काठमाडौं । कस्तो होला यदि तपाईंको कम्प्युटरले तपाईं नजिक हुनुहुन्न भन्ने थाहा पाएपछि तपाईंको नोटिफिकेसन दिँदैन भने ? कस्तो हुन्छ होला यदि तपाईंको टिभीले तपाईं नजिक नभएको थाहा पाउने बित्तिकै नेटफ्लिक्स पज (एकछिन रोक्नु) गर्दिन्छ, अनि तपाईं नजिक आउने बित्तिकै रोकिएको ठाउँबाटै सुरु हुन्छ ?
झट्ट सुन्दा यी कुरा अपत्यारिलाे जस्तो लाग्नसक्छ । अर्कोतिर यसका लागि कुनै क्यामेराले तपाईंको हरेक गतिविधि निगरानी गरिरहेको छ भन्ने सोचले तपाईंलाई त्रास पनि दिनसक्छ ।
तर तपाईं कहाँ हुनुहुन्छ र के गरिरहनु भएको छ भनी हेर्नका लागि यी प्रविधिले क्यामेरामा भर पर्नु पर्दैन भन्ने कुराले भने तपाईंको यो डरलाई केही कम गर्न सक्छ ।
वास्तवमा तपाईंको डिभाइसले तपाईंको शारीरिक हाउभाउ थाहा पाउनको लागि कुनै क्यामेरा नभई रडारको प्रयोग गर्दछ । र यो प्रविधिको प्रयोग गुगलले आफ्ना प्रयोगकर्ताका लागि गर्न लागेको छ ।
गुगलको ‘एड्भान्स्ड टेक्नोलोजी एन्ड प्राेजेक्टस् डिभिजन’ (एटीएपी) को टोलीले गत वर्षदेखि कम्प्युटरहरूले कसरी मान्छेका आवश्यकता वा मनशाय बुझेर त्यसका लागि उचित प्रतिक्रिया दिन रडार प्रयोग गर्न सक्छ भनेर अनुसन्धान गरिरहेको छ ।
गुगलले आफ्नो प्रयोगकर्ताको दैनिकीलाई सहज बनाउन आफ्ना ग्याजेटमा रडार प्रयोग गरेको यो पहिलो पटक भने होइन । सन् २०१५ मा पनि गुगलले ‘सोली’ नामक एक सेन्सर सार्वजनिक गरेको थियो, जसले मानिसको शारीरिक हाउभाउ पत्ता लगाउन रडारको विद्युत चुम्बकीयको तरंगहरू प्रयोग गर्थ्यो । यो पहिलो पटक गुगल पिक्सेल ४ मा प्रयोग भएको थियो ।
गुगल पिक्सेल ४ मा हातको इशाराले मोबाइल नछोई अलार्म बन्द गर्न अथवा गीत रोक्न/ बजाउन मिल्ने फिचर उपलब्ध गराइएको थियो ।
हालसालै पनि रडार सेन्सर दोस्रो पुस्ताको नेस्ट हब स्मार्ट डिस्प्लेभित्र इम्बेड गरिएको थियो, जसले डिभाइसको छेउमा भएको व्यक्ति सुतिरहेको छ वा कुनै गतिविधि गरिरहेको छ भनेर थाहा पाउन सक्छ । कुनै स्मार्टवाच बिना नै उक्त डिभाइसले व्यक्तिको निन्द्रा ट्रयाक गर्न सक्छ ।
सोही ‘सोली’ सेन्सर नै हाल भइरहेको अनुसन्धानमा प्रयोग भइरहेको छ । एटीएपीको निर्माणले मानिसको जीवनमा प्रविधिको उपस्थिति थप बढ्ने र यसले एउटा आमाले आफ्नो बालबालिकालाई गर्ने जस्तै गरि ख्याल गर्ने कम्पनीको विश्वास छ ।
जसरी तपाईंकाे आमाले तपाईलाई ढोकाबाट बाहिर निस्कनुअघि छाता समात्न सम्झाउनु हुन्छ, त्यसैगरी तपाईंको थर्मोस्ट्याटले पनि तपाईं निस्कनुअघि छाता बोक्न सम्झाउन सक्छ, अथवा तपाईंको टिभीले तपाईं सोफामा सुत्नुभएको थाहा पाएर आवाज स्वतः कम गर्न सक्छ ।