close

घुम्दै नेपाल चिनाउने 'घुमन्ते'को कथा

सञ्जीवन राई सञ्जीवन राई

असोज २७, २०७९

काठमाडाैं । राम्रै जागिर थियाे । परिवार खुसी नै थिए । काम उस्ताे गाह्राे पनि थिएन । यसैलाई जारी राखे, जीवन सहज थियाे । धेरै मान्छेले चाहने अवस्था पनि त यही हाे । तर उनलाई आफ्नाे याे अवस्थाले भित्री खुसी दिएकाे थिएन ।

कञ्चन राई उर्फ 'घुमन्ते' । उनको अहिलेको परिचय हो एक यात्री । नेपालका विभिन्न ठाउँ घुम्दै, त्यहाँका मनोरम दृश्य कैद गर्ने, संस्कृति बुझ्ने र आममानिसलाई देखाउने उनको काम हो ।

मिठाे आवाज । गज्जबकाे लेखनी । भिडिओकाे एक छुट्टै शैली । घुमन्तेका भिडिओहरुमा हामी यस्तै पाउछाैँ ।

वास्तवमा घुम्‍न रहर हुनेहरु मिलेर बनेकाे समूह हाे, घुमन्ते । याे समूहले आफ्नाे युट्युब च्यानलमा नेपालका विभिन्न ठाउँमा घुमेकाे भिडिओहरु राख्ने गर्छ । 

तर याे युट्युब च्यानलकाे नभएर रहर, जाेश, इच्छा र रुचिकाे कथा हाे । यस कथामा धेरै वक्र रेखा समेटिएका छन्, सिकाइ र अन्याेलकाे ।

अगाडि कञ्चन राई देखिए पनि घुमन्ते धेरै व्यक्ति मिलेर बनेकाे छ । प्रकाश बुढा, जाे घुमन्तेकाे सुरूवाती दिनमा फाेटाेहरु उपलब्ध गराउँथे । ऋषभ अधिकारी, जाे घुमन्ते ब्लगका लागि फाेटाेहरु पठाउँथे । अंकुर मौर्य, जसकाे आवाजले भिडिओमा सास थपेकाे छ । 

हुन त घुमन्तेकाे नारा नै छ, 'अद्भूत यात्रीहरु' ।

याे यात्रीकाे समूह हाे । तर घुमन्ते कहाँ आफूमात्र घुम्छ र ? घुमाइकाे पूर्ण मज्जा छाडेर उ हामीलाई पनि घुमाउँछ । बस् हामी कहीँ कतै बसेर उसकाे भिडिओ हेर्नुपर्छ, हाम्राे मन नेपालकाे कुनाकन्दरा पुगिरहेकाे हुन्छ । भिडिओ सकिन्जेल हामी पनि घुमन्तेसँगै मस्तले घुमेर आएका हुन्छाैँ ।

एउटा के भने, उ हप्ताैँ लगाएर घुम्छ, हामी केही मिनेट-घण्टामै घुम्छाैँ ।

घुमन्ते एक 'स्वार्थीहरुकाे समूह' हाे भन्दा केही फरक नहाेला । हामीलाई देखाउन नै भनेर उनीहरु घुम्छन् । हिँडेर गलेकाे बेला लाग्दाे हाे, किन गर्ने ? केका लागि गर्ने ? घुम्नकै लागि जीवनमा कति कुराहश्र छाड्नु स्वार्थी बन्नु हाेइन त ?

तर बादलभित्र लुकेर बसेकाे हिमालकाे मिठाे मुस्कान उनीहरुले देखेपछि ती सबै निराशा कतै भागिजान्छन् । तब के चाहियाे, घुमन्ते अर्काे पाइला चाल्न लम्कन्छ

'घुमन्ते' नाम र सुरूवात

बाल्यवस्थामा हामी घरबाट धेरै निस्केकाे बेलामा बाआमाले ‘कति घुमन्ते’ भइस् भनेर गाली गर्थे । एक अर्थमा घुमन्ते शब्द गालीजस्तै थियाे । यही अवस्थाबाट याे शब्द आएकाे हाे । घुमिरहने यात्रालाई कुनै नाम दिनुपर्ने थियाे ।

कञ्चन राईले शब्दहरु खाेजिरहेका थिए । घुमफिर, घुमघाम जस्ता यात्रासँग सम्बन्धित शब्द खाेजे । तर तिनीहरुकाे डाेमेन दर्ता भइसकेकाले ती नाम उनले राख्‍न पाएनन् ।

यही बीचमा उनकाे आमाले गाली गर्ने ‘घुमन्ते’ नै उनकाे प्यारे भयाे । यही  नाम राखियाे । नाम राख्दा उनले अफ्ठ्याराे पनि महसुस गरेका थिए । जसै सुरु भयाे, पछि यही परिचय बन्दै गयाे ।

सुरुमा अनाैठाे सुनिए पनि याे नामले घुमन्ते शब्दकाे अर्थ विस्तार भएकाे उनी बताउँछन् । हुन पनि हाे, याे नाम घुम्‍न रमाउनेहरुकाे एक ब्राण्ड बन्दै गइरहेकाे छ । 

उनले स्वअध्ययनबाटै वेब डिजाइनिङ सिकेका थिए । त्यस समयमा पार्ट टाइम जागिर पनि गर्थे, जसले गर्दा उनीसँग पर्याप्त समय हुने गर्दथ्याे, जसकाे फाइदा उठाउँदै उनी घुम्‍न निस्कने गर्दथे ।

तर त्यसबेला ठाउँहरुलाई पार्श्वमा राखेर आफ्नाेमात्र फोटाेहरु खिच्‍ने गर्दथे । उनकाे भाइले त्यही शैलीलाई प्रश्न गरे, ‘खै त ठाउंँहरुकाे फाेटाे ?’

त्यसपछि उनले आफू गएका ठाउँहरुकाे फाेटाे खिच्न थाले । घुम्‍नका लागि बाइक थियाे । आईटी क्षेत्रमा काम गरिरहेकाे मान्‍छे । उता घुम्‍ने बानी । घुम्दाघुम्दै उनले यसलाई डिजिटलाइज गर्ने याेजना बनाउँदै थिए ।

त्यसताका ब्लग लेखेर पैसा कमाउने प्रचलन फस्टाउँदै थियाे । उनले घुम्ने, ब्लग लेख्‍न‍े र एड्सेन्सबाट पैसा कमाउने साेचे । 'घुमन्ते' उनले रहरले नै खाेलेका थिए ।

खासमा उनी र अरु साथीहरु लाकुरीभन्ज्याङ घुम्‍न गएका बेला 'घुमन्ते'काे डिजिटल अस्तित्वकाे विचार जन्मेकाे थियाे ।

उनका साथी प्रभास चाम्लिङ राई एसईओ विशेषज्ञ थिए । प्रभाषकै मद्दतबाट ब्लगमा ट्राफिक ल्याउने उनकाे विचार थियाे ।

घुमन्तेकाे डाेमेन रजिष्टरका लागि लाकुरी भन्ज्याङ्ग घुम्न गएका साथीहरु सबैले ५०० रुपैयाँ उठाए । यसरी सन् २०१३ बाट फेसबुक पेज र ब्लग बनाएर 'घुमन्ते'काे डिजिटल यात्रा सुरु भएकाे थियाे । 

सञ्चालन

ब्लग र फेसबुकमा फाेटाेहरु हाल्न आफूले खिचेका बाहेक उनी साथीहरु र फाेटाे माग्‍ने गर्दथे । घुमन्‍ते औपचारिक रुपमा सुरूवात गर्दा उनीसँग व्यक्तिगत क्यामेरा थिएन । 

कहिलेकाहीँ क्यामेरा भएका साथीहरुसँग मागेर पनि काम चलाउँथे उनी ।

उसबेला उनलाई उस्तरी क्यामेरा चलाउन आउँदैनथ्यो । अटाे माेडमा खिच्थे । राम्राे हुन्न थियाे । तर रहर न हाे, उनी आज क्यामेरा चलाउन दक्ष छन् । घुमन्ते सुरु गर्दा अरु घुम्न रहर हुनेहरु पनि समूहमा थिए । तर विस्तारै व्यक्तिगत कामले गर्दा सबैले छाड्दै गए ।

आफ्नै अग्रसरतामा सुरु गरेका कारण राईले भने जे जसाे भएपनि चलाइरहे । यसैबीच उस्तै रहर भएकाहरु जाेडिए । घुमन्तेले एक समूहकाे रुप लिँदै गयाे ।  रहरका कारण नै घुमन्ते खाेलेका उनले एडसेन्सबाट आएकाे पैसाले अरु ठाउँ घुम्ने याेजना बनाए पनि त्याे सम्भव भएन ।

घुमन्तेकाे वेबसाइटमा अझै पनि एडसेन्स छैन । “हामीले युट्युबमा चैं सुरु र अन्तमा विज्ञापन राख्‍ने गरेका थियाैं,” उनी थप्छन्, “तर हाम्राा शुभचिन्तकले बीचमा विज्ञापन राख्दा आर्थिक रुपमा सहयाेग हुने सुझाएका कारण आजभाेलि भने बीचमा पनि राख्न थालेका  छाैं ।”

हाल घुमन्तेलाई घुम्न वित्तीय सहयाेग आउन थालेकाे छ । यसबाहेक घुमन्तेलाई विभिन्न ठाउँका मानिसहरुले घुम्नका लागि बाेलाउने गरेका छन्, जसले गर्दा उनीहरुकाे घुमाइमा धेरै मद्दत पुगेकाे छ । यसबाहेक घुमन्ते‍लाई धेरै सहयाेगी मनले सहयाेग गरिरहेका छन् । 

कम्प्युटर र बाल्यकाल

खाेटाङकाे जाल्पामा जन्मेका कञ्चन राई काठमाडाैंमा हुर्के ।

उनकाे परिवार बहुदलकाे पुनर्स्थापनापछि काठमाडाैं छिरेकाे थिए । त्यसपछि उनीहरुकाे बसाइँ काठमाडाैंमा हुन थालेकाे हाे ।

नेपालमा त्यस समयमा जग्गाकाे मूल्यभन्दा पनि कम्प्युटरकाे मूल्य बढी थियाे । तर घरमा उनका बुबाले विन्डाेज ९५ पेन्टिएम फस्ट कम्प्युटर ल्याएका थिए । त्यसबेला उनकाे उमेर १०/१२ काे मात्र थियाे ।

न घरमा काेहीलाई चलाउन आउँथ्याे, न त्यसकाे केही आवश्यकता थियाे । तर त्यहीबाट उनकाे प्रविधिसँग परिचय भयाे, जसले उनलाई धेरै मद्दत गरेकाे छ । औपचारिक पढाइभन्दा पनि उनी कम्प्युटरतिर आकर्षित हुन थाले ।

वेब नयाँ प्रविधि हाे भनेर सुन्दा यसमा उनकाे रुचि पलाएकाे थियाे । उनकाे दाइले पनि एचटीएमएल प्रयाेग गरेर वेब डेभलपमेन्ट गर्थे । दाइकाे काम हेरिरहेका उनले यस क्षेत्रमा आउने रहर गरे ।

यहाँबाट उनकाे आईटी क्षेत्रमा प्रवेश हुन्छ । बागबजारकाे एक शैक्षिक संस्थामा वेब डेभलपमेन्ट सिके । पछि त्यही संस्थामा कम्प्युटर पढाउने काम पनि गरे । तर, त्यहाँ उनी धेरै समय टिक्न सकेनन् ।

विस्तारै सीप निखार्दै गए । अनुभवी हुँदै गएपछि वेब डेभलपरकाे रुपमा अलि ठूला कम्पनीहरूका लागि काम गर्न थाले । उनले त्यसबेला फ्रिल्यान्सिङ पनि गर्थे । 

अब केही क्षण उनीसँग जाेडिएकाे कम्प्युटरकाे किस्साबारे जानकार हाैँ ।

-सानाे उमेरबाटै कम्प्युटर साक्षर उनी विद्यालयकाे कम्प्युटर ल्याबमा आफूले जानेकाे काम देखाएर सबैलाई मख्ख पार्थे । टाइपिङ गर्ने, कम्प्युटरमा भएका प्रि-इन्स्टल्ड गेमहरु झिक्ने, कुनै एप्लिकेसन खाेल्नेजस्ता काम उनी गर्थे ।

-च्यासलका एक जना स्थानीय बुबाका साथी थिए । जाे नयाँ प्रविधिमा निकै चासाे राख्‍थे । उनै बुबा साथीकाे माध्यमबाट घरमा कम्प्युटर भित्रिएकाे थियाे ।

-कक्षा ९ पढ्दा उनले विद्यालयकाे स्मारिकाकाे लागि नेपालीमा टाइपिङ गरिदिएका थिए, जसबाट उनले १५ सय रुपैयाँ पनि कमाए ।

-प्रविधिसम्बन्धी कम्पनी खाेलेका उनले त्यसलाई लाेडसेडिङका कारण बन्द गर्नुपरेकाे थियाे ।

-विश्वविद्यालय/विद्यालयबाट आईटीकाे कुनै पनि औपचारिक कक्षा नलिएका उनले बहुराष्ट्रिय आईटी कम्पनीहरुमा काम गरेका छन् ।

जागिर

बागबजारमा वेब डिजाइनिङ सिकेपछि उनले त्यही संस्थामा काम पाएका थिए । उनले त्यहाँ नयाँ विद्यार्थीहरुलाई कम्प्युटर पढाउँथे । तर विद्यार्थीहरुले पढाएकाे बुझिएन भनेर रिपाेर्ट गरेपछि उनले त्यहाँ काम छाडे ।  

त्यसपछि उनी सर्भिस माइन्ड्स नामक कम्पनीमा काम गर्न अन्तर्वार्ता दिन गए । तर उनी पहिलाे अन्तर्वार्तामा असफल भए । त्याे असफलतापछि उनले थप अध्ययन गरेर दाेस्राे पटक अन्तर्वार्ताका लागि गए । यसपटक भने उनी छानिए ।

त्यहाँ काम गर्दा आफ्नाे सीपमा निकै सुधार भएकाे उनी सुनाउँछन् ।  

वेबकाे क्षेत्रलाई नयाँ पुस्ताकाे नयाँ जागिर ठान्‍ने उनी खाली भएकाे समयमा पनि अभ्यास गरिरहन्थे । त्यसबेला उनले काम गरेकाे कम्पनीले विदेशी ग्राहकका लागि वेब डेभलपमेन्टकाे काम गर्दथ्याे, जसले गर्दा उनले यस क्षेत्रमा काम गर्ने नयाँ तरिका सिक्ने अवसर पाएका थिए । 

त्यस कम्पनीमा जुनियर डेभलपलरकाे रुपमा प्रवेश गरेका उनले पछि सिनियर डेभलपरका रुपमा काम गरे ।

विवाह र विदेश

अब जीवनले उनलाई थाइल्याण्ड पुर्‍याउँछ ।

त्यहाँ उनकी श्रीमतीकाे घर छ । सन् २०१५ तिर ससुराल जाँदा श्रीमतीले उतै बस्‍ने रहर गरिन् । अनि कञ्चनले पनि थाइल्याण्ड जाने निधाे गरे ।

नेपालमा हुँदा पनि उनले विदेशी कम्पनीहरुका लागि काम गरिरहेका थिए । धेरै प्रयासपछि उनले त्यहीँकै एक प्रविधि कम्पनीमा काम पाए । त्यसका लागि उनले लिङ्कडइन प्रिमियम संस्करण प्रयाेग गरेका थिए । त्यस समयमा लिङ्कडिनले प्रयाेग परीक्षणकाे लागि प्रिमियम भर्सन सबैलाई निःशुल्क उपलब्ध गराएकाे थियाे । 

थाेरै जिज्ञासा मनमा आयाे हाेला, उनले थाइल्याण्डमा कसरी विवाह गर्न पुगे ? 

उनकी श्रीमती थाई-नेपाली हुन् । ससुराल उतै बसिरहेकाे थियाे । उनका अनुसार नेपालमा अङ्ग्रेजीकाे पढाइ थाइल्याण्डकाे भन्दा स्तरीय छ ।

नेपालमा जसरी अङ्ग्रेजी भाषाकाे महत्त्व बढी छ, त्यसैगरी थाइल्याण्डमा पनि छ । तर अङ्ग्रेजी पढाउने निजी विद्यालय धेरै महँगा छन् । यहीकारण उनकी श्रीमतीलाई अङ्ग्रेजी भाषा अध्यापन गराउन नेपाल राखिएकाे थियाे । यसैले उनीहरुकाे भेट नेपालमै भयाे । 

कथामा फर्काैं ।

थाइल्याण्ड पुगेपछि काम गरिरहेकाे कम्पनीमा उनी अब्बल देखिए । “त्यहाँ त म कहिलेकाहीँ काम सकेर अफिसमै निदाइदिन्थेँ,” उनी थाइल्याण्डकाे कम्पनीमा काम गरेकाे अनुभव सुनाउँदै थप्छन्, “त्यहाँ निकै सामान्य काम गर्नुपर्थ्याे ।”

त्यहाँ उनले साढे एक वर्ष मात्र काम गरे । त्याे कम्पनी छाडेपछि सिङ्गापुरकाे एक बहुराष्ट्रिय कम्पनीमा काम गर्न थाले, जहाँ उनले पहिलेकाे कम्पनीकाे भन्दा आकर्षक वेतन प्राप्त गरे ।

तर काम गर्ने प्रवृत्ति नेपालकाे भन्दा फरक भएकाले सुरूमा निकै समस्या भएकाे उनी सुनाउँछन् । त्यहाँ काम गर्दा व्यक्तिगत विकासमा निकै सहयाेग भएपनि गाह्राे भएकाे उनकाे अनुभव छ ।

थाइल्याण्डकाे कम्पनीमा निकै दक्ष, तर सिङ्गापुरकाे कम्पनीमा उनी एक सिकारु जस्ता थिए ।

“मलाई त्यहाँ जबर्जस्ती प्राेगामर बनाइयाे,” त्यहाँकाे अवस्थाबारे  उनी भन्छन्, “प्राेगामर बन्दिनँ भन्ने म, बन्नैपर्‍याे ।”

विदेश र घुमन्ते

विदेश उनी पाँच वर्ष बसे । वर्षमा छुट्टी मिलाएर नेपाल आउँथे । उस्तै रहरेहरु जम्थे, घुम्‍न जान्थे । भिडिओ खिच्थे । हार्डड्राइभमा बैंकक लान्थे । एडिट गर्थे । युट्युबमा अपलाेड गर्थे ।

यसबाहेक घुमन्तेसँग जाेडिएर नेपालमा रहेकाहरुले खिचेका भिडिओ फुटेजहरु उनलाई पठाउँथे । फुर्सदकाे बेला तिनलाई एडिट गर्थे ।

तर उनी त्यसबेला भिडिओ एडिटिङमा विल्कुलै नयाँ थिए ।

“भिडिओहरुकाे क्लिपहरु जाेड्दा खुसी लाग्थ्याे,” नयाँ यात्राबारे थप सुनाउँदै उनी भन्छन्, “ती क्लिपहरु एडिट गर्दा जीवित वस्तु लाग्थ्याे । रमाइलाे गर्थें । यसकारण पनि वेब डेभलपरमा पाेख्त भएपनि याे नयाँ काम गर्न छाेडिनँ ।” 

भिडिओ एडिटिङ गर्दा नआएका कुरा उनले युट्युबमा हेर्दै सिक्थे । घुमन्तेकाे सबैभन्दा पुरानाे भिडिओ हेरेर अहिलेकाे भिडिओ हेर्ने हाे भने निकै धेरै विकास/वृद्धि भएकाे पाउँछाैँ ।

त्याे केवल लगनशील र धैर्यताले मात्र सम्भव भएकाे हाे । उनी विदेशबाट नेपालमा आएकाे बेला नै हाे, प्रकाश बुढासँग परिचय भएकाे । उनी प्राेफेसनल फाेटाेग्राफर थिए । उनले यात्रामा खिचेका फाेटाेहरु घुमन्तेकाे वेबसाइटमा पाेस्ट गर्दा त्यसले गुणस्तर निकै बढाएकाे राई सुनाउँछन् । उनले घुमन्तेकाे उचाइ थप्न निकै महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

विदेशमा भएका राईलाई घुमन्ते सञ्चालन गर्ने नयाँ विचार आयाे । दर्शक/पाठकहरुलाई फाेटाे, भिडिओ अथवा लेख माग्‍ने अनि त्यसकाे बदलामा घुमन्तेकाे लाेगाे भएकाे टी-शर्ट दिने । यहीँबाट नै हाे पाेखराका ऋषभ जाेडिएका ।

पहिला आफ्नै जिल्लाका अभियन्ता खिमबहादुर क्षेत्री जाेडिएका थिए । यस्तै विभिन्न क्रियाकलापबाट उनी विदेशमा रहेपनि घुमन्तेलाई अगाडि बढाइरहेका थिए । घुमन्तेसँग नजिक भएकाहरुसँग नियमित रुपमा अनलाइनमा कुरा गर्थे । 

यसरी नै जसाेतसाे उनले घुमन्तेकाे यात्रा बढाइरहेका थिए ।

त्यहाँ उनकाे दैनिकी लगभग एउटै हुन्थ्याे । उठ्याे, काम गर्‍याे, सुत्याे । कता कता उनकाे त्याे जीवन निरस बन्दै गइरहेकाे थियाे । उनलाई बार्तिका एम राईकाे ‘खै’ गीतका शब्दहरु “बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छाै खै के लक्ष्य समात्न…” ले हिर्काइरहेकाे थियाे । 

नेपाल आगमन

घुमन्तेसँग जाेडिएर नेपालमै बसिरहेका अरुले पनि उनलाई ‘दाइ नेपाल आउनुपर्‍याे’ भनेर बारम्बार भनिरहेका थिए ।

त्यहाँ उनले काम गरिरहेकाे कम्पनीमा केही आर्थिक समस्या हुन थालेकाे थियाे । यसकारण त्यहाँ काम गर्ने कर्मचारीले पनि जागिर छाेडिरहेका थिए । यही समयतिर उनकाे भिसाकाे मिति पनि सकिन लागेकाे थियाे ।

स्वयं उनलाई पनि त्याे जीवनदेखि नैराश्यता पैदा हुन थालेकाे थियाे । लाग्छ, यी सबैले उनलाई ‘नेपाल जा’ भनिरहेका थिए । राम्राे बन्दै गरेकाे भविष्य चटक्कै छाड्नु सजिलाे थिएन । तर उनी भिसाकाे बहाना बनाएर नेपाल आए । भलै त्याे काम उनले त्यहीँबाट गर्न सक्थे । 

हुन त स्वयं उनलाई  पनि नेपाल फर्कन मन थियाे । चाहेकाे भए उनी उतै बस्न सक्थे । पलायन हुन सक्थे । तर घुम्ने रहरले उनलाई नेपाल फर्कायाे ।

जनवरी ३०, २०१९ । उनले थाइल्याण्डमा सबै कुरा छाेडेर नेपाल फर्केकाे दिन । बनिसकेकाे जीवन छाेडेकाे दिन । पूर्ण रुपमा घुमन्ते बन्न नयाँ यात्रा थालेकाे दिन । 

नयाँ अध्याय

घुमन्‍ते सुरूवात गर्दा उनलाई न भिडिओ एडिटिङ आउँथ्याे, न राम्राे खिच्‍न । तर रहरले गर्दै जाँदा विस्तारै सिक्दै गए । उनले घुमन्तेकाे भिडिओ खिच्‍न वा एडिट गर्न कहिँ गएर सिकेका हाेइनन् ।

“घुमन्तेकाे भिडिओ यसाे गर्दा राम्राे हुन्छ हाेला, उसाे गर्दा राम्राे हुन्छ हाेला भनेर गर्दा गर्दै सिकेकाे हाे,” उनी थप्छन्, “यही प्रक्रियाले नै यहाँसम्म आइपुगेकाे हाे ।”  पूर्ण रुपमा नेपाल फर्केपछि मात्र उनले हालकाे घुमन्तेका सदस्यहरुलाई भेटेका थिए । नेपाल फर्कनासाथ उनीहरु नेपालकाे पूर्वी भाग घुम्‍न गएका थिए ।

त्यसबेला डीएसएलआर क्यामेरा भएपनि उनीहरुले गाेप्राे फाइभ हिराेबाट सबै भिडिओ खिचेका थिए । यस्तै यात्रालाई  कैद गर्न उनले थाइल्याण्डबाट नेपाल आउँदा उक्त गाेप्राे पनि ल्याएका थिए ।

भिडिओ युट्युबमा आएपछि मानिसहरुले दिने सल्लाह, सुझावले उनीहरुलाई एक उत्कृष्ट भिडिओ बनाउन आवश्यक पर्ने कुरा गर्न हाैसायाे । परिणाम पनि  सकारात्मक हुँदै गयाे । 

 

समस्या र सामर्थ्य

पहिलेजस्ताे मासिक रुपमा तलब आउँदैनथ्याे । विकसित सहरकाे व्यस्त जीवनशैली छुटिसकेकाे थियाे । समूहमा अरु थपिँदै थिए । नयाँ गन्तव्यहरुमा उनीहरु पुग्दै थिए ।

जसै उनीहरु आफ्नाे नयाँ यात्रामा सफल हुँदै गए । तब उनीहरुले खिचेका फाेटाे र भिडिओहरु बिनाअनुमति, बिनाक्रेडिट पाेस्ट गर्नेजस्ता समस्या आउन थाल्याे । याे कुरामा उनी निकै दु:खेसाे पाेख्छन् ।

सामाजिक सञ्जालमा अस्तित्वमा रहेका नेपालका ठूला पेजहरुले यसरी नै अरुका सिर्जना प्रयाेग गर्ने गरेकाे उनी बताउँछन् ।

“म प्रविधि क्षेत्रमा भएका कारण त्यस्ता गुणस्तरीय तस्वीरहरु पाउन सहज थियाे,” उनी यस विषयमा थप्‍छन्, “तर म प्रतिलिपि अधिकारबारे सजग थिएँ । यसैले पनि घुमन्तेमा हामीले खिचेका तस्वीरहरुमात्र हाल्ने गरेका छाैँ ।”

जे गर्ने आफैंले गर्ने, गरेपछि त्याे कुरामा आफ्नाेपन देखिन्छ । घुमन्ते यही कुरामा अडिग देखिन्छ । यसैले घुमन्तेकाे सफलताकाे ग्राफकाे रेखा उकालाे चढिरहेकाे छ । 

काम कि रमाइलाे ?

भिडिओमा हामी घुमन्ते घुमेकाे देख्दा निकै रमाइलाे मान्छाैँ । तर धेरै ठाउँहरु लगातारजसाे घुम्दा कहिलेकाहीँ लाग्दाे हाे, यिनीहरु कसरी घुम्‍ने पैसा व्यापस्थापन गर्छन् ?

एक साधारण दर्शकलाई आउने प्रश्न हाे याे ।

कतिलाई लाग्दाे हाे, यिनीहरुले काम चाहिँ के गर्छन् ।

“अब त याे काम हाे,” राई मुसुक्क हाँस्दै भन्छन्, “अहिले यसले नै जीवन चलिरहेकाे छ ।”

उनी रहर पनि काम हुने र त्यसबाट कमाइ गर्न सकिनेमा विश्वास गर्छन् ।

नयाँलाई केही कुरा

कहिलेकाहीँ उनकाे कथा सुन्दा यस्ताे लाग्‍न सक्छ, म पनि आफ्नाे काम छाेडेर किन घुम्‍न ननिस्कुँ ! तर जसले जे गर्‍याे, त्यही गर्ने संस्कारले केही पनि हात नलाग्ने उनकाे बुझाइ छ ।

सायद यही भएर नै हाेला वेब डेभलपरकाे लाेभलाग्दाे जागिर र भविष्यलाई उनले छाेडेकाे ।

अहिले आफ्नाे रहरकाे काम गरिरहेका उनी नयाँलाई जे गर्न मन छ, त्याे काम गर्नुअगाडि गृहकार्य गरेर आउन र मेहनत गर्ने लक्ष्य राखेर आउन सुझाव दिन्छन् ।  

नेपालमा प्रविधिकाे अवस्था

सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका राईले त्याे कामलाई पूर्ण रुपमा छाेडेर नयाँ यात्रामा निकै अगाडि बढेका छन् । तर पनि सञ्चारकाे माध्यम युट्युबकाे प्रयाेगबाट उनी प्रविधि क्षेत्रमा नै छन् ।

घुमन्ते रमाइलाेका लागि खाेलिएकाे थियाे । कुनै लाेभ थिएन । न पैसा कमाउनु थियाे, न कुनै बाध्यता ।

हालसम्म नेपालका हिमाली, पहाडी हुँदै तराई​ क्षेत्रमा घुमन्ते पुगिरहेकाे छ ।

प्रविधि क्षेत्रमा काम गरेकाले उनले ती ठाउँमा यसकाे अवस्था नजिकबाट हेरेका छन् । उनकाे नजरमा नेपालीहरू प्रविधिका सन्दर्भमा धेरै सचेत भइसके पनि यसकाे प्रयाेग सञ्चार र मनाेरञ्जनका लागि मात्र भइरहेकाे छ ।

अन्त्यमा...

खैर, अब नयाँ माेडहरुकाे कुरा गराैँ । सूचना प्रविधिकाे क्षेत्र द्रुत गतिमा बढिरहेकाे छ । घुमन्ते स्वयंलाई थाहा छ, भिडिओ कन्टेन्टकाे महत्त्व र यसकाे प्रभाव । घुमन्ते नेपालमा त परिचित भइसकेका छ । धेरैकाे प्यारे भएकाे छ ।

नयाँ नयाँ ठाउँहरुलाई प्रकाशमा ल्याउन मद्दत गरेकाे छ । घुमन्तेले यात्रामा अब नयाँ घुम्तीहरु पार गर्नेवाला छ ।

राईका अनुसार अब घुमन्तेकाे भिडिओ अँग्रेजी भाषामा आउनेछ । त्यसका लागि अर्काे नयाँ युट्युब च्यानल खाेल्ने याेजना उनले सुनाए ।

यसले नेपालकाे पर्यटनलाई विश्वमाझ पनि चिनाउन मद्दत गर्नेछ । त्यस यात्राले घुमन्तेकाे उचाइ थप माथि पुग्नेछ ।