काठमाडौं । एन्ड्रोइड डिभाइसमा फोटो तथा भिडिओ ब्याकअपमा राख्न गुगल फोटोज एक उपयुक्त विकल्प हो । फोटो तथा भिडिओ ब्याकअप गर्ने सेवामा गुगल फोटोज एक्लो होइन । वनड्राइभ, ड्रपबक्स जस्ता अन्य थुप क्लाउड स्टोरेज सेवा छन् । जसमा हामी फोटो तथा भिडिओ स्टाेर गरेर राख्न सक्छौं ।
विभिन्न एन्ड्रोइड डिभाइस निर्माताले आफ्नो डिभाइसमा क्लाउड स्टोरेज सेवा उपलब्ध गराउँदै आएका छन् । चिनियाँ फोन निर्माता कम्पनी साओमीले पनि ५ जीबीसम्मको निःशुल्क स्टोरेज स्पेज उपलब्ध गराउँदै आएको छ । यसका माध्यमबाट कन्ट्याक्ट, मेसेज, डिभाइस सेटिङ, फोटो तथा भिडिओ क्लाउड स्टोरेजमा भण्डारण गर्न सकिन्छ ।
तर चाँडै नै साओमीले क्लाउड स्टोरेज सेवाबाट ग्यालरी सिंक फिचर हटाउने भएको छ । मीयूआई कम्युनिटीको एक चर्चित नाम क्याकपर स्क्रिजपेकले नयाँ अपडेट आउँदा साओमीको क्लाउड फोटो ब्याकअप सेवा बन्द हुने जानकारी बाहिर ल्याएकाे छ ।
यो सेवा बन्द हुने भएपछि ब्याकअपमा भएका भिडिओ तथा फोटो सुरक्षित तरिकाले माइग्रेट गर्न साओमीले गुगल फोटोजसँग सहकार्य गर्ने बताइएको छ । यदि तपाईँले गुगल फोटोज प्रयोग गर्नुभएको छैन भने तपाईँका लागि अन्य विकल्प पनि उपलब्ध हुन सक्छन् ।
उदाहरणका लागि क्लाउड सेवामा भएका फोटो तथा भिडिओ शाे मी डिभाइस वा पीसीमा डाउनलोड गरेर सुरक्षित राख्न सकिनेछ । यसबाट फोटो तथा भिडिओ सेवा मात्र प्रभावित हुनेछ । साओमीको क्लाउड सेवामा रहेका मेसेज, कन्ट्याक्ट लगायत अन्य फाइल भने सुरक्षित नै हुनेछन् ।
यदि तपाईँले साओमी क्लाउडको प्रिमियम भर्सन प्रयोग गरिरहनु भएको छ भने कम्पनीले नवीकरण सेवा चाँडै नै स्थगित गर्ने योजना बनाएको छ । यदि तपाईंले नवीकरण गर्नुभयो भने पनि शुल्क फिर्ता पाउनुहुनेछ । कम्पनीले यो सेवा कहिलेबाट अन्त हुँदैछ भन्ने कुराको आधिकारिक जानकारी भने बाहिर ल्याएको छैन ।
तर, यस वर्षको अन्तसम्म यो सेवा पूर्ण रूपमा बन्द रहने कुरा स्वीकारेको छ । त्यस्तै २०२३ को सुरुवातबाट सोओमी क्लाउड सेवामा ब्याकअप भएका तपाईंका फोटो डिलिट हुनेछन् । त्यसपछि भने कतै पनि फोटो वा भिडिओलाई माइग्रेट गर्न सकिनेछैन । साओमीको फोटो क्लाउड स्टोरेजमा कम प्रयोगकर्ता भएपछि कम्पनीले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।