close

माइक्रोवेभभित्र झुक्किएर पनि नराख्नुहोस् यी ५ चिज 

टेकपाना टेकपाना

भदौ २७, २०७९ १९:५०

माइक्रोवेभभित्र झुक्किएर पनि नराख्नुहोस् यी ५ चिज 

काठमाडौं । जब भान्साका सरसामग्रीको कुरा आउँछ, माइक्रोवेभ निकै सुविधाजनक लाग्छ, चाहे त्यो बचेको खानेकुरा तताउन होस् वा कफी गरम गर्न नै किन नहोस् । तर यस्ता केही चिजहरू छन्, जसलाई तपाईँले कहिल्यै पनि माइक्रोवेभमा राख्नु हुँदैन ।

केही निश्चित धातु तथा खानेकुराले झिल्का उड्न सक्छ र खानेकुरामा रसायन मिसिनुका साथै बिस्फोट समेत गराउन सक्छ । आज हामी तपाईँलाई त्यस्ता पाँच चिजको बारेमा बताउँदै छौँ, जसलाई तपाईँले सधैँ माइक्रोवेभबाट टाढा राख्नुपर्ने हुन्छ । 

१. निश्चित प्लास्टिक 

जब माइक्रोवेभ भित्र राखिन्छ, केही प्लास्टिकबाट निस्किने बीपीए अर्थात बायसफेनल ए (प्लास्टिक प्रशोधनका क्रममा प्रयोग गरिने रसायन) र प्याथालेट्स (प्लास्टिक बलियो बनाउन प्रयोग गरिने रसायन)  खाने कुरामा मसिन सक्छ । यी रसायन खासगरी बीपीएले तपाईँको शरीरको हार्मोनमा अवरोध निम्त्याउन सक्छ र मोटोपना तथा मधुमेह बढाउनुका साथै प्रजनन क्षमतामा ह्रास ल्याउने कारक समेत बन्न सक्छ ।

बटरको डब्बा, दहीको बट्टा जस्ता प्याकेज गरिएका खाने कुरा राखिने केही प्लास्टिकका भाँडाहरू माइक्रोवेभका लागि बनाइएका हुँदैनन् । यद्यपि केही उत्पादकहरू ‘बीपीए-फ्री’ (बीपीए रसायन रहित) प्रयोग गर्न थालेका छन्, जो सायद माइक्रोवेभका लागि सुरक्षित हुन पनि सक्छन् । 

आखिर जे भए पनि कुनै पनि प्लास्टिकको भाँडा प्रयोग गर्नु अघि त्यो माइक्रोवेभका लागि सुरक्षित छ कि छैन भन्ने कुरा हेर्न कहिल्यै नबिर्सिनुहोस् । 

२. प्लास्टिक झोला 

कहिल्यै पनि प्लास्टिक झोलाभित्र खानेकुरा राखेर माइक्रोवेभमा नराख्नुहोस् । झोलाभित्र बाफ बन्न सक्छ र त्यो पड्किन सक्छ । यसका साथै उक्त प्लास्टिक झोला पग्लिन समेत सक्छ ।

त्यसैले सुरुमा प्याकेजिङबाट खानेकुरा बाहिर झिक्नुहोस् र त्यसलाई माइक्रोवेभका लागि सुरक्षित प्लेटमा राख्नुहोस् । 

३. पुराना प्लेट र मग

वर्षौँ पुराना प्लेट र मगहरू माइक्रोवेभमा राख्दा त्यसका टुक्राहरू खाने कुरामा मिसिन सक्छन् । तपाईँले आफ्ना त्यस्ता भाँडाहरू जोखिमपूर्ण छन् कि छैनन् भन्ने कुराका लागि लिड टेस्टिङ किटमार्फत जाँच गर्न सक्नुहुन्छ । 

४. धातु

सम्भवतः तपाईँले धातुलाई माइक्रोवेभमा कहिल्यै राख्नु हुँदैन भन्ने कुरा सुन्नु भएकै हुनुपर्छ । तर किन भन्ने कुरा थाहा छ ? किन भने धातुले माइक्रोवेभलाई प्रतिबिम्बित अर्थात फर्काइदिने काम गर्दछ ।

यदि तपाईँले खानेकुरालाई अल्मुनियमको खोस्टाले छोप्नुभयो भने माइक्रोवेभ त्यसबाट फर्किन्छ र तपाईँको खानेकुरा तात्न पाउँदैन । यसरी परावर्तन भएको तरङ्गले तपाईँको माइक्रोेभलाई नै खराब पारिदिन सक्छ ।

काँटा चम्चा जस्ता तिखो किनारा भएका सरसामग्रीले केन्द्रिकृत विद्युतीय क्षेत्र तयार पार्दछ र आगोको ज्वाला सिर्जना गर्न सक्छ । 

५. उसिनेका कडा अण्डा

माइक्रोवेभमा खाने कुरा एकदमै चाँडो तयार हुन सक्छ । जसले गर्दा अण्डा भित्र एकदमै छिटो बाफ तयार हुन्छ । यसरी अन्ततः बाफ भरिएर अण्डा पड्किन सक्छ ।

त्यसैले कडा उसिनेका अण्डा अथवा उसिन्न काचो अण्डा माइक्रोवेभभित्र नराख्नुहोस् । अन्यथा तपाईँले राखेका अण्डा फुटेर छरपस्ट हुन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४