close

यी १० कारणले ल्यापटपभन्दा डेस्कटप राम्रो

टेकपाना टेकपाना

असोज १३, २०७९ १७:३९

यी १० कारणले ल्यापटपभन्दा डेस्कटप राम्रो

काठमाडौं । नयाँ कम्प्युटर खरिद गर्दा ल्यापटप लिने वा डेस्कटप लिने भन्ने कुरामा द्विविधा आइरहन्छ । सही समयमा उपयुक्त निर्णय लिन नसक्दा हामीलाई पछि पश्चाताप भएको हुनसक्छ । डेस्कटपले कम मूल्यमा धेरै सुविधा उपलब्ध गराएको हुन्छ भने ल्यापटपले बढी मूल्य करिब उही सुविधा उपलब्ध गराइरहेको हुन्छ । यदि तपाईँ कम्प्युटर पोर्टेबल होस् भन्ने चाहनुहुन्छ भने तपाईँको रोजाइमा ल्यापटप नै परेको हुनसक्छ ।

यो कुरालाई छेउमा राखेर अन्य पक्षलाई आधार बनाउने हो भने ल्यापटपभन्दा डेस्कटप निकै उपयुक्त हुने देखिन्छ । आज हामी ल्यापटपभन्दा डेस्कटप कुन कुरामा अगाडि वा तपाईँले किन डेस्कटप खरिद गर्ने भन्ने विषयमा चर्चा गर्दैछौँ । यो लेखको आशय केबल कुन पक्षमा डेस्कटप आकर्षक छ भनेर देखाउनु मात्र हो । आफ्नो आवश्यकता अनुसार ल्यापटप लिने वा डेस्कटप लिने भन्ने कुरा स्वयम् तपाईँमा निर्भर हुन्छ ।

डेस्कटप पावरफुल हुन्छन्

पावरलाई आधार बनाउने हो भने डेस्कटप खरिद गर्नुपर्ने मुख्य कारण नै यही हो । ल्यापटप सानो डिभाइस हुने भएकाले त्यसमा केही सीमितता रहेका हुन्छन् । डिभाइस सानो हुनाले त्यहाँ थुप्रै कम्पोनेन्ट समावेश गरिएको हुन्छ । त्यसका लागि उत्कृष्ट पर्फमेन्स डेस्कटप कम्प्युटरमा मात्र देख्न सकिन्छ । यदि तपाईँले डेस्कटपकै विशेषता खरिद गर्ने सोच्नुभयो भने त्यसका लागि केही मूल्य बढी तिर्नुपर्ने हुन्छ ।

यसो त डेस्कटप हेभी कामका लागि नै तयार पारिएका हुन्छन् । त्यही काम उही विशेषता भएको ल्यापटपबाट गर्न केही झन्झट हुन्छ । यदि तपाईँ वेब ब्राउज गर्नुहुन्छ, भिडिओ हेर्नुहुन्छ वा वर्ड प्रोसेस गर्नुहुन्छ भने तपाईँका लागि ल्यापटप नै उपयुक्त हुन्छ । हेभी काम जस्तै; फोटोशट, लाइटरूम, प्रिमियर प्रयोग गर्नुहुन्छ भने तपाईँले डेस्कटप रोज्नुपर्ने हुन्छ ।

डेस्कटपको मूल्य सस्तो पर्छ

मूल्यलाई आधार बनाउने हो भने पनि ल्यापटपको तुलनामा डेस्कटप निकै एफोर्डेबल छ । ल्यापटपको मूल्य त्यो कति पोर्टेबल छ, ब्याट्री क्षमता कति छ वा प्रोसेसिङ पावर कति छ भन्ने कुराले निर्धारण गरेको हुन्छ । डेस्कटपको मूल्य यसको फिचरमा निर्भर हुन्छ ।

तपाईँले आफूलाई कस्तो डेस्कटप आवश्यक छ, कुन फिचर आवश्यक छ त्यही समावेश गरेर खरिद गर्न सक्नु हुन्छ । यसमा हुने विशेषतालाई आधार बनाउने हो भने डेस्कटपको मूल्य ल्यापटपको तुलनामा कम पर्छ । 

डेस्कटप अपग्रेड गर्न सजिलो हुन्छ

तपाईँलाई ल्यापटप अपग्रेड गर्नुपर्‍यो भने नयाँ खरिद गर्नुको विकल्प छैन । यसो त एसएसडी र एचडीडी अपग्रेड गर्ने विकल्प हुन्छ । यति मात्र तपाईँका लागि उपयुक्त नहुन सक्छ ।

तर, डेस्कटप अपग्रेड गर्न निकै सजिलो छ । तपाईँले डेस्कटपको एउटा एउटा भाग अपग्रेड गर्न सक्नुहुन्छ । यदि समय अनुसार उही डिभाइस अपग्रेड गरेर प्रयोग गर्न रुचाउनुहुन्छ भने पनि तपाईँका लागि डेस्कटप उपयुक्त हुन सक्छ ।

डेस्कटप सजिलै मर्मत गर्न सकिन्छ

ल्यापटप केही बिग्रियो भने सबैभन्दा पहिले कसरी मर्मत गर्ने भन्ने कुरा पुस्टि गर्नुपर्ने हुन्छ । सबै भाग एउटैमा जोडिएको हुनाले आफैले खोलेर मर्मत गर्न जोखिम नै हुन्छ । तर डेस्कटपमा केही थोरै प्राविधिक ज्ञान भयो भने पनि सजिलै मर्मत गर्न सकिन्छ ।

उदाहरणका लागि किबोर्ड वा माउस बिग्रिएको कुरा बाहिरबाटै पहिचान गरेर नयाँ राख्न वा त्यसैलाई मर्मत गर्न सकिन्छ । त्यस्तै डेस्कटपमा हरेक भाग छुट्टाछुट्टै हुने भएकाले मर्मत गर्न सजिलो हुन्छ । यदि केही गरी मर्मत गर्दा उक्त भाग बिग्रियो भने नयाँ सस्तो मूल्यमा नयाँ फेर्न सकिन्छ ।

काम गर्दा गर्दै डेस्कटप यत्तिकै छोड्न सकिन्छ

तपाईँलाई कुनै काम गर्दा गर्दै कतै बाहिर जानुपर्‍यो वा भनौँ कम्प्युटर छोड्नुपर्यो भने डेस्कटप प्रयोग गर्न सहज छ । तपाईँले डेस्कटपमा कुनै काम गर्दा गर्दै रातको समयमा छोडेर सुत्न सक्नुहुन्छ । यो ल्यापटपमा पनि गर्न सकिन्छ । तर, ल्यापटप यो कार्यका लागि निर्माण गरिएका हुँदैनन् । तपाईँले कुनै पनि काम पूर्ण रूपमा सम्पन्न गरेर मात्र छोड्नुपर्ने हुन्छ । यदि त्यसो नगरेको खण्डमा हार्डवेयर बिग्रिन सक्छ ।

डेस्कटप चोरी हुने डर कम हुन्छ

ल्यापटप विशेषगरी एक ठाउँबाट अर्को ठाउँमा लग्नका लागि डिजाइन गरिएको हुन्छ । जसले गर्दा हामी उही ल्यापटपबाट बिहान आफ्नो घरमा र दिउसो अफिसमा काम गर्न सक्छौँ । यसलाई विभिन्न ठाउँमा लग्न सहज हुनुले नै यो चोरी हुने जोखिम बढी हुन्छ । तर, डेस्कटपमा एउटा मात्र भाग चोर्ने भन्ने हुँदैन । पुरै सिस्टम नै उठाउनु पर्ने हुन्छ ।

यदि डकैती गरेर डेक्स्टप लिने योजना बनाएको छ भन्ने छुट्टै कुरा, नत्र देखेकै भरमा चोरले डेस्कटप चोर्ने आँट गर्न सक्दैन । यस हिसाबले पनि तपाईँका लागि डेस्कटप नै उपयुक्त हुन सक्छ ।

डेस्कटपले कम आवाज निकाल्छ

न्वाइज (आवाज) का सन्दर्भमा डेस्कटपले कम आवाज उत्सर्जन गर्ने गर्छ । यदि तपाईँले पूर्ण रूपमा शान्त हुने डेस्कटप खोज्नु भएको छ भने त्यो त भेट्न नै मुस्किल नै होला । किनभने डेस्कटपमा डिभाइसलाई चिसो राख्नका लागि फ्यान राख्ने तमाम ठाउँ हुन्छ । जसले गर्दा कम आवाज निस्किन्छ ।

तर, ल्यापटपमा जडान गरिएका फ्यानका लागि उपयुक्त ठाउँ हुँदैन । जसले गर्दा ल्यापटपमा फ्यानको आवाज बढी आउने गर्छ ।

डेस्कटपमा थुप्रै पोर्टहरू रहेका हुन्छन्

डेस्कटपमा थुप्रै पोर्ट रहेका हुन्छन् । जसले गर्दा तपाईँले आफूलाई आवश्यक परेका हरेक डिभाइस जडान गर्न सक्नुहुन्छ । यदि कुनै विशेष पोर्ट उपलब्ध छैन भने त्यसलाई पनि डेस्कटपमा बाहिरबाट थप्न सकिन्छ । ल्यापटपले यो सुविधा दिएको हुँदैन । यसमा स्पेस कम हुने भएकाले केही सीमित पोर्ट मात्र समावेश गरिएको हुन्छ । त्यसैले नयाँ डिभाइस जडान गर्नका लागि ल्यापटपमा विशेष पोर्ट पाउन गाह्रो नै हुन्छ ।

डेस्कटपमा ठूलो स्क्रिन हुन्छ

डेस्कटपमा ठूलो स्क्रिन हुने भएकाले हेभी कामका लागि यो उपयुक्त हुन्छ । फोटोशप, प्रिमियर, लाइटरुम, वा गेमिङका लागि पनि डेस्कटपको ठूलो स्क्रिनले ठूलो भूमिका खेलेको हुन्छ । ल्यापटपमा बढीमा १७ ईन्चको स्क्रिन साइज हुने गर्छ ।

ठूलो स्क्रिन भएको ल्यापटप प्रयोगकर्ताको रोजाइमा पर्दैनन् । स्क्रिन सानो हुने भएकाले फोटोशप, प्रिमियर, लाइटरुम, कोडिङ तथा गेमिङका लागि ल्यापटप उपयुक्त नहुन सक्छ ।

आफैं डेस्कटप तयार पार्न सकिन्छ

ल्यापटप खरिद गर्दा हरेक भाग त्यसैमा जोडिएका हुन्छन् । जसले गर्दा हाम्रो आवश्यकता र रोजाइमा उक्त ल्यापटप नपर्न सक्छ । उदाहरणका लागि हामीलाई कुनै एउटा ल्यापटप मन पर्‍यो । हामीलाई ल्यापटपको डिजाइन, साइज मन परेको भए पनि त्यसमा भएको प्रोसेसर, र्‍याम वा एसएसडी मन नपरेको हुनसक्छ । जुन ल्यापटप जस्तो छ त्यस्तै खरिद गर्नुपर्ने हुन्छ ।

तर, डेस्कटपमा भने थुप्रै सुविधा रहेका छन् । तपाईँले आफ्नो आवश्यकता अनुसार र्‍याम एउटा ठाउँबाट लिएर, प्रोसेसर अर्को ठाउँबाट, मनिटर अर्को ठाउँबाट खरिद गर्न सक्नुहुन्छ । यसमा तपाईँले आफूलाई मन पर्ने हरेक कम्पोनेन्ट खरिद गरेर प्रयोग गर्न सक्ने भएकाले डेस्कटपलाई आफूले चाहेजस्तो बनाउन सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १७:३९