close

सामाजिक सञ्जालको प्रभाव, नेपाली बालिकाको नाच बलिउडदेखि हलिउडसम्म

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ १६:४८

सामाजिक सञ्जालको प्रभाव, नेपाली बालिकाको नाच बलिउडदेखि हलिउडसम्म

काठमाडौं । हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष हुने गर्छन् । सामाजिक सञ्जालको प्रयोग बढेसँगै दिनानुदिन यसकाे सकारात्मक तथा नकारात्मक पक्ष देखिन थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न माध्यममध्ये टिकटक बढी प्रयोग हुन थालेको छ ।

यसबाट कैयौँ व्यक्तिको कला प्रस्फुटन भइरहेको छ भने कैयौँ व्यक्ति नकारात्मक असरको शिकार भइरहेका छन् । टिकटकको सकारात्मक पक्षमध्यको एक घटना हाम्राअघि मौलाइरहेको छ । केही समयअघि टिकटकमा दक्षिण भारतीय फिल्म 'पुष्पा द राइज'को सामी सामी बोलको गीतमा नेपाली बालिका नाचेको भिडिओ भाइरल भएको थियो ।

उक्त बालिका थिइन् हेटौँडाकी बारिशा थापा । उनको नाच सबैभन्दा पहिले नेपालमा भाइरल भयो । ती बालिकाको नाचको प्रशंसा गर्दै 'पुष्पा द राइज' फिल्मकी अभिनेत्री रश्मिका मन्दनाले शेयर गरेकी थिइन् ।

उनले प्रशंसा गर्दै बारिशालाई भेट्न इच्छुक रहेको बताइन् । त्यसपछि भारतीय मिडियामा छाएको ती बालिकाको नृत्य भारतीय कोरियोग्राफर रेमो डिसुजाले हेरेर उनलाई आफ्नो शो डान्स इन्डिया डान्सको अर्को सिजनका लागि निम्तो गरेका छन् ।

यतिखेर अमेरिकी र्‍यापर स्नुपडगले बारिशाको उक्त भिडिओ शेयर गरेपछि उनको चर्चा थप चुलिएको छ । इन्स्टाग्राममा सात करोड ७० लाख बढी फलोअर भएका स्नुपडगले शुक्रबार भिडिओ शेयर गरेका हुन् । सो भिडिओमा अहिलेसम्म ६ लाख ८३ हजार बढी लाइक र करिब दश हजार कमेन्ट पुगेको छ ।

यसरी बालिका थापा नाचेकाे भिडिओ बलिउडदेखि हलिउडसम्म पुगेको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ १७:५५