close

अश्लीलता फैलाएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउन माग

टेकपाना टेकपाना

भदौ १२, २०७९ १९:३३

अश्लीलता फैलाएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउन माग

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेकाे छ । समाजमा नकारात्मक असर पुर्‍याएकाे भन्दै भन्दै तराईका केही जिल्लाका युवा समूहले टिकटक प्रतिबन्धकाे माग राखेका हुन् ।

‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएकाे पाइएकाे छ । आज (आइतबार) पनि रौतहटबाट केही युवाले याे संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् ।

साे समितिका रौतहट संयोजक सचिन पटेलसहितका युवाले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र बुझाएकाे जिल्ला प्रशासन कार्यलय राैतहटका सूचना अधिकारी मणिभुषण शाहले जानकारी दिए ।

“टिकटकमा अश्लीलता फैलियो, यसलाई प्रतिबन्ध लगाउनुपर्छ भन्दै केही साथीहरू ज्ञापनपत्र लिएर आउनु भएको थियो,’’ उनले टेकपानासँग भने, ‘’हामीमार्फत उहाँहरूले सरकारको ध्यानाकर्षण गराउनु भएको हाे ।’’

संघर्ष समितिले तराईंका विभिन्न जिल्लामा समूह नै बनाएर टिकटक बन्द गर्नुपर्ने माग राखिरहेका छन् । हाल राैतहटसहित महाेत्तरी, सिरहा, सप्तरी, बारा, सर्लाही र पर्साबाट संयोजक चयन गरी ज्ञापनपत्र बुझाउने कार्य भएकाे बताइएकाे छ ।

टिकटक बन्द संघर्ष समिति सिरहाका संयोजक पंकज शर्मा समाजमा टिकटकले अश्लीलता फैलाएकाे भन्दै बन्द गर्नुपर्ने धारणा राख्छन् ।

“टिकटक बनाउनेहरूले अश्लीलता फैलाइरहेका छन्,” उनले भने, “उनीहरूले गर्दा समाजमा नकारात्मक असर पुगेकाे छ ।”  

संघर्ष समितिमार्फत जिल्ला प्रशासन कार्यालय महोत्तरीमा शुक्रबार ज्ञापनपत्र बुझाएकाे पाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले भने, “सामाजिक सञ्जालको सकारात्मक तथा नकारात्मक दुवै पक्ष हुन्छन् । उहाँहरू नकारात्मक पक्ष न्यूनीकरण गर्ने भन्दै ज्ञापनपत्र ल्याएर आउनुभएको थियो । हाम्रो ध्यानाकर्षण भएको छ ।”

टिकटक बन्द संघर्ष समितिका सदस्यहरूले टिकटक प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै विभिन्न ठाउँमा र्‍यालीसमेत गरेकाे पाइएकाे छ ।

साथै उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा अश्लील सामग्री राख्ने प्रयोगकर्ताको अकाउन्ट रिपोर्ट गर्ने अभियान पनि थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३