close

एक महिनामै २७ लाख भारतीय प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट बन्द

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १२:५३

एक महिनामै २७ लाख भारतीय प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट बन्द

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले एक महिनामै २७ लाख भारतीय प्रयाेगकर्ताकाे अकाउन्टमाथि प्रतिबन्ध लगाएकाे छ । मङ्गलबार एक रिपाेर्ट सार्वजनिक गर्दै कम्पनीले सेप्टेम्बर महिनामा २६ लाख ८५ हजार अकाउन्टमाथि प्रतिबन्ध लगाएको जानकारी दिएकाे छ ।

प्रतिबन्ध लगाइएका अकाउन्ट अगस्ट महिनाको तुलनामा १५ प्रतिशत बढी रहेको उक्त रिपोर्टमा उल्लेख छ । अगस्ट महिनामा कम्पनीले २३ लाख २८ हजार भारतीय अकाउन्टमाथि प्रतिबन्ध लगाएको थियो ।

"१ सेप्टेम्बर २०२२ देखि ३० सेप्टेम्बर २०२२ सम्म २६ लाख ८५ हजार ह्वाट्सएप अकाउन्ट बन्द भएका छन् । जसमा ८ लाख ७२ हजार अकाउन्ट कोहीबाट रिपोर्ट आउनुअघि नै कम्पनीले प्रतिबन्ध लगाएको छ । ‌+९१ फोन नम्बरबाट सुरु भएका अकाउन्ट पहिचान गरी प्रतिबन्ध लगाइएको हो," ह्वाट्सएपकाेयुजर सेफ्टी रिपोर्टमा उल्लेख छ ।

गत वर्षबाट लागू भएको आईटी नियम अनुसार ठूला डिजिटल प्लेटफर्मले प्रत्येक महिना रिपोर्ट प्रकाशन गर्नुपर्ने हुन्छ, जसमा उजुरीका विवरण र कारबाही उल्लेख गरिएको हुन्छ । विभिन्न प्रयोगकर्ताबाट प्राप्त रिपोर्ट र कम्पनीले गरेको नियमनबाट विभिन्न अकाउन्टले नीति उलङ्घन गरेकाले प्रतिबन्ध लगाएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

विशेषतः गलत सूचना प्रवाह गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने अकाउन्टमाथि प्रतिबन्ध लगाएको हो । प्रयोगकर्ताले रिपोर्ट गरेको आधारमा अकाउन्टमा प्रतिबन्ध लगाएकाले कतिपय अवस्थामा सामान्य प्रयोगकर्ताको अकाउन्ट प्रतिबन्ध भएको हुनसक्ने भन्दै ह्वाट्एसपले रिपोर्ट गरेर अकाउन्ट फिर्ता ल्याउन सकिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १२:५३