेम खेल्ने, मल्टिमिडिया प्रयोग गर्ने प्रयोगकर्ताको लागि सानो स्पेसले पनि निकै अर्थ राख्छ । यस्तोमा अहिलेको विकल्प भनेको प्रयोगमा नभएको एपलाई हटाउने, अथवा एपको डेटा क्लियर गर्नु नै हो ।
यसो गर्दा केही समयपछि पुरानै अवस्थामा आइपुग्छ । यस्तोमा गुगलले ‘आर्कइभ एपीके’ निर्माण गरिरहेको जनाइएको छ । जुन एन्ड्रोइड प्रयोगकर्तालाई एपीके फाइलको रुपमा उपलब्ध हुनेछ ।
जसमार्फत प्रयोगकर्ताले ६० प्रतिशत स्टोरेज खपतलाई घढाउन सक्नेछन् । यो टुल पहिलो चरणमा कम्पनीले डेभलपरलाई उपलब्ध गराउने छ । भने, विस्तारै आम प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार आर्काइभ एपीकेमा राखिएका फाइल एप रिस्टोर नहुँदासम्म सुरक्षित रहने छ ।