काठमाडौं । जारी रुस-युक्रेन युद्धमा इरानले रुसलाई ड्रोन उपलब्ध गराएको विषय अहिले निकै चर्चाको विषय बनेको छ । यसअघि पटक-पटक इरान र रुसले यो विषय नकारे पनि हालै हालै इरानी विदेशमन्त्री ड्रोन सहयाेग लिएको स्वीकार गरेका छन् । पत्रकारसँगको कुराकानीमा विदेशमन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुअघि रुसलाई ड्रोन उपलब्ध गराएको स्वीकार गरेका हुन् ।
उनले थोरै संख्यामा रुसलाई ड्रोन उपलब्ध गराए पनि कुन-कुन आक्रमणमा प्रयोग गरिरहेको छ भन्ने विषय आफूलाई थाहा नभएको स्पष्टीकरण दिए । विभिन्न खबरअनुसार इरानले उपलब्ध गराएको ड्रोनबाट युक्रेनी ऊर्जा केन्द्र र नागरिक पूर्वाधारहरूमा आक्रमण भइरहेको छ । परिणामतः त्यहाँ 'ब्ल्याकआउट' सिर्जना भएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानले युक्रेनमा रुसको युद्धलाई समर्थन गरेर 'झूट बोलेको' र 'आतंकवादी सहयोग' गरेको आरोप लगाएका छन् । उनले रुसले किभमा सेनाले दिनहुँ कम्तीमा १० वटा ड्रोन खसालेको आरोप लगाए ।
''हामीलाई पक्का थाहा छ कि इरानी प्रशिक्षकहरूले रूसी आतंकवादीहरूलाई ड्रोन कसरी प्रयोग गर्ने भनेर सिकाएका थिए । तर तेहरान यसबारे मौन छ,'' उनले भनेका छन्, यदि इरानले स्पष्ट रूपमा झूट बोलिरह्यो भने, रूसी र इरानी सत्ताबीच आतंकवादी सहयोगको अनुसन्धान गर्न र रूसले इरानलाई यस्तो सहयोगको लागि के तिरिरहेको छ भनेर अनुसन्धान गर्न जरुरी छ ।''
आधुनिक संसारमा कुनै पनि आतंकवादी वा तिनीहरूका सहयोगीहरू सजायबाट मुक्त हुन नहुने उनले बताएका छन् ।
द्वन्द्वमा प्रयोग गर्न रुसलाई ड्रोन आपूर्ति गराएको भन्दै यसअघि नै अमेरिका, युराेपेली युनियन (ईयू) र बेलायतले इरानमाथि प्रतिबन्ध लगाएका छन् ।