close

भित्तेपात्रो छाप्न अनिवार्य स्वीकृति, डिजिटल पात्रोका लागि छैन नियम

अर्पना आले मगर अर्पना आले मगर

बैशाख ४, २०७९ १४:७

भित्तेपात्रो छाप्न अनिवार्य स्वीकृति, डिजिटल पात्रोका लागि छैन नियम

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बजारमा पाइने सबै प्रकारको पात्रोमा एकरुपता ल्याउन भन्दै पात्रो छाप्नुअघि समितिको स्वीकृति अनिवार्य गरेकाे छ ।

समितिले जारी गरेको तिथि, मितिसहितको पात्रो छाप्नुपर्ने व्यवस्था कार्यान्व्यनमा आएपछि स्वीकृति नलिई छाप्नेलाई कारबाही सुरू भएकाे छ । यस्तोमा डिजिटल पात्रोको लागि के गर्ने विषय भने अझै नै अन्यौल छ ।

बजारमा उपलब्ध भौतिक तथा अनलाइन पात्रोको मिति समान नभएपछि समितिले स्वीकृति लिनुपर्ने व्यवस्थालाई अनिवार्य गराएको हो । हाल यो नियम भित्तेपात्रो लगायत अन्य भौतिक पात्रोमा मात्र लागू छ ।

डिजिटल पात्रोका लागि भने समिति आन्तिरक छलफलमा नै रहेको समितिले जनाएको छ । अहिले धेरैजसो मानिसहरूको दैनिक आवश्यकताका कुराहरू मोबाइलमा नै हुन्छन् त्यस्तै क्यालेन्डर पनि मोबाइलमा नै हेर्ने चलन बढिसकेको छ ।

यद्यपि डिजिटल क्यालेन्डरको शुद्धताको लागि भने समितिले कुनै ठोस निर्णय लिइसकेको छैन ।

‘पात्रोको लागि समितिको स्वीकृति अनिवार्य भन्ने सूचना आउने वित्तिकै हामी पनि समिति पुगेका थियौं । तर समितिले अहिलेसम्म डिजिटल पात्रोको लागि कुनै निर्णय नै बनेको छैन भनेपछि हामी निवेदन दिएर फर्कियौं, ’ नेपालीपात्रोका कार्यकारी अध्यक्ष सन्तोष देवकोटाले भने ।

अहिलेसम्म निवेदनको कुनै जवाफ पनि नआएको उनले सुनाए । डिजिटल पात्रोलाई कसरी नियमन गर्ने भन्ने विषयमा समितिले अहिलेसम्म कुनै निर्णय नै नगरेको उनको भनाइ छ ।

‘पात्रोमा कुनै त्रुटि नहोस् भन्ने हाम्रो पनि चाहना हो । तर समितिले आफैले यसबारेमा कुनै कदम लिएको छैन,’ देवकोटाले भने । यद्यपि समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले भने अनलाइन पात्रोलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आन्तरिक छलफल नै भइरहेको बताएका छन् ।

‘डिजिटलको विषयमा अहिले नै कुनै ठोस निर्णय भने लिएका छैनौं । यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा भने हामी आन्तरिक छलफलमा नै छौं,’ उनले भने, ‘अनलाइन माध्यमबाट क्यालेन्डर प्रकाशित गर्ने संस्थाहरूको हकमा भने कस्तो किसिमको कदम चाल्ने भन्ने विषयमा छलफल गरि छिट्टै नै निर्णय लिन्छौँ,’ उनले थपे ।

हाम्रोपात्रोकी प्रबन्ध निर्देशक सुदिना गौतमले आफूहरूलाई यस विषयमा समाचारहरूबाट मात्र थाहा भएको र समितिको निर्णयको पर्खाइमा रहेको प्रतिक्रिया दिइन् ।

‘हामीले अहिले पनि पात्रो त समितिले सार्वजनिक गरेको पात्रोलाई नै हेरेर तयार गर्ने गर्छौं । यदि समितिले स्वीकृतिका लागि कुनै निर्णय लिन्छ भने हामी त्यसको लागि पनि तयार छौं,’ उनले भनिन् ।

अहिले अनलाइन पात्रोहरूले ज्योतिषीको सम्पर्कमा अथवा समितिकै पात्रोलाई हेरेर अनलाइनमा पात्रो अपडेट गरिरहेका छन् ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२