close

नाफा घटेसँगै सामसङको कार्यकारी अध्यक्षमा ली जे-योङ नियुक्त

टेकपाना टेकपाना

कात्तिक ११, २०७९ ९:२२

नाफा घटेसँगै सामसङको कार्यकारी अध्यक्षमा ली जे-योङ नियुक्त

काठमाडाैं । सामसङ इलेक्ट्राेनिक्सकाे नाफा घटेकाे छ । हालै कम्पनीले सार्वजनिक गरेकाे पछिल्लाे विवरण अनुसार सन् २०२२ काे तेस्राे त्रैमासिकमा गत वर्षकाे साेही अवधिकाे तुलानामा ३१ प्रतिशतले घटेकाे छ ।

विश्वव्यापी आर्थिक मन्दीका कारण उपभोक्ताले इलेक्ट्रोनिक्स सामग्रीहरुमा कम माग गरेका कारण मुनाफामा कमी आएको कम्पनीले जनाएकाे छ । कम्पनीले यस वर्षकाे जुलाईदेखि सेप्टेम्बरसम्ममा सात अर्ब अमेरिकी डलर मात्र नाफा गरेकाे छ । यही समयमा गत वर्ष कम्पनीले ११ अर्ब अमेरिकी डलर मुनाफा निकालेकाे थियाे ।

तर कम्पनीले बिक्रीमा वृद्धि भएको बताएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.७९ प्रतिशतले बढेर ५४ बिलियन अमेरिकी डलर पुगेको हाे । कम्पनीले सन् २०२३ मा इलेक्ट्रोनिक्स उपकरण र चिप्सको मागमा वृद्धि हुने सम्भावना रहेकाे बताएकाे छ ।

अमेरिकी राष्ट्रपति जाे बाइडेनकाे सरकारले चीनलाई उन्नत चिपहरूमा पहुँच प्राप्त गर्नबाट राेक्न नयाँ नियमहरू घोषणा गरेसँगै सामसङमा पनि असर देखिन थालेकाे थियाे ।

सामसङ इलेक्ट्राेनिक्स, टीएसएमसी र एसके हाइनिक्स जस्ता विश्वका ठूला सेमिकन्डक्टर चिप निर्माता कम्पनीहरुलाई अमेरिकी प्रविधि प्रयाेग गरिएकाे चिपहरु चिनियाँ फर्महरूलाई बेच्न एक वर्षकाे मात्र अनुमति दिइएकाे छ । जुन चिपहरु सुपर कम्प्युटर र आर्टिफिसियल इन्टेलिजेन्स प्रयाेग हुन्छन् ।

हाल सामसङले ल्यापटप, स्मार्टफोन र डेटा भण्डारणमा प्रयोग हुने एनएएनडी (NAND) र डीर्‍याम (DRAM) चिपहरू बेच्‍ने गर्दछ । अब सामसङले सन् २०२५ सम्ममा २ नानोमिटरकाे चिप र २०२७ सम्ममा १.४ न्यानोमिटरकाे चिप उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

तेस्राे त्रैमासिककाे आर्थिक प्रतिवेदनसँगै सामसङ इलेक्ट्रोनिक्सले जे वाई लीलाई आफ्नाे कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको छ । उनले पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई घुस दिएको आराेपमा सजाय काटिरहेका भए पनि दुई महिना अगाडि राष्ट्रपतिबाट माफी पाएका थिए ।

सन् २०१२ देखि सामसुङको भाइस चेयरम्यान रहेका लीले सन् २०२० मा आफ्ना बुबा कुन ही लीको निधनपछि कम्पनीको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०७९ ९:२२