काठमाडौं । हामी दिनहुँजसो फेसबुक मेसेन्जर प्रयोग गरिरहेका हुन्छौं । त्यसमा अनेकौँ फिचरहरू छन् । हामीलाई त्यसमध्ये केही फिचर थाहा नहुन सक्छ । आज हामी फेसबुक मेसेन्जरमा भएको ‘साइलेन्ट’ लगायत अन्य केही फिचरबारे चर्चा गर्दैछौँ ।
सामाजिक सञ्जाल फेसबुक जति परिचित छ, त्यति नै त्यसको मेसेजिङ एप मेसेन्जर पनि लोकप्रिय छ । समयसमयमा आउने अपडेटसँगै यसमा नयाँ-नयाँ फिचरहरू थपिएका हुन्छन् । कतिपय अवस्थामा नयाँ फिचर आइसके पनि हामी अनविज्ञ हुन्छौँ ।
कतिपय यस्ता महत्त्वपूर्ण फिचरहरू पनि हुन्छन्, जो हामीलाई निकै उपयोगी हुन सक्छन् । एपमा हुने स-साना त्यस्ता फिचरले हाम्रो शालिनता र संवेदनशीलता समेत देखाउन सक्छन् । त्यस्तै उपयोगी फिचरमध्येको एक हो, मेसेन्जरको ‘साइलेन्ट’ फिचर ।
यसले गर्दा मेसेज पाउने व्यक्तिको मोबाइल वा कम्प्युटरमा मेसेन्जरमा मेसेज त आउँछ, तर त्यसको नोटिफिकेसन भने जाँदैन । नोटिफिकेसन नै नजाने फिचर कसरी उपयोगी हुनसक्छ भन्ने पनि लाग्न सक्छ । तर, यसलाई गहिरिएर हेर्ने हो भने यो निकै उपयोगी सावित हुन सक्छ ।
यदि तपाईँले केही कुरा रातिको समयमा सम्झिनुभयो र अर्को व्यक्तिलाई सुनाउन चाहनुभयो, अनि रातको समयमा मेसेन्जरको नोटिफिकेसनको आवाजले मान्छेको निन्द्रा बिथोलिन सक्छ ।
रातमै मेसेज किन पठाउने, कतै लेखेर बिहान पठाउँदा पनि भयो भन्ने सोच आउन सक्छ । के थाहा बिहान पठाउँदा त्यो कुराले महत्त्व नपाउन सक्छ । परिस्थिति जस्तो पनि आइदिन सक्छ ।
रातमै पठाउँदा पनि पाउने व्यक्तिको फोनमा नोटिफिकेसन अन छ भने, उ लगायत उसँग भएका अन्य मान्छेलाई ‘डिस्टर्ब’ हुन सक्छ । साथै रातिराति मेसेज गर्ने को हो ? भन्ने प्रश्नको उसले सामना गर्नुपर्ने पनि हुन सक्छ ।
यतिमात्र नभएर कहिलेकाहिँ केही सीमित मान्छेहरूबीच छलफल चलिरहँदा, त्यही छलफलमा सहभागी कोही अर्को व्यक्तिलाई त्यो छलफलको विषयमा गोप्य तवरले केही कुरा भन्नुपर्ने हुन सक्छ । उसले फोन प्रयोग गरिरहेको बेला नोटिफिकेसन बज्यो भने छलफलमा सहभागी अरूले सहजै अनुमान गर्न सक्छन् ।
त्यसो नहोस् भन्नका लागि पनि साइलेन्ट फिचर निकै उपयोगी हुन सक्छ । कतिपयको बानी अन्य व्यक्तिको अनुमति बिना नै मेसेन्जरमा अडियो वा भिडिओ कल गरिदिने किसिमको पनि हुन्छ । त्यसले गर्दा कल प्राप्त गर्ने व्यक्तिले असहज अनुभव गरेर कल अस्वीकार गरिदिने गर्दछन् ।
त्यसरी मेसेज पठाउनका लागि अनुमति लिइरहन त सकिँदैन । तर, सबैभन्दा पहिले उ कस्तो ठाउँमा छ वा मेसेन्जरको नोटिफिकेसनले कुनै असर गर्छ वा गर्दैन, त्यो चाहिँ ख्याल राख्न सकिन्छ । त्यसका लागि तपाईँले पहिलो मेसेज पठाउँदा साइलेन्ट फिचर प्रयोग गरेर अर्को व्यक्तिको अवस्था बुझ्न सक्नु हुन्छ ।
त्यसपछि मेसेज गर्नुभयो भने त्यस्तो व्यक्तिमा तपाईंको बारेमा राम्रो छवि बन्न सक्छ । यसबाहेक तपाईँलाई धेरैपछि बिना काम कुनै व्यक्तिलाई मेसेज पठाउँन मन लाग्यो । तर, बोल्ने प्रसङ्ग पाउनु भएन ।
त्यस्तोमा यही साइलेन्ट फिचरलाई लिएर कुरा सुरु गर्न पनि सक्नुहुन्छ । कुरा गर्न चाहेको व्यक्तिलाई यो फिचरको बारेमा जानकारी दिएपछि आफूलाई लागेका कुरा गर्न सक्नुहुन्छ ।
त्यसैले कसैसँग मेसेन्जरमा च्याट गर्ने बाहना चाहिएको छ भने यो फिचरको सहयोग लिन सक्नुहुन्छ । (यो चाहिँ ठट्टामा…)
कसरी प्रयोग गर्ने मेसेन्जरको साइलेन्ट फिचर ?
-यसका लागि तपाईँ चाहेको व्यक्तिको नाम मेसेन्जरमा सर्च गरेर च्याट बक्सभित्र प्रवेश गर्नुहोस् । त्यसपछि टेक्स्ट टाइप गर्ने ठाउँमा गएर ‘/’ (स्ल्यास) टाइप गर्नुहोस् ।
– ‘/’ टाइप गरिसकेपछि, त्यहाँ सबैभन्दा माथि ‘Silent’ (साइलेन्ट) लेखिएको अप्सन देखिन्छ । त्यसमा ट्याप गर्नुहोस् ।
-अब आफूले चाहेको मेसेज टाइप गरेर पठाउनुहोस् । याद गर्नुहोस्, यस्तो मेसेज पाउने व्यक्तिको मेसेन्जरमा ‘/Silent’ पनि देखिन्छ । उदाहरणका लगि यदि तपाईँले कसैलाई ‘तिमी कता हराएको आजभोलि?’ भन्दै साइलेन्ट फिचर प्रयोग गरेर मेसेज पठाउनु भयो भने त्यो मेसेज पाउने व्यक्तिले ‘/silent तिमी कता हराको आजभोलि?’ मेसेज पाउँछ ।
-त्यस्तै तपाईंले च्याटबक्समा स्ल्यास टाइप गर्नुभयो भने अन्य विभिन्न अप्सन देखिन्छन् । जस्तै दोस्रोमा श्रग (एउटा ईमोजीलाई संकेतमा पठाउन), तेस्रोमा रहेको टेबलफ्लिकको अप्सनबाट उल्टो टेबलको आइकन पठाउन र अन्तिमको अप्सनबाट थिम परिवर्तन गर्न सकिन्छ ।