close

नेपाली ह्याकरको नारा: लैनो भैँसी करायो, सरकारको डेटाबेस हरायो

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ २१:४४

नेपाली ह्याकरको नारा: लैनो भैँसी करायो, सरकारको डेटाबेस हरायो

काठमाडौं । नेपाली ह्याकरहरूको समूहले आज वसन्तपुर दरबारमा एक कार्यक्रम आयोजना गर्दै 'मिलियन मास्क मार्च' मनाएका छन् । साइबर सुरक्षामा गरिएका बेवास्ताको विरोध गर्दै नोभेम्बर ५ का दिन विश्वभर ह्याकरहरूले यो दिवस मनाउने गर्छन् ।

पेनटेस्टर नेपालले आयोजना गरेको यस कार्यक्रममा देशभरबाट सय जनाभन्दा बढी ह्याकर सहभागी थिए । राजनीतिमा भएको भ्रष्टाचार, न्यायिक पद्धतिमा ढिलाई, सुस्त सरकारी गतिविधि, साइबर सुरक्षामा बेवास्ताजस्ता विषयको विरोधमा गर्दै ह्याकरको समूहले प्रदर्शन गरेका थियो ।

ह्याकरहरूले उक्त प्रदर्शनीमा सरकारको विरोध गर्दै, 'कबाट कछुवा ख खरायो, सीसीटिभी फुटेज कता हरायो ?', 'पासवर्ड भनेको बलियो हुनुपर्छ, कमजोर त हाम्रो सरकार छँदै छ नि', 'भ्यू टावरमा करोडौँ खर्च, साइबर सुरक्षामा खोई?', 'कहिले टीयू, कहिले पीयू, साइबर सुरक्षा खोई', 'भीपीएन त ब्यान गर्‍यौ सरकार, भष्टाचार कहिले गर्छौ ?', 'अब नेपालको संसदको सोर्स कोड परिवर्तन गरौँ', 'अभिव्यक्ति स्वतन्त्रता ह्याक भयो', 'साइबर सुरक्षा लगानी हो, खर्च होइन', 'निर्मला पन्तको हत्यारा खोइ ?' जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए । 

त्यस्तै 'बस्न पायो भन्दैमा थ्याच्च नबसौँ ! थिच्न पायो भन्दैमा जुन पायो त्यही लिंकमा नथिचौँ !', 'तपाईँको डेटा तपाईँको सम्पत्ति', 'मायाको नाममा फोटो साँट्न बन्द गरौँ', 'कबाट कछुवा ख खरायो बिटक्वाइनको नाममा इन्स्टा हरायो' जस्ता नारा लेखिएको पम्प्लेटकाे पनि प्रदर्शनी गरिएकाे थियाे ।

विरोधमात्र नभई मानिसहरूलाई सचेत बनाउन पनि यो कार्यक्रम आयोजना गरिएको एक ह्याकरले बताए ।

उनी भन्छन्, "सरकारले साइबर सुरक्षालाई गम्भीर रूपमा लिएको पाइँदैन, अन्य क्षेत्र जस्तै साइबर सुरक्षालाई पनि महत्त्व दिनुपर्‍यो । हामीले यहाँ विरोध मात्र होइन, मानिसहरूलाई सचेत पनि बनाउने काम गरेका छौँ ।"

जोकोहीलाई आफ्ना निजी तथा व्यक्तिगत फोटोहरू नपठाउन, टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, कडा पासवर्ड राख्न, अनावश्यक लिङ्क क्लिक नगर्न सचेत गराउँदै  कार्यक्रम आयोजना गरिएको उनले बताए ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ २३:४४