close

वैदेशिक रोजगार विभागको वेबसाइट ह्याक, साइट नखोल्न विज्ञको सुझाव

टेकपाना टेकपाना

कात्तिक ८, २०७९ १६:४

वैदेशिक रोजगार विभागको वेबसाइट ह्याक, साइट नखोल्न विज्ञको सुझाव

काठमाडौं । नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागको वेबसाइट ह्याक भएको पाइएको छ । ब्राउजरमा उक्त विभागको साइट खोल्दा रिडाइरेक्ट भएर चिनियाँ वेबसाइटको लिङ्क खुल्ने गरेको छ ।

वैदेशिक रोजगारमा जाने वा जान चाहेका व्यक्ति र कार्यालय कर्मचारी वा संस्थागत प्रयोगकर्ताका लागि तयार पारिएको याे वेबसाइट खोल्दा लिंक रिडाइरेक्ट भएर चिनियाँ साइट खुल्छ । डेस्कटप भर्सनमा समस्या नदेखिए पनि मोबाइल भर्सनमा भने विभागकाे वेबसाइट रिडाइरेक्ट हुने गरेकाे छ ।

टेकपानासँग कुरा गर्दै साइबर सुरक्षाविज्ञ विजय लिम्बुले यो वेबसाइट ह्याक भएको जानकारी दिए ।

"कुनै पनि वेबसाइटको लिङ्क रिडाइरेक्ट भएर अर्कै साइटमा पुग्छ भने ह्याक भएको नै बुझिन्छ," उनी भन्छन्, "ह्याकरले उक्त वेबसाइटमा कुन माध्यमबाट ट्राफिक बढी आउँछ भन्ने कुरा मूल्यांकन गरी त्यही माध्यमबाट साइट रिडाइरेक्ट गर्ने गर्छन् ।"

यसरी साइट ह्याक हुँदा प्रयोगकर्ता र विभागको डेटा जोखिममा हुने लिम्बु बताउँछन् ।

उनी भन्छन्, "ह्याकरले डेटा लिक गर्नका लागि र त्यसलाई आपराधिक गतिविधिमा प्रयोग गर्न सरकारी साइट ह्याक गर्ने गर्छन् ।"

उक्त साइटको डेटा मात्र नभई सो लिङ्क खोल्ने सामान्य प्रयोगकर्ताका अन्य डेटा पनि ह्याकरको कब्जामा पर्नसक्ने भन्दै यसबाट सतर्क रहन उनले सुझाव दिए ।

''यस्तो अवस्थामा ह्याकरले आधिकारिक वेबसाइट ह्याक गरी स्प्याम वा फिशिङ लिङ्कमा रिडाइरेक्ट गर्ने गर्छन्, जसले गर्दा प्रयोगकर्ताको अन्य डेटा पनि जोखिममा पर्छ.'' उनले भने ।

यो वेबसाइट ह्याक भइसकेकाले कुनै माध्यमबाट पनि साइट नखोल्न लिम्बुकाे सुझाव छ । यो निकै संवेदनशील विषय भएकाले तत्कालै अनुसन्धान हुनुपर्नेमा पनि उनले जाेड दिए । 

वेबसाइट ह्याकका विषयमा विभागका अधिकारीसँग टेकपानाले सम्पर्क गर्न खोजेपनि सफल हुन सकेको छैन ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ १६:१५