close

यी प्रयोगकर्ताका लागि १ टीबीसम्म क्लाउड स्टोरेज उपलब्ध गराउँदै गुगल

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ १६:२५

यी प्रयोगकर्ताका लागि १ टीबीसम्म क्लाउड स्टोरेज उपलब्ध गराउँदै गुगल

काठमाडाैं । गुगल वर्कस्पेसको इन्डिभिज्युअल प्लान लिएका प्रयोगकर्ताले अब १ टेराबाइटसम्मको क्लाउड स्टोरेज प्रयोग गर्न पाउने भएका छन् । गुगल वर्कस्पेसका प्रडक्ट मेनेजर जोन श्रीभर-ब्लेकले ब्लगपाेस्टमार्फत यो सुविधा उपलब्ध गराउन लागेकाे जानकारी दिएका छन् ।

गुगल वर्कस्पेसको इन्डिभिज्युअल प्लान लिएका प्रयोगकर्ताले हालसम्म १५ जीबी स्टोरेज खपत गर्न पाउँछन् । यसका लागि प्रयोगकर्ताले मासिक ९.९९ डलर (करिब १३ सय रुपैयाँ) तिरिरहेका थिए । यही शुल्कमा अब स्टोरेज क्षमता १५ जीबीबाट बढाएर १ टेराबाइट पुर्‍याइने उनकाे ब्लगपोस्टमा उल्लेख छ । 

हाललाई याे फिचर कहिले उपलब्ध हुने भन्ने कुनै जानकरी बाहिर नआए पनि यो स्टोरेज क्षमता प्रयोगकर्ताले सहजै प्रयोग गर्न पाउने उनले जनाएका छन् । गुगलले याेसँगै धेरै मान्छेहरूलाई एकैपटक धेरै मेल पठाउनसक्ने सुविधामा ‘मेल मर्ज’ ट्याग ल्याउने भएकाे छ ।

यसकाे प्रयाेगबाट मेल प्राप्त गर्ने व्यक्तिले उसलाई मात्र पठाएकाे हाे भन्ने महसुस गर्ने ब्लेकले लेखेका छन् ।

साथै गुगलले आफ्नाे वर्कस्पेसलाई फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, मलेसिया, ताइवान, थाइल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, बेल्जियम, फिनल्यान्ड, ग्रीस र अर्जेन्टिनामा पनि विस्तार गर्ने भएकाे छ । नेपालमा भने वर्कस्पेस प्लान हालसम्म उपलब्ध छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १७:९