close

कस्तो प्रविधि हो भर्खरै नेपाल भित्रिएको नयाँ प्रविधि वाई-फाई सिक्स ?

टेकपाना टेकपाना

फागुन २६, २०७८ १९:४३

कस्तो प्रविधि हो भर्खरै नेपाल भित्रिएको नयाँ प्रविधि वाई-फाई सिक्स ?

काठमाडौं । वाई–फाई प्रविधि विकास भएको साढे दुई दशकमा यो निकै उन्नत स्तरमा अगाडि बढेको छ । इन्टरनेट उपभोगको क्षेत्र व्यापक भएसँगै वाई–फाई प्रविधिले पनि फड्को मारिरहेको छ ।

मोबाइल, कम्प्युटर लगायतका उपकरणलाई बिना तार इन्टरनेटसँग जोड्ने वाई-फाई प्रविधिको अभिन्न अंग हो- राउटर । राउटर प्रविधिमा भएको विकासले नै वाई-फाई प्रविधिलाई अत्याधुनिक बनाउँदै लगेको हो ।

नेपालकै परिवेशमा हेर्ने हो भने पनि यतिबेला इन्टरनेट सेवा प्रदायकबीच नवीनतम् प्रविधि भित्र्याउने प्रतिस्पर्धासँगै स्पिड वार समेत चलिरहेको छ ।

वर्ल्डलिङ्क, भायनेट, सुबिसु, क्लासिक टेक जस्ता ठूला इन्टरनेट सेवाप्रदायकले डुअल अर्थात डबल ब्यान्ड (२.४ गिगाहर्ज र ५ गिगाहर्ज) राउटर उपलब्ध गराइरहेका छन् ।

इन्टरनेट सेवा प्रदायकबीच भइरहेको प्रतिस्पर्धाले उपभोक्तालाई भने फाइदा पुगिरहेको छ । उपभोक्तालाई नयाँ नयाँ प्रविधिमार्फत इन्टरनेटको नयाँ अनि उत्कृष्ठ अनुभव दिन सेवा प्रदायकबीच प्रतिस्पर्धा चलिरहँदा ह्वावेसँगको सहकार्यमा डिशहोमले नयाँ वाई–फाई प्रविधि नेपाल भित्र्याएको छ ।

यो नयाँ वाई–फाई प्रविधि हो ‘वाई–फाई सिक्स’ । वाई–फाई सिक्स पनि २.४ र ५ गिगाहर्ज (डुअल ब्याण्ड) मै आधारित राउटर हो । तर, यसलाई फ्रिक्वेन्सी र प्रविधिसँगै अन्य थुप्रै कुराले फरक बनाएको छ । वाई–फाई सिक्समार्फत् ३००० एमबीपीएससम्मको ‘एयर इन्टरफेस रेट’मार्फत १० जीबीपीएस सम्मको थ्रुपुट पाउन सकिन्छ ।

चीनमा भएको पछिल्लो अध्ययनले वाई–फाई फाइभको तुलनामा वाई–फाई सिक्सले दोब्बर बढी स्पिड प्रदान गर्ने देखाएको छ ।

वाई–फाई सिक्सका प्रयोगकर्ताले वाई–फाई प्रयोगमा नयाँ अनुभव प्राप्त गर्ने ह्वावे नेपालका प्राविधिक निर्देशक सागर शर्मा बताउँछन् । उनी भन्छन्, ‘वाई–फाई सिक्स नयाँ प्रविधि हो । अन्य प्रविधिको तुलनामा यो निकै फास्ट छ । साथै, यसको कभरेज क्षेत्र पनि धेरै फराकिलो हुन्छ ।’

उदाहरणका लागि यदि कुनै ठूलो कार्यक्रम आयोजना भएको छ र त्यहाँ हजारौं मानिस सहभागी भएका छन् भने उक्त स्थानमा वाई–फाईको स्पिड निकै स्लो हुने मात्र नभएर चल्दै नचल्ने समस्या आउने गर्छ ।

सागर शर्मा, प्राविधिक निर्देशक, ह्वावे नेपाल

यस्तो अवस्थामा ब्याण्डविथले मात्रै समस्या सिर्जना गरिरहेको हुँदैन । यो समस्या प्रविधिको पनि हो । शर्मा भन्छन्, ‘राउटरले फाल्ने फ्रिक्वेन्सी, त्यसको वेभ, राउटरको क्षमता आदि कुराले यसमा फरक पार्छ । यी सबै समस्याको समाधान गर्ने प्रविधि नै वाई–फाई सिक्स हो ।’

वाई–फाई सिक्स न्यूनतम लेटेन्सी र उच्च प्रसारण क्षमतामा आधारित हुन्छ । जसले लामो दूरीसम्म उच्च गतिको इन्टरनेट डेटा वाई-फाई मार्फत ट्रान्सफर गर्न सक्छ ।

अर्को भनेको वाई-फाई सिक्सको एपीले एक हजार २४ इन्ड डिभाइसलाई सपोर्ट गर्छ । जुन हाल बजारमा उपलब्ध अन्य वाई-फाई प्रविधिको तुलनामा ५० प्रतिशत बढी हो । यसमा फ्रिक्वेन्सी जुध्ने समस्या पनि हुँदैन ।

वाई-फाई सिक्स प्रविधिले इन्टरनेट सेवा प्रदायकको लागत कम गर्न सहयोग गर्ने ह्वावे नेपाल, इन्टरप्राइज सेल्स निर्देशक गङ्गामान महर्जन बताउँछन् ।

गङ्गामान महर्जन, इन्टरप्राइज सेल्स निर्देशक, ह्वावे नेपाल

नयाँ प्रविधिमार्फत् उपभोक्तालाई उच्च स्तरको इन्टरनेट अनुभव प्रदान गर्ने र लागतको हिसाबले पनि निकै किफायती हुने भएकाले वाई–फाई सिक्सको योजनामा कम्पनी अघि बढेको डिशहोमका महाप्रबन्धक मनोज केसी बताउँछन् ।

‘हामी यो बजारमा नयाँ इन्टरनेट सेवा प्रदायक हौँ । हामीलाई प्रयोगकर्तालाई नयाँ अनुभव दिनुपर्ने चुनौति छ । प्रयोगकर्तालाई नयाँ अनि परिस्कृत रूपमा गुणस्तरीय सेवा दिने क्रममा वाई–फाई सिक्स भित्र्याएएका हौँ ।’

इन्टरनेट सेवा सुरु गर्नुअघि नै आफूहरूले बजार अध्ययन गरेको समेत केसी सुनाउँछन् । ‘हामीले गरेको अध्ययनमा वाई–फाईमा ग्राहकको सबैभन्दा बढी गुनासो रहेको पाइयो । इन्टरनेट उपभोक्ताहरू अहिलेको वाई–फाईमा सन्तुष्ट रहेको पाइएन । यो समस्याको समाधानको लागि नै हामीले ह्वावेसँग सहकार्य गरेका हौँ,’ केसी भन्छन् ।

ह्वावेसँग इन्टरनेट पूर्वाधारमा लामो समय काम गरेको अनुभव र नयाँ आविष्कार समेत भएकाले डिशमहोमको सहकार्यले उपभोक्तालाई नयाँ अनुभव दिने केसीले दाबी गरे ।

मनोज केसी, महाप्रबन्धक, डिशहोम

‘इन्टरनेट सेवा विस्तारका लागि आवश्यक सबै प्रविधि पनि भएको र नेपालको दूरसञ्चार पूर्वाधारमा काम गरिरहेको अनुभव ह्वावेसँग छ । त्यसले दुई कम्पनीबीचको सहकार्य फलदायी हुनेछ,’ केसी भन्छन्, ‘ह्वावे टिमसँगको निरन्तर छलफल, उनीहरूसँग रहेको अनुभव र उनीहरूले दशौँ वर्ष अध्ययन गरेर तयार पारेको प्रविधिमार्फत हामीले सेवा दिँदैगर्दा आज प्रयोगकर्तालाई विश्वास दिलाउन सफल भएका छौँ ।’

नयाँ प्रविधि भित्र्याएसँगै डिशहोमले बजारमा आफूलाई आक्रामक रुपमा प्रस्तुत गरिरहेको छ । इन्टरनेट सेवा सुरु गरेको छोटो समयमै कम्पनीका ग्राहक एक लाखको हाराहारीमा पुगिसकेका छन् ।

ग्राहक विस्तारमा पाएको सफलताले डिशहोमलाई बजारमा अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्ने हिम्मत बढेको केसी बताउँछन् । भन्छन्, ‘ग्राहक विस्तारमा पाएको सफलताले नयाँ प्रविधि र सहकार्य गर्ने कम्पनी छनौटमा डिशहोमको निर्णय सही सावित भएको छ ।’

ग्राहक विस्तारमा पाएको सफलता पछाडि ह्वावेसँगको  सहकार्यमा भित्र्याइएको प्रविधि पनि प्रमुख कारण भएको केसीको भनाई छ ।

‘उच्च क्षमतायुक्त स्विच, राउटरलगायतका अन्य प्रविधिको सहायताले ग्राहकलाई गुणस्तरीय इन्टरनेट सेवा दिन डिशहोम सफल भएको छ । जडानपछिको सेवा र ग्राहकबाट आएका सुझाव र गुनासालाई सम्बोधन गर्ने कम्पनीको अभ्यासले सफलतामा इट्टा थपेको छ ।’

वाई–फाई सिक्स विश्व बजारमा प्रयोगकर्ताका लागि त्यति धेरै नौलो प्रविधि पनि होइन । धेरै देशका उपभोक्ताले यो प्रविधिको लाभ उठाइरहेका भए पनि नेपालका उपभोक्ताको लागि भने यो नौलो अनुभव हो ।

वाई–फाई सिक्स प्रविधि भित्रिएसँगै नेपाली उपभोक्ताले चाहेको स्पिड र कभरेज पाउने केसी बताउँछन् । ‘लेटेन्सीमुक्त स्पिड र चाहेको कभरेज वाई–फाई सिक्सले दिन्छ,’ केसी भन्छन् । घर र कार्यालय जहाँ पनि वाई–फाई सिक्स प्रयोग गर्न सकिने उनले बताए ।

‘अहिले उच्च गुणस्तरीय इन्टरनेट सामग्रीमा ग्राफिक्सको प्रयोग भइरहेको हुन्छ । इन्टरनेटमा पनि यस्तै सामग्री रुचाइन्छ । यस्तोमा वाई–फाई सिक्सको विकल्प छैन,’ केसी अगाडि भन्छन् । वाई–फाई सिक्समा मेश प्रविधि पनि उपलब्ध हुने भएकाले कार्यालय अथवा घरमा राखिएको वाई–फाईले एक ठाउँमा टिप्ने अर्को ठाउँमा नटिप्ने भन्ने समस्या पनि नहुने उनको दाबी छ ।

राउटरमा उपलब्ध सबैतिर सिग्नल फ्याँक्न सक्ने ‘ओम्नीडाइरेक्स्नल’ डुअल ब्याण्ड हाई गेन’ एन्टेनाको मद्दतले प्रयोगकर्तालाई आवश्यकता अनुसारको ब्याण्डविथ प्रदान गर्दछ । यो राउटरले कुन प्रयोगकर्ताले कति ब्याण्डविथ खपत गरिरहेको छ, त्यसका आधारमा कुन डिभाइसमा कति ब्याण्डविथ पठाउने भन्नेसम्मको काम गर्ने केसी बताउँछन् ।

यसका साथै यो राउटरले अन्य डबल ब्याण्ड राउटरले जस्तो दुई ओटा एसएसआईडी (वाई–फाईको नाम) देखाउँदैन् । एउटै एसएसआईडीमार्फत दुबै ब्याण्डले काम गर्ने हुँदा राउटरबाट टाढा जाँदा २.४ र राउटरको नजिक हुँदा ५ गिगाहर्जमा आफैँ परिवर्तन हुन्छ । यसले ठाउँ अनुसार इन्टरनेट कनेक्ट गराइराख्नु पर्ने झन्झट पनि नरहने ह्वावे नेपालका प्राविधिक निर्देशक शर्मा बताउँछन् ।

त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा वाई–फाई सिक्स राउटरमा रहेको ‘सेल्फ हिलिङ’ प्रविधि हो । जसले वाई–फाईका लागि जडान गरिएको कुनै एक नोडले काम नगरेको खण्डमा स्वतः अर्को नोडमा कनेक्ट भएर नेटवर्कमा आउनसक्ने समस्याबाट बचाउँछ

त्यस हिसाबले यो प्रविधिलाई वाई–फाईको एउटा ठुलो उपलब्धीको रुपमा लिन सकिन्छ । इन्टरनेटमा उच्च गुणस्तरको भिडिओ हेर्ने क्रम बढेको छ भने भिडिओ र इन्टरनेट सामग्रीको गुणस्तर पनि बढ्दै गएको छ । इन्टरनेट सामग्रीको गुणस्तर बढ्दै जाँदा सोही अनुसारको इन्टरनेट प्रविधि पनि आवश्यक पर्छ ।

‘उपभोक्ताले इन्टरनेटमा हेर्ने सामग्रीको गुणस्तर बढ्दै जाँदा सेवा प्रदायकले पनि सोही अनुसारको प्रविधि उपभोक्तालाई प्रदान गर्दै जानुको विकल्प छैन’, ह्वावे नेपालका प्राविधिक निर्देशक शर्मा भन्छन्, ‘यस्तो अवस्थामा वाई–फाई सिक्स निर्विकल्प हुन जान्छ ।’

वाई–फाई सिक्स प्रविधि भित्र्याएसँगै डिशहोमले उपभोक्तालाई वाई–फाई सिक्स राउटरसहित ६ सय एमबीपीएस गतिसम्मको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । भविष्यमा ग्राहकलाई उत्कृष्ट सेवा दिन र बढ्दो बजार प्रतिस्पर्धामा अब्बल हुन कम्पनीले आफ्नो पूर्वाधार विस्तारको कामलाई पनि तीव्रता दिएको केसी बताउँछन् ।

‘हामीले हाल ३१ ओटा डीडब्लूडीएम स्टेसनहरू निर्माण गरिरहेका छौँ । यी डीडब्लूडीएम स्टेसन निर्माणको काम सम्पन्न हुँदा हाम्रो एउटा ठूलो नेटवर्क तयार हुनेछ,’ उनी भन्छन् ।

यसका साथै डिशहोमले ह्वावेसँगकै सहकार्यमा विभिन्न स्थानमा डेटा हब निर्माणको काम पनि अघि बढाएको छ । डेटा हबको निर्माणले प्रयोगकर्तालाई एकदमै कम लेटेन्सीमा इन्टरनेट उपभोग गर्ने अवसर दिनेछ । ह्वावेसँगको सहकार्यमा डिशहोमको मुख्य कार्यालयसँगै ठूला डेटा सेन्टर निर्माणको काम पनि चलिरहेको केसीले बताए ।

वाई–फाई सिक्सको लागि आफ्नो सेवा मात्रै बिक्री गरेको नभई ह्वावेले आफ्नो अनुभव समेत लगानी गरिरहेको ह्वावे नेपालका इन्टरप्राइज सेल्स निर्देशक महर्जन बताउँछन् । ‘हाम्रा ग्राहकले हामीमाथि गरेको लगानीको प्रतिफल पाउनु पर्छ,’ उनी भन्छन्,‘यसैका लागि नेपालमा कुनै समस्या देखिए हाम्रो कम्पनीको मुख्यालयको अनुसन्धान टिमसम्म पुर्‍याएर अनुसन्धान गरी समाधान दिने गरेका छौँ ।

यतिमात्रै नभएर कार्यालय भवन, बहुउपयोगी कक्षा कोठाहरू, खेल मैदान, हाई–इन्ड अफिस भवन, ब्याक्युट हलहरूलाई समेत हुनेगरी कम्पनीले विभिन्न वाई–फाई सिक्सको उत्पादन निर्माण गरेको छ ।

यस हिसाबले ह्वावेले इन्टरनेट सेवा प्रदायकलाई आफ्नो ग्राहककको माग अनुसार वाई–फाई सिक्सको प्रविधि उपलब्ध गराउने विकल्प दिएको महर्जन बताउँछन् । भन्छन्, ‘यसले सेवा प्रदायकलाई हरेक ग्राहक समेट्न सहयोग पुर्‍याउने छ ।’

के हो वाई–फाई सिक्स ?

वाई–फाई सिक्सलाई सहज रुपमा बुझ्नुपर्दा यो वाई-फाईको पछिल्लो प्रविधि हो । वाई–फाईको प्रविधिलाई पहिला पहिला विभिन्न अङ्क र अक्षरसहितको लामो नाम दिने गरिन्थ्यो ।

वाईफाईको प्रविधि अनुसार ८०२.११बी, ८०२.११ए, ८०२.११जी जस्ता नाम दिने गरिएकोमा विश्वभर वाई–फाई प्रविधिको अन्तरआवद्धताको लागि काम गर्ने वाई–फाई अलायन्सले यसको नाम फेरेर सजिलो बनायो । अहिले वाई–फाईका पछिल्ला प्रविधिलाई अङ्कको आधारमा बुझ्ने प्रचलन छ ।

सन् १९९९ मा सुरु भएको वाई-फाई प्रविधि (८०२.११बी) लाई वाई-फाई वान, सन् १९९९ मै तयार भएको अर्को वाई–फाई प्रविधि (८०२.११ए) लाई वाई–फाई टु, सन् २००३ मा सुरु भएको वाई–फाई प्रविधि (८०२.११जी) लाई वाई–वाई थ्री नाम दिइएको छ ।

त्यसैगरी सन् २००९ मा सुरु भएको वाई–फाई प्रविधि (८०२.११एन) लाई वाई–फाई फोर र सन् २०१४ यता प्रचलनमा आएको वाई–फाई प्रविधि (८०२.११एसी) लाई वाई–फाई फाइभ नाम दिइएको छ ।

वाई–फाई एलाइन्सले वाई–फाईको पछिल्लो प्रविधि ८०२.११ एएक्सलाई वाई–फाई सिक्स नाम दिएको छ । वाई–फाई सिक्स अघिल्ल्ला प्रविधिको तुलनामा धेरै डिभाइसमा राम्रो गतिको इन्टरनेटको प्रयोगको लागि उपयोगी छ ।

नेपालको लागि यो नयाँ प्रविधि भएतापनि विश्व बजारमा भने प्रचलित प्रविधि हो । आज विश्वका धेरै इन्टरनेट सेवाप्रदायकले यो प्रविधि आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराइरहेका छन् । बजारमा ह्वावे जस्ता धेरै कम्पनीले यो प्रविधिमा आधारित राउटर निर्माण गर्दै आएका छन् ।

तर, त्यसमा पनि प्रविधिका हिसाबले धेरै कुरा फरक पर्न जान्छ । किन भने हाल बजारमा उपलब्ध वाई–फाई फाइभ र वाई–फाई सिक्समा समान ब्यान्डको फ्रिक्वेन्सी प्रयोग हुने गर्छ । २.४ र ५ गिगाहर्ज (डुअल ब्याण्ड) मै यी राउटरले काम गर्छन् । तर, यसमा प्रयोग हुने फ्रिक्वेन्सीले भने यसलाई फरक बनाएको हुन्छ ।

विश्व बजारमा हेर्ने हो भने वाई–फाई फाइभ राउटर ८० मेगाहर्ज फ्रिक्वेन्सीमा आधारित छन् । जसले ८६७ एमबीपीएससम्मको एयर इन्टरफेस रेट प्रदान गर्छ । वाई–फाई सिक्समै पनि यो प्रविधि प्रयोग भएको छ ।

विश्वका कतिपय कम्पनीले उत्पादन गरेका वाई–फाई सिक्स राउटर पनि ८० मेगाहर्ज फ्रिक्वेन्सीमा आधारित रहेका छन् । जसले १८०० एमबीपीएस सम्मको एयर इन्टरफेस रेट प्रदान गर्छ ।

तर, डिशहोमले सञ्चालनमा ल्याएको ह्वावेको वाई–फाई सिक्स १६० मेगाहर्ज फ्रिक्वेन्सीमा आधारित छ । जसले ३००० एमबीपीएस सम्मको एयर इन्टरफेस रेट प्रदान गर्छ । जसले गर्दा प्रयोगकर्ताले सामान्य वाई–फाई सिक्सको तुलनामा दोब्बरभन्दा बढी गतिको इन्टरनेट स्पिड प्राप्त गर्न सक्छन् ।

वाई–फाई सिक्सको अर्को प्रमुख विशेषता भनेको अर्थोगनल फ्रिक्वेन्सी डिभिजन मल्टिपल एक्सेस (ओएफडीएमए) हो ।

यो प्रविधिले वायरलेस लोकल एरिया नेटवर्क (डब्लूएलएएन) च्यानललाई विभिन्न सहायक च्यानलमा विभाजित गरी च्यानल जुध्ने समस्या कम गर्नुका साथै नेटवर्कको प्रभावकारीता बढाउन र डाउनलोड तथा अपलोड स्पिडको लेटेन्सी कम गर्न भूमिका खेल्छ ।

साथै, वाई–फाई सिक्समा भएको क्वीएएम प्रविधले एउटै स्पेक्ट्रममा धेरै डेटा समावेश गरी वाई–फाई डिभाइसको थ्रुपुट बढाउने काम गर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२