close

स्याटलाइट नेटवर्कमा मोबाइल चलाउने सुविधा दिँदै स्पेसएक्स र टी-मोबाइल

टेकपाना टेकपाना

भदौ ११, २०७९ ९:६

स्याटलाइट नेटवर्कमा मोबाइल चलाउने सुविधा दिँदै स्पेसएक्स र टी-मोबाइल

काठमाडौं । अमेरिकाको वायरलेस नेटवर्क सञ्चालक कम्पनी टी-मोबाइल यूएस इन्कले अमेरिकाका मोबाइल प्रयोगकर्तालाई स्याटलाइट सेवा दिन एलन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको छ ।

कम्पनीले स्पेसएक्सको स्टारलिंक स्याटलाइटहरूबाट मोबाइल चलाउन मिल्ने सेवा प्रदान गर्ने तयारी गरिरहेको रोयटर्समा उल्लेख छ । 

यो योजना कार्यन्वयन भएपछि प्रयोगकर्तालाई मेसेज तथा तस्वीर पठाउन कुनै सेल टावरको आवश्यकता पर्नेछैन ।

स्याटलाइटको सहयोगमा प्रयोगकर्ताले सहजै मेसेज पठाउन सक्नेछन् । मोबाइल नेटवर्क नभएको ठाउँ, ग्रामीण क्षेत्रमा तथा कुनै आकस्मिक समयमा स्याटलाइटहरूबाट मोबाइल प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

बिहीबार आयोजना भएको कार्यक्रममा बोल्दै एलन मस्कले स्टारलिंकको स्याटलाइटले टी-मोबाइलको मिड-ब्यान्ड स्पेक्ट्रम प्रयोग गरेर नयाँ नेटवर्क निर्माण गर्ने बताएका छन् ।

अर्को वर्षदेखि सुरु हुने भनिएको स्याटलाइट सेवाको बेटा भर्सन टी-मोबाइलका प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने बताइएको छ । 

सन् २०१९ देखि सुरु गरेर आजको दिनसम्म स्पेसएक्सले करिब ३,००० स्टारलिंक स्याटलाइट पृथ्वीको तल्लो कक्षमा पठाइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३