close

ह्याकरबाट सुरक्षित रहन मोबाइलमा आजै गर्नुहोस् यी ६ काम

टेकपाना टेकपाना

चैत २६, २०७८ १७:५६

ह्याकरबाट सुरक्षित रहन मोबाइलमा आजै गर्नुहोस् यी ६ काम

काठमाडाैं । इन्टरनेट विस्तारले मोबाइल फोनको प्रयोग झनै व्यापक बन्दैछ । सूचना आदान-प्रदानदेखि  रकम काराेबारसम्मका काम माेबाइलबाटै हुने गरेकाे छ ।

यस्तोमा केही मानिस मोबाइल ह्याक गरेर प्रविधिको गलत फाइदा उठाइरहेका छन् । यस्तो गलत प्रविधि मौलाउनुमा प्रयोगकर्ताका केही असावधानीले पनि मद्दत गरिरहेका हुन्छन् ।

आज हामी तपाईंले कसरी आफ्नो मोबाइललाई सुरक्षित गर्न सक्नुहुन्छ, अथवा के के गरे तपाईंको मोबाइल तथा अकाउन्ट ह्याक हुनबाट जोगिन्छ भन्ने कुराको जानकारी दिँदैछौँ ।

१. अपरेटिङ सिस्टमलाई अप टु डेट राख्नुहोस्ः   

मोबाइललाई सुरक्षित राख्ने सबैभन्दा महत्वपूर्ण कुरामध्ये अपरेटिङ सिस्टम पनि एक हो । अपरेटिङ सिस्टम अपडेट गर्दा सुरक्षा कमजोरीहरू प्याच गर्न र बगहरू समाधान गर्न मद्दत मिल्छ ।

अपरेटिङ सिस्टम अपडेट नगर्दा दिनहुँ आइरहेका नयाँ नयाँ मोबाइल भाइरस तथा बगहरुबाट मोबाइल ग्रसित हुन्छ । यसै क्रममा मोबाइलमा रहेका व्यक्तिगत विवरण तथा मोबाइल बैंकिङका पासवर्ड चोरी हुने सम्भावना प्रबल हुन्छ ।

त्यसैले मोबाइललाई अप टु डेट राख्दा पनि तपाईंको ह्याक हुने तथा पासवर्ड चोरी हुने सम्भावनाबाट टाढा रहन सकिन्छ ।

२. टु फ्याक्टर अथेन्टिकेशन अन राख्नुहोस्ः

टु फ्याक्टर अथेन्टिकेसनले तपाईको मोबाइलमा सुरक्षाको दोस्रो लेयर अन गरिदिन्छ, जसले गर्दा यदि कसैले तपाईंको अकाउन्टको पहिलो सुरक्षा लेयर पार गरे पनि तपाईंको अकाउन्टमा पहुँच बनाउन सक्दैन ।

अहिले मोबाइल बैंकिङ ,गुगल, फेसबुक तथा वालेटहरुमा पनि टु फ्याक्टर अथेन्टिकेसन आउन थालिसकेका छन् । यदि तपाईँले अहिलेसम्म टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुभएको छैन भने अन गर्नुहोस् । यसले तपाईंको अकाउन्ट ह्याक हुनबाट जोगाउन सक्छ ।

३. पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस्ः

अहिले धेरैजसो मानिसहरुको प्रमुख समस्या भनेको पासवर्ड बिर्सनु पनि हो । यदि तपाई पनि यस्तै समस्याबाट गुज्रिरहनु भएको छ भने पासवर्ड म्यानेजर प्रयोग गर्न सक्नुहुनेछ ।

पासवर्ड म्यानेजरले तपाईँले छुट्टाछुट्टै अकाउन्टको छुट्टा छुट्टै  पासवर्ड पनि सुरक्षित तरिकाले सेभ गरेर राख्न सक्छ ।

४. एन्ड्रोइडलाई इन्क्रिप्ट गर्नुहोस्ः

तपाईंको डेटालाई सुरक्षित राख्न इन्क्रिप्सनले महत्वपूर्ण भूमिका खेल्न सक्छ । डेटा इन्क्रिप्सन यस्तो प्रक्रिया हो, जसमा कसैले पनि तपाईंले इन्क्रिप्ट गरेको फाइल कोड, फिङ्गर प्रिन्ट तथा प्याटर्न बिना पढ्न तथा हेर्न सक्दैन ।

५. आवश्यकताभन्दा धेरै अनुमति नदिनुहोस्ः

इन्टरनेटमा यस्ता धेरै एप छन् ,जसले आवश्यकता भन्दा धेरै अनुमति प्रयोगकर्ता सँग मागिरहेका हुन्छन् । यस्ता एपदेखि तपाईं सतर्क हुनुहोस् । आवश्यकता नभएका अनुमति दिँदा तपाईंको फोन रेकर्डिङ हुनसक्छ । साथै तपाईंमाथि तपाईंकै मोबाइल फोन प्रयोग गरेर कसैले निगरानी पनि गरिरहेको हुनसक्छ ।

६. मोबाइललाई रिसेट गर्नुहोस्ः

कहिले काहिँ मोबाइलमा केही गर्दा पनि समाधान नहुने समस्या आउन सक्छन् । यस्तो समस्या तपाईं मोबाइल ह्याक भएर वा मोबाइलमा भाइरस आएर पनि हुन सक्छ । यस्तोमा मोबाइलको सबै कुरा हटाएर नयाँ सुरु गर्दा नै उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५