close

अनलाइनबाटै पुराना र बिग्रेका फोनको भ्यालुएसन गरी एक्सचेन्जमा नयाँ अर्डर गर्न सकिने

टेकपाना टेकपाना

चैत १, २०७८ १२:२४

अनलाइनबाटै पुराना र बिग्रेका फोनको भ्यालुएसन गरी एक्सचेन्जमा नयाँ अर्डर गर्न सकिने

काठमाडौं । अब अनलाइनबाटै आफूसँग रहेको पुरानो फोनको मूल्याङ्कन गराएर साटफेरको रुपमा नयाँ फोन खरिद गर्न सकिने भएको छ । ‘अर्कोफोन डटकम’मार्फत जुनसुकै ब्रान्डका पुराना फोनहरू दिएर नयाँ सामसङ फोन खरिद गर्न सकिने भएको हो । 

गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको सामसङको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले चार वर्ष अघि अर्कोफोन डटकम सुरु गरेको थियो । जसको डेभलप तथा मार्केटिङको काम टेक १०१ नामक आईटी कम्पनीले गर्दै आएको छ ।

सुरुवाती चरणमा सामसङ ब्रान्डका नयाँ फोनसँग त्यही ब्रान्डका पुराना फोन मात्र साट्न सकिने सुविधा रहेको थियो । तर पछिल्लो समय जुनसुकै ब्रान्डका फोन दिएर नयाँ सामसङ स्मार्टफोन खरिद गर्न सकिने सुविधा छ । 

अर्कोफोन प्लेटफर्मको डेभलप यसरी गरिएको छ कि प्रयोगकर्ताले स्वयम् आफूसँग भएको पुरानो फोनको भ्यालुएसन (मूल्याङ्कन) अनलाइनबाटै गर्न सक्छन् । यदि तपाईँ अर्को फोनको वेबसाइटमा जानु भयो भने (यहाँ क्लिक गर्नुहोस्) ‘गेट स्टार्टेड’ बटनमा क्लिक गरेर अगाडि बढ्न सक्नुहुन्छ । 

त्यसपछि तपाईँले क्रमशः आफूसँग रहेको पुरानो फोनको ब्रान्ड र मोडेल छनौट गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यससँगै ‘अर्कोफोन’को एल्गोरिदमले तपाईँको फोनको मूल्याङ्कन गर्न थाल्छ ।

मोबाइल अन हुन्छ वा हुँदैन,  यसरी विभिन्न चरण, त्यसमा कुनै समस्या छ वा छैन, वारेन्टी छछैन, एक्सेसरिज तथा बिल, फोनको अवस्था सबै कुरा उल्लेख गरेपछि पुरानो फोनको अन्तिम मूल्याङ्कन देखा पर्छ । यदि तपाईँलाई फोनको मूल्याङ्कन चित्त बुझ्दो लाग्यो भने त्यसलाई सुनिश्चित गरी आफ्नो विवरण भर्न सक्नुहुन्छ ।

साथै मूल्याङ्कन रकम चित्त नबुझेको खन्डमा ‘काउन्टर अफर’ गर्न सकिने फिचर पनि यसमा छ । यो सबै प्रक्रिया पुरा गरिसकेपछि एउटा टोकन तयार हुन्छ । 

त्यसमा अगाडि बढ्दै जाँदा तपाईँले मूल्याङ्कन भएको रकमको आधारमा नयाँ स्मार्टफोन खरिद गर्न सक्नुहुन्छ । जसका लागि विभिन्न स्थानमा रहेका सामसङ प्लाजा सहित ३५ ओटा बिक्रेता तथा स्टोरलाई प्लेटफर्ममा जोडिएको छ ।

तर यसमा तपाईँले टोकन नम्बर सहित आफ्नो पुरानो स्मार्टफोन सम्बन्धित स्टोर तथा बिक्रेता कहाँ जानु पर्ने हुन्छ । यदि तपाईँले अनलाइन मूल्याङ्कन गर्ने क्रममा राखेको कुनै विवरण फरक परेको खण्डमा तपाईँको पुरानो फोनको मूल्याङ्कन रकम समेत तलमाथि पर्न सक्छ । 

अब भने सामसङ प्लाजाले पुरानो फोन लिएर स्टोर तथा बिक्रेतासम्म पुग्नै नपर्ने गरी आफ्नो सेवा अपग्रेड गर्न लागेको हो । त्यसो त सामसङ प्लाजाको वेबसाइटबाट अहिले पनि अनलाइन अर्डर गर्न सकिने सुविधा रहेको छ ।

अब अर्कोफोनको वेबसाइटबाट आफ्नो पुरानो मोबाइलको मूल्याङ्कन गराएर सामसङ प्लाजाबाट नयाँ स्मार्टफोनको लागि अनलाइन अर्डर गर्न सकिनेछ । टेक १०१ का संस्थापक तथा प्रबन्ध निर्देशक उज्ज्वल भन्डारीका अनुसार हाल दैनिक औसत १० ओटा पुराना फोनको मूल्याङ्कन हुने गरेको छ ।

‘अर्को फोनकै मोडेलमा हामीले पछिल्लो समय पुराना टेलिभिजनसँग साटेर नयाँ टेलिभिजन खरिद गर्न सकिने गरी अर्कोटिभी नामक छुट्टै प्लेटफर्म पनि बनाएका छौँ,’ उनले भने । 

सामसङ प्लाजाको ईकमर्स प्लेटफर्ममा अर्कोफोनको सिस्टम इन्टिग्रेट गराउने कार्य भइरहेको हिम इलेक्ट्रोनिक्सका उप प्रबन्धक अनिल श्रेष्ठले बताए ।

‘सामसङ प्लाजाको वेबसाइटमा रहेको एक्सचेञ्ज अप्सनबाट अर्कोफोनमा जान सकिनेछ,’ उनले भने, ‘त्यहाँबाट पुरानो फोनको भ्यालुएसन गराएर सामसङ प्लाजाको वेबसाइटबाट नयाँ सामसङ स्मार्टफोन अर्डर गर्न सकिनेछ । यस क्रममा नयाँ स्मार्टफोनको मूल्यबाट पुरानो फोनको भ्यालुएसन बराबरको रकम घट्छ ।’

श्रेष्ठका अनुसार डेलिभरी गर्ने क्रममा अर्कोफोनमार्फत भ्यालुएसन गराउँदा उल्लेख गरिएका विवरण यकिन गरिनेछ । फरक परेको खन्डमा डेलिभरीमा जाने व्यक्तिले अनलाइनबाटै  विवरण सच्याएर पुनः मूल्याङ्कन गर्नेछन् ।

ग्राहकलाई उक्त भ्यालुएसन रकम चित्त बुझेको खण्डमा पुरानो फोनसँग नयाँ स्मार्टफोन डेलिभरी दिइने श्रेष्ठले बताए ।  ‘अर्कोफोनको यो फिचर सामसङ प्लाजाको वेबसाइटमा राखेर अहिले परीक्षण गर्दैछौँ,’ उनले टेकपानासँग भने, ‘सम्भवतः अबको एक दुई सातामा लाइभ हुन्छ होला ।’

यति मात्र नभएर अर्को फोन र अर्कोटिभी सहितलाई समावेश गरेर अर्कोस्टोरको तयारी समेत चलिरहेको जानकारी श्रेष्ठले दिए ।

‘हिम इलेक्ट्रोनिक्स तथा सामसङ प्लाजामा रहेका सबै इलेक्ट्रोनिक सामग्रीलाई एक्सचेञ्जको रुपमा कसरी बिक्री गर्न सकिन्छ कि भनेर सोच्दै छौँ,’ उनले भने, ‘यसबाट ग्राहकले आफ्नो पुरानो इलेक्ट्रिक उपकरणको थोरै भए पनि मूल्य पाउन सकून्, त्यसलाई पुनः प्रयोगमा ल्याउन सकियोस् र विद्युतीय फोहोरमैलामा कमी आउन सकोस् भन्ने अवधारणा नै हो ।’

एक्सचेञ्जको रुपमा संकलन भएका पुराना फोन, टिभी तथा अन्य इलेक्ट्रोनिक उपकरणहरू सर्भिस सेन्टर तथा विभिन्न बिक्रेताहरूलाई उपलब्ध गराइने उप प्रबन्धक श्रेष्ठले बताए ।

‘एक्सचेञ्जमा आउने पुराना फोनहरू कुनै काम लाग्ने हुन्छन् त कुनै कामै नलाग्ने किसिमका हुन्छन्,’ उनले भने, ‘काम लाग्ने फोनहरू विभिन्न भेन्डरहरूले अफलाइनमै बिक्री गर्छन् । काम नलाग्ने फोनका केही पाटपुर्जाहरू उनीहरूले सर्भिसिङका क्रममा पनि प्रयोग गर्न सक्छन् । ’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३