काठमाडौं । एलन मस्कले ट्वीटरमा ब्लु चेक मार्क खरिद गर्नुपर्ने नियम लागू गरेसँगै प्रयोगकर्ताको अकाउन्टमा अन्यौलता पैदा भएको छ । एकातिर यो नियमको विरोध भइरहँदा अर्कोतिर भने केही व्यक्तिले गलत फाइदा उठाउँदै चर्चित व्यक्तिहरूको नाममा नक्कली ट्वीटर अकाउन्ट बनाएको पाइएको छ ।
शुक्रबारबाट यो नियम लागू भएपछि अहिले ट्वीटरमा नक्कली अकाउन्टको बाढी आएको छ । केही प्रयोगकर्ताले चर्चित व्यक्तिको अकाउन्ट बनाएर ब्लु चेकमार्क खरिद गरी उक्त अकाउन्टबाट जथाभावी ट्वीट गरिरहेका छन् ।
तीमध्ये एउटा अकाउन्ट पूर्वी अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको नाममा पनि रहेको छ । बुसको नाममा बनाइएको उक्त नक्कली अकाउन्टबाट 'आई मिस किलिङ इराकिज' अर्थात् इराकीहरूलाई मार्न पाएको कुरा मेरो सम्झनामा आइरहेको छ भनेर ट्वीट गरिएकाे छ ।
त्यस्तै कोकाकोलाको नक्कली अकाउन्टबाट ट्वीट गर्दै उक्त ट्वीट १००० पटक रिट्वीट भएमा कोकाकोलामा कोकिन मिसाउने भनेर उल्लेख गरिएको छ । यसले गर्दा अन्य प्रयोगकर्तामाझ भने दुविधा पैदा भएको छ । ब्लु चेकमार्क बिक्री भएसँगै कुन अकाउन्ट सक्कली र कुन अकाउन्ट नक्कली भन्ने विषयमा अन्यौलता आएको हो ।