close

उत्कृष्ट लोगो कसरी बनाउने ?

किशोर ज्योति

मंसिर ८, २०७९ १७:२९

उत्कृष्ट लोगो कसरी बनाउने ?

कम्पनीका लागि लाेगाे निकै महत्त्वपूर्ण हुन्छ । लाेगाे भनेकाे पहिचान हाे । पहिले लाेगाे भनेकाे स्ट्याम्प भनेर साेचिन्थ्याे । तर याे कुरालाई मात्र लाेगाे साेच्‍नु हुँदैन । बाघ र चितुवाबीचकाे भिन्नता छुट्ट्याउने भनेकाे उनीहरुकाे शरीरमा भएका रङ र रेखाले हाे । यी कुरा उनीहरुकाे पहिचान हाे । हामीले रङ र रेखाका आधारमा उनीहरुलाई चिन्न सक्छाैं । त्याे उनीहरुकाे ‘ब्राण्ड’ हाे ।

कम्पनीका लागि लाेगाे भनेकाे ‘डीएनए’ हाे । लाेगाे कुनै पनि कम्पनीकाे ‘पहिलाे आँखा’ हाे । मान्छेहरुले लाेगाेबाट नै कम्पनी पहिचान गर्न सक्छन् । त्यसमा प्रयाेग भएका रङ र आकारका आधारमा हामीले कुन कम्पनी हाे भनेर थाह पाउन सक्छाैं ।

नेपालमा हरेक वर्ष नयाँ नयाँ कम्पनीहरु जन्मिरहेका छन् । ठूला कर्पाेरेट हाउसले पनि ब्राण्डिङमा ठूलै रकम खर्च गरिरहेका छन् । गुगलमा पाइने फाेटाेहरुले लाेगाे बन्छ भन्ने साेच पनि विस्तारै परिवर्तन हुँदैछ ।

यसाे हुँदा लाेगाे डिजाइनकाे राम्राे बजार बन्दै गइरहेकाे छ । हुन त पछिल्लाे समयमा लाेगाे बनाउनका लागि विभिन्न एप तथा वेबसाइटहरु बनेका छन् । तर तिनीहरुबाट बनाउँदा आफ्नाे सिर्जनशीलता घट्छ । साथै प्रतिलिपि अधिकारकाे हनन हुने सम्भावन पनि उच्च हुन्छ । 

जाे काेही पनि लाेगाे डिजाइनमा प्रवेश गर्न सक्छन् । यहीलाई निरन्तरता दिँदै जाँदा राम्राे आम्दानी पनि गर्न सकिन्छ । यसकारण नयाँ अनुहारलाई प्राविधिक कुरा बाहेक लाेगाे बनाउँदा ध्यान दिनुपर्ने कुराहरु बताउँदै छु । 

१. चित्र नबनाउनेले पनि सक्छन् 

कतिपयले के भन्छन् भने चित्र बनाउन आउनेलाई मात्र लाेगाे बनाउन आउँछ । तर यस्ताे हुँदैन । चित्र नबनाउनेले पनि राम्राे लाेगाे बनाउन सक्छन् । तर लाेगाे बनाउन प्रयाेग गरिने सफ्टवेयरका बारेमा भने राम्राे ज्ञान हुन आवश्यक छ ।

लाेगाे डिजाइनमा चित्रकाे प्रयाेग आफ्नाे विचारलाई भिजुअलमा उतार्नका लागि प्रयाेग गरिन्छ । यसकारण सामान्य खालका चित्र बनाए पुग्छ । आफ्नाे विचार उतारेकाे खेस्रा चित्रलाई सफ्टवेयरकाे प्रयाेग गरि राम्राे बनाउन सकिन्छ । लाेगाे डिजाइन गर्दा सबैभन्दा पहिले खेस्रा चित्र काेरिन्छ ।

सशुल्क काम हाे भने ती खेस्रा चित्रहरु ग्राहकलाई देखाउनुपर्छ । उनीहरुले तीमध्ये कुनै मन पराए भने त्यसमा थप काम गर्नुपर्छ । खेस्रा लाेगाे बनाउँदा सुरुमा नै रङ प्रयाेग गर्नुहुँदैन । ग्राहकले डिजाइन मन पराए मात्र रङकाे विकल्प दिनुपर्छ । यसाे गर्दा काम गर्ने समय छाेटिन्छ । 

२. प्रेरणा लिने, तर नचाेर्ने

कसैकाे डिजाइनबाट प्रेरणा लिनु र चाेर्नु (कपी गर्नु) भिन्न कुरा हुन् । डिजाइनकाे क्षेत्रमा ‘चाेरी’ धेरै विवाद भइरहने विषय हाे । कपी गर्नु भनेकाे अरुकाे डिजाइन दुरुस्तै उतारेर आफ्नाे नाममा प्रयाेग गर्नु हाे । नयाँहरुले ‘अरुले थाहा पाउँदैनन्’ भनेर डिजाइन कपी गर्ने गर्छन् ।

यस्ताे हुँदा धेरै जना कानुनी कुरामा फसिरहेका पनि हुन्छन् । हामी अरुकाे डिजाइनमा प्रयाेग भएकाे रङ, आकार, शैली आदिबाट प्रभावित/प्रेरित (इन्सपाइर) हुन सक्छाैं । त्यसमा काम गरेर आफ्नाे बनाउन सक्छाैं । 

३. कर तिर्नका लागि प्यान कार्ड

फ्रिलान्सिङ अथवा कुनै कम्पनीमा जागिर गरेर लाेगाे डिजाइनिङकाे काम गर्न सकिन्छ । धेरैजसाे लाेगाे डिजाइनरले फ्रिलान्सिङ गरिरहेका हुन्छन् । यसाे हुँदा कतिले कर छल गर्छन् । आफूले कमाएकाे पैसाबाट सरकारलाई कर तिर्न पर्छ । त्यसाे हुँदा पछि आफ्नाे कमाइ गैरकानुनी हुन जाँदैन ।

यसका लागि नयाँ डिजाइनरले स्थायी लेखा नम्बर (प्यान) प्रयाेग गर्न सक्छन् । फ्रिलान्सिङबाट कमाइ गरेकाे हाे भने ग्राहकलाई प्यानबाट टीडीएस कटाउन लगाउनु सकिन्छ ।

४. लाेगाे, लाेगाे मात्र साेच्नुभएन 

यस क्षेत्रमा लाग्‍नेले लाेगाे बनाएपछि काम सकियाे भन्ने साेच्नुहुँदैन । डिजाइन सकेपछि पनि धेरै काम बाँकी हुन्छन् । लाेगाे सकेपछिकाे ठूलाे काम गाइडलाइन बनाउनु हाे । यसमा लाेगाेलाई कसरी प्रयाेग गर्ने, रङमा के गर्ने-के नगर्ने, लाेगाे प्रयाेग गर्दा आकार कत्राे बनाउने जस्ता कुराहरु उल्लेख गर्नुपर्छ ।

लाेगाे बनाइसकेपछि त्याे लामाे समयसम्म काममा आउनुपर्छ । बारम्बार डिजाइन परिवर्तन गर्दा ब्राण्डिङमा असर पुग्छ । गाइडलाइन यस्ताे बनाउनु पर्छ ता कि डिजाइरहरु फेरिएता पनि लाेगाे अथवा कम्पनीकाे भ्यालु परिवर्तन हुनुहुँदैन ।

यसपछिकाे महत्त्वपूर्ण काम कम्पनीकाे ब्राण्डिङ हाे । यसमा विभिन्न तरिकाले काम गर्न सकिन्छ । मूख्य गरेर आफ्नाे सिर्जनशीलता देखाउन सकिन्छ । 

५. ग्राहककाे मागकाे पूर्ति 

फ्रिल्यान्सिङ गरिरहँदा निरन्तर काम पाउनु कठिन हुन्छ । याे कुराबाट आफू जाेगिन ग्राहककाे माग पूरा गर्न सक्नुपर्छ । यसाे गर्दा ग्राहक र डिजाइनरबीच राम्राे सम्बन्ध बन्छ  । एउटा कामबाट ग्राहक सन्तुष्ट भए भने उनीहरुले नै थप कामहरु पनि दिन्छन् ।

त्यस्तै उनीहरुले अरुलाई तपाईंका बारेमा बताउन सक्छन् । यसले काम पाइरहनमा धेरै मद्दत गर्छ । आफ्नाे विचार मज्जाले ग्राहकलाई सुनाउने र उनीहरुकाे पनि राम्ररी सुन्ने बानीकाे विकास गर्नुपर्छ । काम गर्दा आफ्नाे सँगै ग्राहककाे विचारमा पनि ध्यान दिनुपर्छ । यसाे हुँदा उनीहरुले उक्त काममा आफ्नाेपनकाे महशुस गर्छन् । दुवैकाे साझा विचारबाट बनेकाे लाेगाे उत्कृष्ट हुन्छ । 

६. पोर्टफोलियो व्यवस्थापन

नयाँ डिजाइनरले आफ्नाे पोर्टफोलियोलाई व्यवथापन गर्नु निकै नै जरुरी छ । काम पाउने एउटा माध्यम पोर्टफोलियो पनि हाे । यसैले पोर्टफोलियो व्यवस्थापनकाे कुरामा नयाँ तथा पूराना डिजाइर सचेत हुनपर्छ । पोर्टफोलियो व्यवस्थापनका लागि सामाजिक सञ्जालहरु प्रयाेग गर्न सकिन्छ ।

यसबाहेक बीह्यान्स, ड्रिबल जस्ता वेबसाइटहरु पनि रहेका छन् । आफ्नाे कामकाे डकुमेन्टेसन गर्दा आफैंलाई धेरै फाइदा पुग्छ । यसका लागि आफूलाई मन परेकाे कामकाे फाेटाे खिचेर, त्याे बनाउँदाकाे प्रक्रिया लेखेर रेकर्ड राख्न सकिन्छ । कसैले पोर्टफोलियो मागे त्यहीकाे लिङ्क पठाउन सकिन्छ । 

७. दर्शन र काम

कलामा काम गर्ने सबैले दर्शनकाे ज्ञान राख्‍न जरुरी छ । दर्शन बिनाकाे जीवन सतही मात्र हुनुहुन्छ । दर्शनले मान्छेलाई गुप्तका कुराहरु बुझ्नमा मद्दत गर्छ । पछिल्लाे समयमा बनिरहेका लाेगाेहरु ‘कम डिजाइनमा बढी अर्थ’ भन्ने खालका छ्न ।

कुनै पनि कुरालाई संक्षेप गर्दा त्यहाँ दर्शन चाहिन्छ । यसकारण लाेगाे बनाउँदा दर्शनकाे ज्ञान राख्‍नुपर्छ । यसले लाेगाे बनाउँदा चाहिने तत्वहरु कुनै पनि चिजबिजमा पहिचान गर्न सहयाेग गर्छ । 

८. विश्राम

कहिलेकाँही डिजाइनमा लगातार काम गर्दा नयाँ विचार, साेच नआउन सक्छ । यस्ताे समयमा जति साेच्दा पनि मष्तिस्क खाली भइदिन्छ । काममा बाधा पुग्छ । यदि यस्ताे हुन्छ भने ‍कामबाट विश्राम लिनुपर्छ । ग्राहकलाई खबर गरेर विश्राम लिनुपर्छ । ग्राहकले मानेनन् भने काम नगर्दा केही फरक पर्दैन । मानेकाे खण्डमा घुम्न निस्कने, पुस्तक पढ्ने, साथीभाइ भेट्न जाने जस्ता काम गर्न सकिन्छ ।

यस्ता कार्यले मष्तिष्कलाई पुनर्ताजकी गर्छ । कहिलेकाँही डिजाइनमा प्रयाेग गरिने नयाँ विचार प्राप्त गर्न दिमागलाई विश्राम अथवा अन्य कुरामा केन्द्रित गराउनुपर्छ ।

९. सफ्टवेयरमा अपडेट

सफ्टवेयर जति अपडेटेड छ, काम गर्न त्यति नै सहज हुन्छ । अपडेटेड सफ्टवेयरमा नयाँ फिचरहरु थपिन्छन् । जस्ताे; फाेटाे क्रप गर्नका लागि पुरानाे फाेटाेसपमा हातैले सेलेक्ट गर्नुपर्थ्याे ।

तर अहिले एक क्लिकमा सकिन्छ । पहिले बत्ति गयाे भने काम गरिरहेकाे सेटिङ सबै जान्थ्याे, अहिले स्वंत ब्याकअप हुन्छ । यसकारण अपडेटेड सफ्टवेयर प्रयाेग गर्दा काममा धेरै सजिलाे हुन्छ । 

(चित्रकार एवं लाेगाे डिजाइनर किशाेर ज्याेतिसँग गरिएकाे कुराकानीमा आधारित)

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ १७:२९