नाम चलेका युट्युव च्यानल, फेसबुक पेज ह्याक भएजस्तै कुनै दिन हाम्रा अकाउन्ट पनि ह्याक हुनसक्छन् । त्यसैले बेलैमा सतर्कता अपनाउन आवश्यक छ ।
युट्युव कसरी ह्याक हुन्छन् वा ह्याक भइसकेको च्यानल फिर्ता ल्याउन के-के गर्नुपर्छ भन्ने जान्न यो लेख पढ्नुहोला । आज हामी विशेषतः फेसबुक वा फेसबुक पेज कसरी ह्याक हुन्छन् र तिनलाई फिर्ता ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौँ ।
सबैभन्दा पहिले फेसबुक वा फेसबुक पेज कसरी ह्याक हुन्छ बन्ने विषयमा जानौं । ह्याकरको निशानामा प्रायः धेरै फलोअर वा धेरै परिचित भएका फेसबुक पेजहरू पर्ने गर्छन् ।
यदि तपाईं कुनै फेसबुक पेज चलाउनु हुन्छ भने सायद तपाईंको पेजको इन्बक्समा कुनै न कुनै व्याक्तिले विज्ञापनको प्रलोभन देखाएका नै छैन होला । यदि छैन भने बुझ्नुस्, ह्याकरहरू लाइक र फलोअर धेरै हुने पेजहरूलाई आफ्नो कब्जामा लिन हदैसम्मका प्रयास गर्छन् ।
उनीहरू आफूले निशानामा पारेको पेजको इन्बक्समा विज्ञापनका प्रलोभन देखाउँछन् । उनीहरूले प्रायः कुनै नामी कम्पनी वा ब्राण्डको नाम लिएर तपाईंको पेजमा एड्मिनको पहुँच माग्छन् । वा तपाईंले फेसबुकमा लिङ्क गरेको ईमेल एड्रेस माग्छन् ।
यदि तपाईंले सो ईमेल उपलब्ध गराउनुभयो भने उनीहरूले तपाईंको ईमेलमा, दिनमा हजारौं डलर बैंकमा पठाइदिने भन्दै मेल पठाउँछन् । यदि तपाईं राजी हुनुहुन्छ भने यसमा साइनअप गर्नुहोस् भन्दै लिङ्क पठाउँछन् ।
यदि तपाईंले सोही आश्वसनलाई विश्वास गरेर साइनअप गर्नुभयो भने बुझ्नुस् तपाईंको पेज ह्याकरको कब्जामा पुग्यो । कतिपय अवस्थामा स्थानीय इन्टरनेट सेवा प्रदायक जस्तै एनटीसी वा एनसेलको नक्कली पेज बनाई पोस्टमा फ्री डेटा उपलब्ध गराउने आश्वासन दिन्छन् ।
उपलब्ध फ्री डेटा पाउन कुनै लिङ्कमा क्लिक गर्नुपर्ने भन्दै आफैंले बनाएका लिंक पठाउँछन् । यदि हामीले त्यहाँ गएर आफ्नो फेसबुक वा जिमेल आइडीबाट साइनअप गर्यौँ भने बुझ्नुस् तपाईंको पासवर्ड उनीहरूको सर्भरमा पुगयो ।
त्यसैले ह्याक भइसकेपछि कसरी ल्याउने भन्ने सोच्नुभन्दा पनि पहिले नै सचेत कसरी हुने भन्ने कुरा ध्यानमा राख्नुपर्ने हुन्छ । फेसबुक अकाउन्ट वा पेज ह्याक हुनबाट बचाउन फेसबुकले धेरै प्राइभेसी फिचरहरू ल्याएको छ । आफ्नो फेसबुक ह्याक हुनबाट बचाउन निम्नानुसारका कुरामा ध्यान दिन आवश्यक छ ।
१. टु-फ्याकटर अथेन्टिकेसन प्रयाेग गर्नुहोस्
तपाईं आफ्नो फेसबुकको सेटिङ एन्ड प्राइभेसीमा गएर टु-फ्याटर अथेन्टिकेसन इनेबल गर्न सक्नुहुन्छ । यसले गर्दा यदि तपाईंको आईडी अन्त कतै लगइन गर्नपर्यो भने तपाईंको फोनमा सिममार्फत कोड आउँछ ।
सो कोड उपलब्ध गराएको खण्डमा मात्र अन्य व्यक्तिले तपाईंको अकाउन्ट लगइन गर्नसक्छ । वा तपाईंले अन्य डिभाइस वा सोही डिभाइसका विभिन्न ब्राउजरमा लगईन गर्दा सोही प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।
२. अथोराइज्ड लगईन चेक गर्नुहोस्
तपाईंले आफ्नो फेसबुक अकाउन्टको सेटिङमा गएर अथोराइज्ड लगईन बेला बेला जाँच गरिरहन पर्ने हुन्छ । यसले गर्दा तपाईंको अकाउन्ट कुन कुन डिभाइस वा ब्राउजरमा लगइन छ भन्ने कुरा थाहा हुन्छ । त्यसो गर्दा तपाईंले अनावश्यक रूपमा कुनै ब्राउजर वा डिभाइसमा लगईन गरेको पहिचान गरी हटाउन सकिन्छ ।
३. पेज रोल जोसुकैलाई नदिनुहोस्
तपाईंको फेसबुक पेज ह्याक हुनुमा तपाईंबाहेक त्यसमा जोडिएका अन्य व्यक्तिको लापरवाही पनि रहेको हुनसक्छ । त्यसैले कसैलाई आफ्नो फेसबुक पेजमा एड्मिन रोल दिनुअघि धेरै कुरा विचार गरेर दिनुपर्ने हुन्छ ।
उनीहरूलाई एड्मिन बनाइसकेपछि उनीहरूको अकाउन्टमा टु-फ्याक्टर अथेन्टिकेसन सुचारू गर्न लगाउनुपर्ने हुन्छ । यदि अन्य कुनै रोल (एडमिन, मोडेरेटर वा एडिटर) दिनुभएको छ भने उनीहरूलाई फेसबुक प्रयोग गर्दा सचेत हुन लगाउनुपर्छ ।
एडिटरको रोल दिनुभएको छ भने उसको अकाउन्ट ह्याक भएको खण्डमा ह्याकरले अनावश्यक पोस्ट हालेर पेज फेसबुकद्वारा प्रतिबन्ध लगाइदिन सक्छ ।
४. आफ्नो फेसबुक अकाउन्ट वा पेजको ख्याल आफैंले राख्नुहाेस्
फेसबुक अकाउन्ट कत्तिको सुरक्षित छ भन्ने कुरामा जिम्मेवार तपाईं स्वयं हुनुहुन्छ । त्यसैले फेसबुक प्रयोग गरिरहँदा धेरै कुरामा ध्यान दिन आवश्यक छ ।
विशेषतः कुनै साइटमा प्रवेश गर्नपूर्व तपाईंको फेसबुक अकाउन्टबाट साइनअप गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा त्यो साइट कत्तिको भरपर्दो भन्ने कुरा ख्याल राख्नुपर्ने हुन्छ । यसका लागि तपाईंले आफ्नो पेजका लागि एउटा अकाउन्ट र आफ्नो व्यक्तिगत परियोजनका लागि एउटा छुट्टै बनाएर प्रयोग गर्नुपर्ने हुन्छ ।
तपाईंले यति धेरै सुरक्षा अपनाएको खण्डमा फेसबुक अकाउन्ट ह्याक हुने सम्भावना निकै कम हुन्छ । यदि यी प्रक्रिया अपनाउनु भएको छैन र फेसबुक पेज ह्याक भयो भने त्यलाई फिर्ता पाउन असम्भव नै हुन्छ ।
तपाईंलाई ह्याकरले पेजको एड्मिनबाट मात्र हटाएको छ भने तपाईंले आफ्नो बिजनेस पेजबाट सो पेज कसको नियन्त्रणमा छ भन्ने जानकरी पाउन सक्नुहुन्छ । साथै सो व्यक्तिलाई पेजको रोलबाट हटाउन पनि सक्नुहुनेछ ।
यदि तपाईंको फेसबुक अकाउन्ट वा पेज फेसबुकबाट आधिकारिक (भेरिफाइड) प्रमाणित भइसकेको छ भने त्यस्तो अवस्थामा केही प्रक्रिया छन् । त्यसका लागि फेसबुकको ‘हेल्प सेन्टर’ मा लाइभ च्याट गरेर बुझ्न वा आफ्ना आधिकारिक विवरण पेस गरेर केही दिनमा पेज फिर्ता ल्याउन सक्नुहुन्छ ।