close

बालेनको नाम जोड्दै फेसबुकमा 'लौरो' अभियानको प्रचार, आयोगले सोध्यो स्पष्टीकरण

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ २०:१५

बालेनको नाम जोड्दै फेसबुकमा 'लौरो' अभियानको प्रचार, आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'को नाम जोडी 'लाैराे' अभियानकाे प्रचारप्रसार भएकाे पाएपछि निर्वाचन आयोगले शाहसँग स्पष्टीकरण मागेकाे छ । शुक्रबार एक पत्र लेख्दै आयोगले मेयर शाहसँग स्पष्टीकरण मागेको हो ।

स्थानीय तहको निर्वाचन 'लौरो' चुनाव चिन्ह लिएर बालेन महानगरको प्रमुख पदमा निर्वाचित भएपछि अहिले फेसबुकमा लौरो अभियानको प्रचारप्रसार भइरहेको छ । मतदातालाई आफ्नो टिममा बालेनसमेत रहेको भन्दै प्रचार हुन थालेपछि आयोगले उनीसँग स्पष्टीकरण माग गरेको हो । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि साेही चुनाव चिन्ह लिएर उम्मेदवार बनेका विभिन्न व्यक्तिहरुकाे प्रचारका लागि 'जय लौरो' नामको फेसबुक पेज खाेलिएकाे छ । यसअन्तर्गत हाम्रो नेपाली पार्टीका उम्मेदवारकाे प्रचारप्रसार गर्न बालेनकाे फाेटाे पनि प्रयाेग गरिएपछि आयोगले बालेनसँग स्पष्टीकरण सोधेको हो ।

आयोगको पत्रमा लेखिएको छ, "हाम्रो नेपाली पार्टीका विभिन्न क्षेत्रका उम्मेदवारहरूलाई यसपूर्व नै आयोगले निजहरू स्वतन्त्र उम्मेदवार नभई दलका उम्मेदवार रहेको र निजहरूले आफू स्वतन्त्र उम्मेदवार भनी प्रचारप्रसार गर्न नमिल्नेबारे सचेत गराइसकेको छ । हाम्रो नेपाली पार्टी र उक्त पार्टीका उम्मेदवारले प्रत्यक्ष रूपमा यहाँको समेत नाम र तस्वीर प्रयोग गरी प्रचारप्रसार गरी रहनुभएको छ । देशको राजधानी सहर समेत रहेको काठमाडौं महानगरपालिकाको नगर प्रुमखमा स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भई कार्यभार सम्हालिरहनु भएको यहाँको उक्त दलसँग कुनै आवद्धता नै रहे भएको जस्तो गरी यहाँको तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको हो ।"

संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानूनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी कानूनको उल्लङ्घन हुनसक्ने विषयमा समेत आयोग सचेत रहेको उक्त पत्रमा उल्लेख छ ।

"उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै तपसिलको विषयमा स्पष्ट गरी यस पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन निर्णयानुसार सादर अनुरोध छ," पत्रमा लेखिएको छ ।

आयोगले मेयर शाहलाई हाम्रो नेपाली पार्टीसँग कुनै किसिमको कानूनी आबद्धता छ वा छैन भन्ने विषयमा स्पष्ट पार्न अनुराेध गरेकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ २१:३७