काठमाडौं । गत बुधबार आईफोन १४ सिरिजका स्मार्टफोन र एप्पल ८ सिरिजका स्मार्टवाच सार्वजनिक गरेसँगै आज कम्पनीले नयाँ सफ्टवेयर अपडेट पनि सार्वजनिक गरेकाे छ ।
कम्पनीले आज आईफोनको लागि आईओएस १६ र एप्पल वाचको लागि वाचओएस ९ सार्वजनिक गरेकाे हाे । यो अपडेटले लकस्क्रिन, पासवर्ड, नोटिफिकेसन लगायत वाचफेसहरूमा केही नयाँ परिवर्तन ल्याइएकाे छ ।
आईफोन ८ भन्दा माथिका सबै सिरिजका आईफोनहरूमा ५ जीबी साइजकाे आईओएस १६ अपडेट प्राप्त हुनेछ । यस्तै एप्पलवाचको सिरिज ४ देखि माथिको वाचमा वाचओएस ९ सपोर्ट गर्नेछ ।
के के छ आईओएस १६ मा नयाँ ?
नयाँ लकस्क्रिन डिजाइन
आईओएस १६ को लकस्क्रिनमा यो पटक धेरै परिवर्तन गरिएको छ । डिस्प्लेमा आउने नोटिफिकेसनदेखि लिएर लकस्क्रिनमा आफू अनुकुल धेरै परिवर्तन गर्न सकिने फिचर छ ।
अब लकस्क्रिनमा डिफ्लट रुपमा नै मिति, समय र विजेटहरू देख्न सकिनेछ भने वालपेपरमा थ्रिडी वालपेपरहरू पनि प्रयोग गर्न सकिनेछ । यस्तै मिति तथा समयमा आफ्नो इच्छा अनुसार अक्षर र रंग परिवर्तन गर्न सकिनेछ ।
यस्तै गरी फरक फरक लकस्क्रिन पनि प्रयोग गर्न सकिनेछ । जस्तो कि आफ्नो कामको लागि र व्यक्तिगत समयको लागि फरकफरक लकस्क्रिन प्रयोग गर्न सकिनेछ ।
यस्तै आफ्नो इच्छाअनुसार कुनै मेसेज ब्लक सिमित समयको लागि ब्लक पनि गर्न सकिन्छ । जस्तो कि कामको समय सकेपछिको समयमा कार्यालयको कुनै पनि मेसेज लकस्क्रिन नदेखिने पनि बनाउन सकिन्छ ।
पासकी
प्रयोगकर्ताले आफ्नो आईफोनमा सेभ गरेको फेसलक अथवा फिंगरप्रिन्ट लाई अन्य वेबसाइट, एप अथवा अन्य डिजिटल सेवामा पनि जोड्न सक्नेछन् ।
यो पासकी एप्पल बाहेकका अन्य डिभाइसमा पनि लागू हुनेछ । स्मार्टटिभीहरूमा पनि यो प्रयोग गर्न सकिनेछ । यो पासकिलाई आफ्नो आईक्लाउडमा पनि सुरक्षित राख्न सकिनेछ ।
तस्वीरमा अनावश्यक वस्तु हटाउने
नयाँ आईओएस १६ सँगै फोटोजमा भएका तस्बिरहरू अनावश्यक बस्तुहरु हटाउन सकिनेछ अथवा ब्याकग्राउन्ड पनि हटाउन सकिनेछ । अथवा आफूलाई मात्र चाहेको वस्तुलाई कपि गरेर अर्को एपमा लगि एडिट पनि गर्न सकिनेछ ।
यी फिचर लगायत यसमा अन्य फिचरहरू पनि आउँदैछन् । जस्तो कि मेलमार्फत पठाइएको ईमेल पनि पठाउने समय भन्दाअगाडि नै शेड्युल गर्न सकिनेछ भने पठाउन नपरेको खण्डमा हटाउन सकिनेछ ।
त्यसैगरी अब आईमेसेजबाट पठाएको मेसेजमा इडिट अथवा अनसेन्ड पनि गर्न सकिनेछ भने कुनै आईमेसेजलाई अनरिड अथवा नपढिएको भनेर मार्क पनि गर्न मिल्नेछ । शेयरप्ले फिचर अब फेसटाइममा मात्र नभई आईमेसेजमा पनि प्रयोग गर्न सकिनेछ ।
आईओएस १६ को अपडेटसँगै अब लाइभ टेक्स्ट फिचर फोटोमा मात्र नभई भिडिओमा पनि प्रयोग गर्न सकिनेछ । त्यसैगरी यसरी कपी गरिएको टेक्स्टलाई अर्को भाषामा ट्रान्सलेट पनि गर्न सकिनेछ ।
एप्पल म्यापमा पनि नयाँ लोकेसनहरू थप गरिएको छ भने एप्पल न्युजमा आफ्नो रुचिअनुसारको विषयगत समाचार हेर्न तथा पढ्न सकिनेछ ।
त्यसैगरी अब आफ्नो फोटो तथा भिडिओको लाइब्रेरी अन्य प्रयोगकर्ताहरूसँग पनि शेयर गर्न सकिनेछ ।
कुन कुन माेडेलमा उपलब्ध हुनेछ ?
- iPhone 14
- iPhone 14 Plus
- iPhone 14 Pro
- iPhone 14 Pro Max
- iPhone 13
- iPhone 13 mini
- iPhone 13 Pro
- iPhone 13 Pro Max
- iPhone 12
- iPhone 12 mini
- iPhone 12 Pro
- iPhone 12 Pro M
- iPhone 11
- iPhone 11 Pro
- iPhone 11 Pro Max
- iPhone XS
- iPhone XS Max
- iPhone XR,
- iPhone X
- iPhone 8
- iPhone 8 Plus
- iPhone SE (2nd generation or later)
कसरी इन्स्टल गर्ने ?
यदि तपाईंले अटोमेटिक इन्स्टल राख्नुभएको छैन भने तपाईंलाई सफ्टवेयर इन्स्टल गर्न नोटिफकेसन आउँछ । यद्यपि कहिलेकाहीँ नआउन सक्छ । यस्तो अवस्थामा आईफोनको ‘सेटिङ’ मा गएर ‘जेनेरल’ मा ट्याप गर्नुहोस् ।
त्यसपछि ‘सफ्टवेयर अपडेट’ मा ट्याप गरेर आफ्नो फोनमा आईओएस १६ अपडेट आए/नआएको यकिन गर्नुहोस् ।
यदि तपाईंको डिभाइसमा यो अपडेट आइसकेको छ भने स्क्रिनको सबैभन्दा तल ‘डाउनलोड एन्ड इन्स्टल’ अप्सनमा ट्याप गरेर आईओएस १६ इन्स्टल गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
